तपाईंलाई लामो समयदेखि खोकी लागिरहेको छ? श्वास फेर्न अप्ठ्यारो भएको महशुस गरिरहनुभएको छ? घ्यारघ्यार हुन्छ? हुन्छ भने छाती रोग पनि हुनसक्छ।
यो फोक्सोको नलीसँग सम्बन्धित रोग हो। फोक्सोको नलीमा लाग्ने, फोक्सोमा धब्बा/दाग देखिने र छातीको रक्तसञ्चारमा लाग्ने गरी छाती रोगलाई ३ किसिममा बाँडेर हेर्न सकिन्छ। फोक्सोको नलीमा रोग लाग्दा दमको समस्या देखिन्छ। फोक्सोमा धब्बा देखिने रोगमा निमोनिया र रक्तसञ्चारमा लाग्ने रोगले (हाइपरटेन्सन) बढी तनाव हुने गर्छ।
छाती रोगलाई यसको मुख्य कारण वर्गीकरण गरी बुझ्नुपर्छ। धूवाँ–धूलो, चिसो, ब्याक्टेरिया र भाइरसको कारण छातीमा रोग लाग्ने गर्छ। फोक्सो बाहिरी वातावरणसँग सिधै जोडिने शरीरभित्रको अंग हो। अलिकति मौसममा परिवर्तन हुनेबित्तिकै समस्या हुन्छ।
मानिसलाई श्वास फेर्न अप्ठ्यारो भयो भने त्यसलाई दम भनी बुझिन्छ। बुझ्नुपर्ने कुरा दम रोग होइन। यो त फोक्सोमा समस्या आउँदा देखिने लक्षण हो। नोभेम्बर ६, २०२२ को तथ्यांक हेर्दा काठमाडौंको हावा प्रदूषणयुक्त विश्वको १०औँ बढीमा पर्छ। वातावरण प्रदूषणको कारण चुरोट नपिउँदा पनि दैनिक २–३ वटा चुरो पिएबराबर असर गरिरहेको छ।
जाडोयाममा गर्मीको समयभन्दा बढी श्वासप्रश्वासमा समस्या देखिने गरेको छ। किनभने जाडोको मौसम सुख्खा समय हो। सुख्खायाम र चिसो वातावरणको कारण प्रदूषण बढी हुन्छ। त्यसले श्वास फेर्दा अप्ठ्यारो हुने गर्छ। यस्तो अवस्थामा खोकी लाग्ने, घाँटी खसखस गर्ने, चिलाउने गर्छ।
श्वासप्रश्वासको समस्या हुनेले चुरोट खान बन्द गर्नैपर्छ। अर्को घरमा दाउराबाट भान्सा चलाउँदा बढी समस्या ल्याउने गरेको छ। यसबाट जोगिन बन्द घरमा दाउराको आगो बाल्न कम गर्नुपर्छ। कसैलाई बाल्नैपर्ने अवस्था हुँदा खुल्ला ठाउँमा आगो बाल्नुपर्छ। जाडोको समयमा मकल, ब्रिकेट बाल्दा श्वासप्रश्वासमा बढी समस्या देखिन्छ।
कसरी लाग्छ छातीको रोग?
व्यक्तिगत र वातावरणीय दुवै कारणले यो रोग लाग्ने गर्छ। छातीको रोग व्यक्ति–व्यक्तिमा पनि सर्छ। नयाँ अध्ययनले बुबाआमामा रहेको दम बच्चामा सर्ने सम्भावना बढी हुने देखाएको छ।
सीओपीडी वातावरणीय कारणले बढी हुन्छ। चुरोट पिउन कम गर्दा यसबाट बच्न सकिन्छ। कोभिड पनि छातीसम्बन्धी रोग हो। यो एकबाट अर्कोमा सर्यो। तर निमोनिया एकबाट अर्कोमा सर्ने सम्भावना कम हुन्छ।
पछिल्लो समय निमोनिया बच्चादेखि ठूला मानिससम्ममा देखिने गरेको छ। निमोनिया ब्याक्टेरिया, भाइरस र फंगसको कारणले हुन्छ। ब्याक्टेरियाबाट हुने निमोनिया एन्टिबायोटिक औषधि खाएपछि ठीक हुन्छ। भाइरसबाट हुने निमोनिया एन्टिभाइरल औषधि र फंगसको निमोनिया रोग प्रतिरोधात्मक क्षमता बढाउँदा ठीक हुन्छ। फंगस निमोनिया रोग प्रतिरोधात्मक क्षमता कम भएको बिरामी अर्थात् एचआईभी संक्रमितमा बढी देखिन्छ।
औषधिसँगै बानी व्यवहारमा सुधार
निमोनियाको ब्याक्टेरियाबाट बच्न हात मिलाउनेभन्दा नमस्कार गर्नेजस्ता संस्कारलाई अंगाल्न सकिन्छ। जाडोको समयमा कोठा सुख्खा हुन नदिने, फ्रिजबाट झिकेर सिधै नखाने र प्रदूषणबाट बच्नुपर्छ।
छातीसम्बन्धी रोगबाट बच्न औषधिसँगै व्यक्तिगत बानी व्यवहारमा सुधार गर्नैपर्छ। दीर्घरोगको रुपमा औषधि खानैपर्छ। दैनिकी परिवर्तन गर्नैपर्छ। अहिले चिसो बढेको छ भनेर बिहान व्यायाम गर्न छाडेको देखिन्छ। छाड्नुभन्दा अरु समयभन्दा ढिला जाँदा उपयुक्त हुन्छ। बिहानै हुस्सु बढी हुँदा श्वासप्रश्वासको रोगीलाई झन् अप्ठ्यारो हुनसक्छ। जाडोमा घाम लाग्ने बेला बाहिर निस्किँदा राम्रो हुन्छ।
पछिल्लो ३० वर्षमा महिलाहरुमा दमको रोग बढी देखिएको थियो। जसको कारण दाउराको आगो हो। अबको ट्रेन्ड भने प्रदूषणको कारण सबैमा देखिन सक्छ। १० वर्षअघि र अहिलेको तथ्यांक हेर्दा छातीसम्बन्धी रोगी एकदमै बढेको छ। पोष्ट–कोभिडले अहिले सचेतना भने बढेको छ। छाती रोग भनी चेकअप गराउन जाँदैनथे। अहिले नियमित चेकअप गराउनेको संख्या बढेको छ।
‘चुरोट र हुक्काले एउटै असर’
अहिले ठूलो चुनौतीको रुपमा हुक्का देखिएको छ। अघिल्लो पुस्ताले चुरोट पिउँदा फोक्सोमा बढी समस्या देखिएको थियो भने अहिले हुक्का, भेप (ई स्मोक)ले बिरामी बढिरहेका छन्।
अहिलेका युवालाई हुक्का चुरोटभन्दा सेफ छ। हुक्का लिँदा फोक्सोमा नोक्सानी हुँदैन भनी बुझाइएको छ। जुन गलत हो। चुरोट पिउनु र हुक्का पिउँदा एउटै असर गर्छ। जुनसुकै बारमा हुक्कालाई प्रोत्साहन गरेको देखिन्छ। निःसन्देह यसले दीर्घकालीन रुपमा ठूलो समस्या देखिन्छ। सबै ठाउँमा खुल्ला गर्नुहुँदैन।
अर्को देखावटी रुपमा भेप स्मोक अर्थात् ई–सिगरेटको प्रयोग बढ्दो छ। चुरोट पिउनुभन्दा भेप स्मोकले धेरै नै असर गर्छ। तर भेप प्रयोग गर्नु फेसनजस्तै बनेको छ।
(काठमाडौं थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका छाती रोग विशेषज्ञ डा. पंकज देवसँग कुराकानीमा आधारित)
प्रतिक्रिया