स्वस्थ वा तन्दुरुस्त देखिइरहेको व्यक्तिको पनि अचानक मृत्यु हुन्छ। हामी सोध्छौं, ‘के भयो अचानक?’
जवाफ अक्सर उस्तै हुने गर्छ, ‘हार्ट अट्याक’ अर्थात् हृदयघात।
आम जनमानसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने बुझाइ छ। तर हृदयघात मात्र होइन मुटुरोग।
मुटुका अन्य थुप्रै रोग हुन्छन्। मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको चिकित्सक बताउँछन्। तीमध्ये मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसँग सम्बन्धित मुटुरोग गरी तीन प्रकारको समस्या बढी देखिने गरेको छ।
महिला गर्भवती भएको ३ महिनाभित्र रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको मुटुमा समस्या देखिन सक्छ। गर्भवती महिलालाई भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भए पनि शिशुमा जन्मजात मुटुरोग लाग्ने सम्भावना रहन्छ।
यस्तै सामान्यतः ३ देखि १५ वर्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने र ज्वरो आउने समस्या बेवास्ता गरियो भने मुटुको भल्बमा असर गरी बाथमुटुरोग लाग्न सक्छ।
खानपान र स्वस्थ जीवनशैलीका कारण हृदयाघात, उच्च रक्तचापजस्ता समस्या देखिन्छ। रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन्। दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयघात वा मिर्गौला फेलसमेत हुन्छ।
अस्वस्थकर खानपान, जीवनशैली र मोटोपनाको समस्याका कारण मुटुरोग बढ्दै गएको छ। विश्व भर ६४ करोड मानिसमा मुटुरोगको समस्या छ। अर्थात्, प्रत्येक १२ जनामध्ये १ जनामा यो समस्या छ।
ज्यान लिने रोगमध्ये एक नम्बर रोग
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको फ्लोरेन्स नाइटिंगेल, द्वारकानाथ टैगोर, माइकल ज्याक्सनलगायत विश्व चर्चित व्यक्तिहरुको हृदयघातका कारण मृत्यु भयो। ज्यान लिने रोगहरुमध्ये मुटुरोग पहिलो नम्बरमा पर्छ।
यस समस्याप्रति जनचेतना जगाउन र त्यसविरुद्ध प्रभावकारी कदम चाल्न राज्यहरुलाई झक्झक्याउने उद्देश्यले सन् २००० देखि विश्व स्वास्थ्य संगठन र विश्व मुटु महासंघको सहकार्यमा मुटुरोग दिवस मनाउन थालिएको छ।
अमेरिकन कलेज अफ कार्डियोलोजीले सन् २०११ मा प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनले सन् १५८० देखि १५५० समयमा एक इजिप्टियन राजकुमारीमा कोरोनरी एथेरोस्क्लेरोसिस (धमनीमा बोसो जम्ने समस्या) देखिएको प्रमाण फेला परेको उल्लेख गरेको छ।
मुटुरोगको बारेमा सन् १६ सयको दशकमा आएर मात्र स्पष्ट कारण पत्ता लागेको थियो। सन् १६२८ मा विलियम हार्भीले रगतको प्रवाह र मुटुको पम्प गर्ने कार्यको खोजी गरेका थिए। उनले आफ्नो पुस्तकमा रगत मुटुको पम्प गर्ने कार्यद्वारा नलीहरुमा बग्छ र शरीरभरि फैलिन्छ भनेर उल्लेख गरेका छन्।

उपचार कहिलेदेखि सुरु भयो?
विश्वमा आजभन्दा १३२ वर्ष अगाडि अर्थात् सन् १८९३ मा पहिलोपटक मुटुको शल्यक्रिया गरिएको थियो। अमेरिकी डा डेनियल हेल विलियम्सले छुरा प्रहारबाट मुटुमा चोट लागेको जेम्स कार्निस नामका एक व्यक्तिको शल्यक्रिया गरेका थिए। डा विलियम्सको यो प्रयोगलाई चिकित्सा क्षेत्रकै एउटा कोशेढुंगा मानिन्छ। यसले मुटुको शल्यक्रियामा सम्भावना देखाउनुका साथै आधुनिक हृदय शल्यक्रियाको बाटो खुलाएको थियो। मुटुको शल्यक्रियाले आज लाखौँ व्यक्तिको जीवन बचाएको छ।
सन् १९०१ मा विलियम आइन्थोभनले इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) मेसिनको आविष्कार गरे। उनले स्ट्रिङ गाल्भेनोमिटर नामक उपकरणको प्रयोग गरी मानव हृदयको विद्युतीय गतिविधि मापन गर्न सक्ने मेसिन निर्माण गरे। यो आविष्कार आधुनिक हृदयविज्ञानको एक आधारभूत प्रविधि बन्यो। यसले मुटुको धड्कनको अनियमितता, रगतको प्रवाहमा अवरोध वा अन्य समस्याहरू पत्ता लगाउन मद्दत गर्छ। यो प्रविधि आज पनि विश्वभर व्यापक रूपमा प्रयोग गरिन्छ। यसका लागि विलेम आइन्थोभनलाई सन् १९२४ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो।
मुटुको शल्यक्रिया सुरु भएको ५९ बर्ष पछि सन् १९५२ मा पहिलोपटक मुटु र फोक्सोलाई पूर्ण बन्द गराई गरिने ‘ओपन हार्ट सर्जरी’ सुरु भयो। अमेरिकी शल्यचिकित्सक डा वाल्टन लिल्लेहाईले जन्मजात मुटुको समस्या भएका ५ वर्षीय बालकको शल्यक्रिया गरेका थिए। डा लिल्लेहाईले रोगीको हृदयको कामलाई अस्थायी रूपमा बन्द गरी क्रस–सर्कुलेसन टेक्निक प्रयोग गरेर शल्यक्रिया गरेका थिए। यो सर्जरी आधुनिक ओपन–हार्ट सर्जरीको अर्को कोशेढुंगा बन्यो।
सन् १९५३ पछि हृदय–फोक्सो मेसिनको विकासले ओपन–हार्ट सर्जरीलाई अझ सरल बनायो। यसले हृदय र फोक्सोको कार्यलाई अस्थायी रूपमा बाह्य उपकरणले लिन सक्ने बनायो। यो उपलब्धि चिकित्सा विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि मानिन्छ। जसले मुटुसम्बन्धी गम्भीर समस्याहरूको उपचारलाई सम्भव बनाएको थियो।
सन् १९५३ मा मुटुको रक्त प्रवाह र गति स्पष्ट रूपमा अध्ययन गर्न सकिने इकोकार्डियोग्राफी (ईको) मेसिनको आविष्कार भयो। जापानी चिकित्सक इन्जो एडा र भौतिकशास्त्री कार्ल हेल्मुट हर्टले मुटुको संरचना र गति अध्ययन गर्न सोनोग्राफी (अल्ट्रासाउन्ड) प्रविधिको प्रयोग गरेका थिए।
सन् १९६० मा शल्यक्रियाद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्न वैकल्पिक बाटो बनाउने प्रक्रियालाई ‘कोरोनरी आर्टरी बाइपास सर्जरी’को अवधारण सुरु भयो। त्यसको ७ वर्षपछि सन् १९६७ मा डा रने फेवलोले रक्तनलीबाट ब्लक भएको कोरोनरी धमनीको बाइपास बनाउने तरिका सिकाएका थिए। यस सर्जरीको विकासले मुटु रोगको उपचारमा थप महत्त्वपूर्ण सहयोग गरेको छ।
मुटुमा समस्या भएको कसरी थाहा पाउने?
मुटु शल्यचिकित्सक डा विजय गोपाल राजवंशीका अनुसार मुटुमा समस्या सुरु हुँदादेखि नै प्रमुख लक्षण भनेको छाती दुख्नु हो। हिँड्दा, उकालो चढ्दा, भर्याङ चढ्दा छाती दुखेको महसुस हुन्छ। यस्तै सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, खुट्टा सुनिने, बालबालिमा टन्सिल हुने, जोर्नी दुख्ने, मधुमेह, रक्तचाप र कोलेस्टरोलको मात्रा बढ्नु मुटुमा समस्या हुने सम्भावित संकेत हुन्।
मुटुरोग देखिने प्रमुख कारण भनेको मोटोपना हो। त्यसकारण नियमित व्यायाम गर्ने, यदि मोटोपनको समस्या छ भने तौल कम गर्ने, रक्तचाप र कोलेस्ट्रोलको नियमित जाँच गर्ने, स्वस्थ खानेकुरा खाने, कम बोसोयुक्त खाना खाने, धुम्रपान र मद्यपानको प्रयोग नगर्ने, तनाव नलिने, गर्भवती महिलाको विशेष ख्याल राख्ने, कुनै संक्रमण हुन नदिने, बालबालिकालाई ज्वरो आउने, टन्सिल बढ्ने समस्या देखिएको छ भने चिकित्सकलाई देखाउने गर्नुपर्छ।
यस्तै मुटुरोग युवा अवस्थादेखि नै देखिन थालेकाले स्वस्थ जीवनयापन गर्ने र शरीरलाई सक्रिय राख्न सकियो भने पनि मुटुरोग लाग्न सक्ने जोखिमलाई कम गराउन सकिन्छ।
मुटु शल्यचिकित्सक डा विजय गोपाल राजवंशीको भिडिओ ब्रिफिङ:

प्रतिक्रिया