जीवनशैली


घरपालुवा पशुपंक्षीलाई कसरी जोगाउने चिसो र रोगबाट?

घरपालुवा पशुपंक्षीलाई कसरी जोगाउने चिसो र रोगबाट?

राधिका अधिकारी
माघ ३, २०८० बुधबार १३:१४, काठमाडौँ

चिसो मौसममा मानव स्वास्थ्यको चर्चा गरिन्छ। तर, चिसोले पशु स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुराको खासै चर्चा हुने गरेको छैन। पशु स्वास्थ्यलाई लिएर कस्तो खालको तयारी गर्नु पर्छ, उनीहरुलाई कस्तो खानपान गराउनु पर्छ, स्याहार–सुसार कसरी गर्नु पर्छ भन्ने विषयमा कुनै खोजी हुने गरेको छैन।

चिसो बढ्दै जाँदा मानिसहरुलाई चिसोबाट बच्ने उपाय, चिसोबाट लाग्ने रोगका विषयमा विशेषज्ञ डाक्टरहरुले नै सल्लाह सुझाव दिने गरेका छन्। पशुपालक किसानहरुले के गर्नु पर्छ त?

पशु चिकित्सक डा. नवराज श्रेष्ठ भन्छन्, ‘पशुको स्वास्थ्य पनि मानिसको जस्तै हो। जाडोले मानिसलाई जसरी असर गर्छ, पशुलाई पनि त्यसैगरी असर गर्छ।’ 

पशु चिकित्सक डा. श्रेष्ठका अनुसार जाडो मौसममा पशुपन्छीमा लाग्ने केही विशेष रोग समेत छन्। जुन रोग गर्मी सिजनमा कमै लाग्ने गर्छ। भन्छन्, ‘जाडो मौसममा कुखुरामा सीआरडी भन्ने रोग अलि बढी लाग्ने गर्छ। यो रोगले कुखुराको श्वासप्रश्वास प्रणालीमा समस्या पार्छ। अर्को पेटमा पानी जम्ने (एसआईटी) रोग पनि देखा पर्छ।’ 

किसानले आफ्ना कुखुरालाई चिसोबाट बचाउन बन्द कोठामा राख्ने गर्छन्। यसले गर्दा कुखुरामा अक्सिजनको मात्रा नपुग्ने र श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने डा. श्रेष्ठ बताउँछन्। अरु पन्छीमा भन्दा ब्रोइलर कुखुरामा यस्ता समस्या अलि धेरै देखिन्छ।

चिसोका कारण गाईभैँसीमा पनि कुखुरामा जस्तै स्वास्थ्य समस्या देखिन्छन्। गाईभैँसीलाई पनि चिसोबाट बचाउन गुम्म परेको गोठ बनाउँदा अक्सिजनको मात्रा नपुगेर श्वासप्रश्वासमा असर गर्छ। 

डा. श्रेष्ठ भन्छन्, ‘पशुलाई न्यानो आवश्यक छ। तर उनीहरुलाई अक्सिजनको मात्रा पुग्नेगरी न्यानो दिनु पर्यो। बन्द गरेर राख्नेभन्दा पनि उनीहरुको शरीर चाहिँ ढाक्नु पर्छ। न्यानो पार्ने उदेश्यले अक्सिजनको मात्रा कमी हुन दिनु भएन।’ 

चिसो मौसममा घरपालुवा जनावरलाई विशेष गरी श्वासप्रश्वास सम्बन्धी समस्या देखिने पशु चिकित्सकहरू बताउँछन्। खुर भएका पशुहरूलाई खोरेत रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ। ज्वरो आउने, ¥याल चुहाउने, मुख र खुरको काप साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको सानासाना फोकाहरू देखिनेजस्ता खोरेत रोगका लक्षण हुन्। यो रोगबाट बचाउन भने घरपालुवा पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउनुपर्छ।

यस्ता रोग अन्य सिजनमा पनि लाग्ने भए पनि जाडोमा झन् बढी समस्या देखिने डा. श्रेष्ठ बताउँछन्। गाई, भैँसी, बाख्रा, कुखुरामा विभिन्न किसिमका स्वास्थ्य समस्या चिसो मौसममा देखिने गर्छन्। पीपीआर रोगका कारण नेपालमा हरेक वर्ष धेरै संख्यामा मर्ने गरेको पशु सेवा विभागका अधिकारी बताउँछन्।

केही वर्षअघि दोलखा कालिन्चोकका प्रेम बस्नेतका ४० बाख्रा मरे। व्यावसायिक रुपमा बाख्रापालन गर्दै अएका बस्नेतका बाख्रा पीपीआर रोगको सङ्क्रमणका कारण मरेका थिए। त्यसबाट उनले झण्डै ४ लाख बराबरको क्षति बेहोर्नु परेको बताएका थिए। जाडोमा मानव स्वास्थ्यका जस्तै सचेतना घरपालुवा पशु स्वास्थ्यका बारेमा पनि दिइएको भए सामान्य लक्षण देखिनासाथ उपचार गर्न सहज हुने उनको भनाइ थियो।  

चिसो मौसममा कुखुरामा धेरैजसो रानीखेत रोग देखिने गरेको छ। यो रोग लागेपछि कुखुरामा टाउको झट्काउने, घाँटी तान्ने, सिउर र लोती पहेँलो हुने तथा पछि नीलो रङमा बदलिने लगायतका लक्षण देखिन्छन्। यस्तै रोग लागेर आफ्नो फाममा पालेका सबै कुखुरा मरेपछि ललितपुर बुङ्मतीका मीरा शाहले कुखुरापालन नै छाडिन्। उनले लोकल कुखुरा पालेकी थिइन्। २०७७ चैतमा उनका ५ सय कुखुरा एक सातामा मरे। त्यसपछि उनले कुखुरा पालन गर्न सकिनन्। 

पशुपन्छीमा देखिने यस्तो समस्या गर्मी र जाडो दुवै मौसममा देखिने भए पनि जाडोमा बढ्ने भएकाले किसानले विशेष सावधानी अपनाउनुपर्ने केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा. नवराज श्रेष्ठ बताउँछन्।

डा. श्रेष्ठले भन्छन्, ‘जाडोमा लाग्ने रोगबाट जोगाउन खोर, गोठको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ, चिसो बढी हुँदा गोठमा धुवाँ लगाइदिने चलन हुन्छ तर पूरै धुवाँ गोठभित्रै गुम्स्याउन हुँदैन।’

चिसो मौसममा पनि पशुपन्छीलाई साबिकको जस्तै पानी दिनुपर्ने, घाँस दाना नियमित खुवाउनुपर्ने डा. श्रेष्ठको सुझाव छ। चिसो मौसममा पशुपन्छीमा देखिने यस्तो रोगबाट बचाउन किसानले पशुपन्छीलाई खोप समेत लगाउन सक्ने डा. श्रेष्ठ बताउँछन्। 

विभिन्न रोगका कारण नेपालमा बर्सेनि करिब ५ प्रतिशत पशु तथा १० प्रतिशत पन्छीहरू मर्ने गरेका छन्। तर, पशुपन्छी जोगाउनेबारे किसानहरूलाई पर्याप्त ज्ञान छैन। सरकारले पनि यसतर्फ खासै चासो दिन नसकेको डा. श्रेष्ठले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .