दिदीबहिनीले दाजुभाइलाई टीका लगाउनुअघि दाजुभाइका बाधा–अड्चन हट्ने विश्वासका साथ मूलढोकामा फुटाउने ओखरलाई ध्यान दिएर हेर्नु भएको छ?
यसको आकृति मानिसको मस्तिष्कको जस्तै देखिन्छ। मस्तिष्कजस्तो देखिने ओखरको नियमित सेवनले हाम्रो मस्तिष्कलाई नै फाइदा गर्छ।ओखरको दिनहुँ सेवन गर्ने व्यक्तिको दिमाग तेजिलो हुने पोषणविद्हरूको भनाइ छ।

हाम्रो शरीरका लागि आवश्यक ओमेगा ३ फ्याटी एसिडका लागि पनि ओखर उपयुक्त स्रोत हो। ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ, जसले कपाल तथा छालासम्बन्धी समस्या कम गराउन सकिन्छ। त्यस्तै ओखरमा पाइने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ र यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्या कम गराउँछ।
मखना
देवी लक्ष्मीलाई मनपर्ने प्रिय परिकार मानिन्छ मखना। लक्ष्मीपूजा गर्दा धेरैले मखनाको खीर बनाएर चढाउने समेत गर्छन्। मखनाको सेवन निकै फाइदाजनक छ। मखना नियमित सेवन गर्न थाल्नुभयो भने तनाव कम हुन्छ, साथै राम्रो निद्रा पनि लाग्छ।
राति सुत्नुअगाडि मखनालाई दूधसँग सेवन गर्नाले निद्रा नलाग्ने समस्या कम हुन्छ।
किसमिस
किसमिसमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाइबर हुने गर्दछ। किसमिसमा पाइने यी तत्व मुटुरोगीका लागि पनि निकै उपयोयी हुन्छ। त्यस्तै कोलेस्ट्रोल घटाउन छालामा चमक ल्याउन पनि किसमिसको सेवन गर्न सक्नुहुन्छ।
कुनै पनि रोगको उपचारपछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ। नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन, एनिमिया, दाँतमा हुने क्याभिटीको समस्या पनि कम गराउँछ। मिर्गौलाको पत्थरी हुन नदिने र यसमा पाइने ग्लुकोज र फ्रक्टोज तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छ।

पेस्ता
पेस्ता हाम्रो स्वास्थको लागि अति नै लाभदायक हुन्छ। पेस्तामा म्याग्नेसियम, कपर, फाइबर, फस्फोरस र भिटामिन–बी र ई जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ।
पेस्ताको नियमित सेवनले छालालाई यूभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनको समस्याबाट पनि राहत दिन्छ। सन्तुलित रक्त सञ्चालनका लागि समेत पेस्ता उपयोगी मानिन्छ। पेस्ताले कोलेस्ट्रोललाई कम गरेर मुटुसँग सम्बन्धित रोगहरुबाट तपाईंको रक्षा गर्छ।
बदाम
बदाम एउटा त्यस्तो मसला हो, जसलाई पोषक तत्वको खानी मानिन्छ। यो स्मरण शक्ति बढाउन र मस्तिष्क विकासको लागि फाइदाजनक हुन्छ। बदामलाई अनेक तरिकाले खान सकिन्छ।
बिहान ४–५ वटा बदाम खानुभयो भने स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। बदाम वनस्पतिमध्ये प्रोटिनको भरपूर श्रोत पनि हो। बदामको सेवनले शरीरमा रक्तकोष तथा हेमोग्लोबिन बढाउन पनि सहयोग पुग्छ।
नरिवल
नरिवल सबै उमेर समूहका लागि उपयोगी हुन्छ। नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ। यी सबै तत्व शरीरका लागि निकै उपयोगी हुन्।
यदि तपाईं नरिवलको नियमित सेवन गर्नुहुन्छ भने मुटुरोगबाट बच्न सक्नुहुन्छ। सुख्खा नरिवलले महिलामा हुने पिसाबको संक्रमण (यूटीआई)को समस्याबाट पनि राहत प्रदान गर्छ। यसमा थोरै मात्रामा क्याल्सियम पनि पाइन्छ, जसले हड्डीलाई बलियो बनाउँछ। साथै, यसमा भएका अन्य पोषक तत्वले तपाईंको सम्पूर्ण शरीरलाई बलियो बनाउँछ। फ्याटी एसिडले गर्भवती महिला र शिशुको विकास र वृद्धिमा मद्दत गर्छ।
छोकडा
छोकडाको सेवनले धेरै फाइदा हुन्छ। यसको नियमित सेवनले पेट सम्बन्धी समस्याहरु कम हुन्छ। खोकी लाग्दा पनि यसलाई हल्का पोलेर सेवन गर्नाले निको हुन्छ।
काजु
काजुमा ओलिक एसिड पाइन्छ। जसले मुटुलाई स्वस्थ र बलियो राख्न मदत गर्छ। काजुमा पाइने विभिन्न तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन्। शरीरमा इन्सुलिनको मात्रा बढाई डायबिटिज नियन्त्रित अवस्थामा राख्न पनि मदत गर्छ। काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर तत्व पाइन्छ। जसले हड्डी, दाँतलाई बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न सहयोग पु¥याउँछ।
भिन्दा–भिन्दै प्रकारका मसला (ड्राइ फ्रुट्स) खानाले हाम्रो शरीरमा विभिन्न प्रकारका फाइदा हुन्छन्। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै मसला सेवन गर्नु स्वस्थ्यकर हुन्छ। यदि तपाईंलाई ब्लड प्रेसर अथवा अन्य कुनै स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाह बमोजिम मात्र सेवन गर्नुपर्छ।
समग्रमा दैनिक नट्सहरू ग १५ देखि २० ग्रामसम्म खान सकिन्छ। तिहारमा नट्स, सेलरोटी, मिठाई एकैचोटि खाइने हुँदा सन्तुलन नमिले स्वस्थ व्यक्तिमा पनि प्रतिकूल असर पर्छ। तसर्थ, चाडपर्वमा खानपानको मात्रामा ध्यान दिन आवश्यक छ।
यसका साथै तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ। चिकित्सकहरुका अनुसार औषधि खाइरहेका दीर्घरोगीहरुका लागि त गुलियो र चिल्लो हानिकारक हुन्छ नै, निरोगी व्यक्तिलाई पनि फाइदा गर्दैन। चिल्लो तथा गुलियो खानेकुराहरुले कोलेस्ट्रोलको मात्रा बढाउनुका साथै रक्तचाप, मधुमेह र अम्लपित्त वृद्धि गर्छ। एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुपर्छ।
तिहार सुरु भएदेखि भाइटीकासम्म नै नियमित सेलरोटी खाने चलन छ। तर सेलरोटीमा चिल्लोको मात्रा अत्यधिक हुन्छ। खाली पेटमा सेलरोटी खाँदा एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेलरोटी खानुपर्छ। मधुमेह, उच्च रक्तचाप, एसिडिटी भएको व्यक्तिले सेलरोटी धेरै खानु हुदैन। एकै पटक धेरै परिमाणमा रोटी खानु हुँदैन। सेलरोटी तेलमा भन्दा घिउमा बनाउन पोषणविद् सुझाव दिन्छन्।
तेलको छनोटमा पनि ध्यान दिनुपर्छ। जथाभावी रुपमा भण्डारण गर्नु हुँदैन। रोटीमा ढुसी लागिसकेको छ भने तताएर खान हुँदैन।
तिहारमा बढी खपत हुने गुलिया मिठाई अत्यधिक मात्रामा खाँदा स्वास्थ्यमा असर गर्न सक्छ। तर, आवश्यकता अनुसार मात्रा मिलाएर गरिएको खानपानले भने स्वास्थ्यमा कुनै असर गर्दैन।
तिहारको खानपान कस्तो हुनु पर्छ? भाइमसलामा के–के पौष्टिक तत्व पाइन्छ भनेर पौषणविद् रुजु खड्काको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया