आफूसँगै पढ्ने साथी जेनजी प्रदर्शनमा घाइते भएपछि ललितपुरकी समीरा (नाम परिवर्तन) एक सातादेखि रातभरि निद्रा नलाग्ने, खान मन नलाग्ने र पढाइमा ध्यान दिन नसक्ने समस्यामा छिन्। उनलाई ललितपुरको पाटनस्थित मानसिक अस्पतालमा परामर्शका लागि लगियो।
चिकित्सकले प्रदर्शनको घटनापछि मानसिक असर देखिएको पत्ता लगाए। समिरा अहिले चिकित्सकको परामर्शमै छिन्।
चिकित्सकका अनुसार, समीरा मात्र होइन, जेनजी प्रदर्शनपछि मानसिक समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ। प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारदेखि घाइतेका आफन्त र साथीहरूको मानसिक अवस्था समेत नराम्रोसँग बिथोलिएको छ। केहीलाई भने प्रदर्शनमा क्रममा संरचना नष्ट भएका समाचारले पनि असर पार्न थालेको चिकित्सक बताउँछन्।
दुई दिनको प्रदर्शनले देशको राजनीतिक व्यवस्था परिवर्तन भयो। तर, प्रदर्शनमा भएका आगजनी, मृतक र घाइतेको अवस्थाले धेरै व्यक्तिलाई मानसिक रुपमा विक्षिप्त बनाएको छ। उपचार गर्ने चिकित्सकलाई समेत यस घटनाले निकै असर गरेको उनीहरू बताउँछन्।
तत्काल देखिन थालेको मानसिक समस्यालाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने त्यसले दीर्घकालीन असर देखिन सक्ने चिकित्सकहरूको चेतावनी छ।

अझ सामाजिक सञ्जालभरि आउने आगजनी, गोली प्रहार र घाइतेका फोटा तथा भिडिओले धेरै व्यक्तिलाई असर गरेको चिकित्सक बताउँछन्।
मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा वासु कार्की प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिले तत्काल र दीर्घकालीन असर गर्ने बताउँछन्। प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूलाई अझ कडा प्रकारका मानसिक समस्या देखिन सक्ने जोखिम रहेको उनी बताउँछन्।
उनका अनुसार, केही व्यक्तिमा निद्रा नलाग्ने, एक्लै बस्न नसक्ने, डराउनेजस्ता समस्या देखिएका छन्।
‘तनाव व्यवस्थापन गर्न सकिएन भने त्यसलाई कम गराउन गलत अभ्यास गर्न सक्छन्। लागु औषधिको प्रयोगदेखि घरेलु हिंसा बढ्ने जोखिम हुन्छ,’ डा कार्की थप्छन्, ‘तत्काल परिवारले यी समस्या बुझ्न सकेन भने आत्महत्यासम्मको जोखिम रहन्छ।’
अझ प्रदर्शनमा सहभागी र कतिपय लुटपाटका दृश्यमा देखिएका किशोरकिशोरीलाई सामाजिक सञ्जालमार्फत गर्न थालिएको बुलिङले थप समस्या निम्तिन थालेको उनले बताए।
प्रदर्शनका क्रममा भएका लुटपाटका घटनामा संलग्न भएको भन्दै उनीहरूको फोटो, भिडिओ सामाजिक सञ्जालमा राख्ने प्रवृत्तिले ती व्यक्तिलाई एन्जाइटी, डिप्रेसनदेखि आमहत्यासम्म धकेल्न सक्ने डा कार्कीको भनाइ छ।

‘अहिले जो प्रदर्शनमा उत्रिएका छन्, उनीहरूको व्यक्तित्व निर्माणको उमेर नै यही हो। व्यक्तित्व निर्माण गर्न परिवार, समाज चुक्यौँ। चोरी गर्नु गतल हो तर सामाजिक सञ्जालमा राखेर उनीहरूलाई गाली गर्नु थप गतल हो,’ उनले भने ‘यो क्रम रोकिएन भने भोलीका दिनमा सामाजिक दबाब खेप्न नसकी आत्महत्याको घटना बढ्न सक्छ।’
नजिकबाट आपनो साथीभाइ गुमाएका परिवारमा झन् समस्या पर्न सक्ने भन्दै डा कार्की सबैको साझा समस्या हो भनेर बुझाउन र वास्तविकतालाई स्वीकार गर्नका लागि तयार बनाउन सुझाव दिन्छन्।
परिवारका सदस्य पनि घाइतेलाई शारीरिकसँगै मानसिक समस्या देखिन सक्नेतर्फ थप सचेत हुनुपर्ने उनको भनाइ छ।
‘घाइतेलाई शरीरिक पीडासँगै त्यो घटनाले मानसिक रुपमा विक्षिप्त बनाउन सक्छ। साथै परिवार, आफन्त साथमा नभएका घाइतेको मनोवृत्ति झन् फरक हुन सक्छ,’ उनले भने ‘घाइतेको मनोवृत्ति बुझेर मात्र उनीहरूलाई व्यवहार गर्नुपर्छ। नत्र दीर्घकालीन समस्यामा फस्ने सम्भावना बढी हुन्छ।’
जेनजीले जुन परिवर्तन खोजेर आन्दोलन गरे, त्यसअनुसारको परिवर्तन भएन भने पनि उनीहरूमा ठूलो असर पर्न सक्ने डा कार्की बताउँछन्।
‘उनीहरूले चाहेको व्यवस्था आउन सकेन भने पनि निराशा बढ्ने सम्भावना रहन्छ। यसमा परिवारले मात्र होइन, सिंगो राष्ट्रले सुनेन भने घाइते र मृतकका परिवारमा प्रतिशोधको भावना बढ्न सक्छ,’ उनले भने।
उनका भनाइमा, सम्पूर्ण तहसनहस भयो, अब के गर्ने, अब त केही बन्दैन होला भन्ने पनि अहिले धेरैलाई लागेको छ। त्यो स्वभाविक पनि हो तर त्यो कुरा मनमा खेलाइराख्ने, सोचिराख्ने हो भने मन डराउनेदेखि विभिन्न मानसिक समस्याहरू देखिने जोखिम हुन्छ। दुःखी भएर एकले अर्कोलाई दोष दिन छाडेर सकारात्मक सन्देश दिने कुरा गर्न चिकित्सक सुझाउँछन्।
‘अब भइसकेको अवस्थालाई बदल्न सकिँदैन, त्यसलाई स्वीकार गर्नुपर्छ,’ उनी भन्छन्, ‘कठिन अवस्थामा जो कोहीलाई पनि कठिन हुनु स्वाभाविक हो। स्वाभाविक कुरालाई सामान्यीकरण गर्नुपर्छ। छलफल र सल्लाह गर्ने, कुरा सुन्ने गर्नुपर्छ। तर, त्यसले आफ्नो दैनिकीमा असर गरेको छ, चाहँदाचाहँदै पनि मानसिक रुपमा स्वस्थ हुन सकेन भने चिकित्सकको परामर्श लिनुपर्छ।’
मानसिक रुपमा अस्थिर हुने, मनमा कुराहरू खेल्ने, डर लाग्ने, निद्रा नलाग्ने, आत्तिनेजस्ता समस्या देखिएमा नेपाल सरकारले सुरु गरेको ११६६ नम्बरको हटलाइन सेवामा फोन गरेर चौबीसै घण्टा निःशुल्क परामर्श सेवा लिन सकिन्छ। यस्ता समस्याबाट जोगिन दैनिकीलाई स्वस्थ राख्ने, निद्रा पूरा हुने गरी सुत्ने, सामाजिक सञ्जाल कम प्रयोग गर्ने उपाय अपनाउन डा कार्कीको सल्लाह छ।
जेनजी प्रदर्शनपछि देखिएको मानसिक समस्या, यसले निम्तिन सक्ने दीर्घकालीन असर र कम गराउने उपायका विषयमा मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा वासु कार्कीको भिडिओ ब्रिफिङ:

प्रतिक्रिया