ad ad

कोशी


गठबन्धनबाट अनुरोध आएपछि आङ्बो मुख्यमन्त्रीबाट फिर्ता भएको चापागाईंको दाबी

‘माओवादीले गरेको त्यागलाई नजरअन्दाज नगरियोस्’
गठबन्धनबाट अनुरोध आएपछि आङ्बो मुख्यमन्त्रीबाट फिर्ता भएको चापागाईंको दाबी

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:३, काठमाडौँ

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका सांसद दुर्गा चापागाईंले केन्द्रीय गठबन्धन जोगाउन मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन्।

बुधबार कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतबारे बोल्दै उनले भने, ‘प्रदेश स्थायित्व दिलाउनुपर्नेछ। प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्न र केन्द्रको गठबन्धन कायम राख्न, केन्द्रको गठबन्धनको भावनाअनुसार केदार कार्कीलाई विश्वासको मत दिने जानकारी दिन चाहन्छु। माओवादीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छु।’

सांसद चापागाईंले प्रदेश गठबन्धनलाई मजबुत पार्न र सुदृढ गर्न कार्कीका पक्षमा उभिने निस्कर्षमा माओवादी पुगेको बताए।

प्रदेशमा माओवादीबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने गठबन्धनको निर्णयविपरीत कांग्रेसकै केदार कार्कीले विद्रोह गरेकामा उनले असन्तुष्टि जनाए।

गठबन्धनबाट अनुरोध आएपछि आङ्बो मुख्यमन्त्रीबाट फिर्ता भएको उनले बताए। 

उनले भने, ‘गठबन्धनको भावनाअनुसार हामीले मुख्यमन्त्रीबाट फिर्ता भएका हौँ, माओवादीले गरेको त्यागलाई नजरअन्दाज नगरियोस् स्मरण गराउन चाहन्छु। यो प्रदेशमा सबै संविधानका धारा/उपधारा प्रयोग गरिसकेका छौँ। प्रदेश सरकारको अस्थिरताले गनुपर्ने मुख्य काम गर्न सकेनौँ। प्रदेशमा नामकरणको विषयमा आन्दोलन चलिरहेको छ।’ 

उनले थपे, ‘हामी सबै मिलेर जनविश्वास बटुल्न सक्छौँ। प्रदेश सरकार स्थापना भएको ६ वर्ष हुँदै छ।’ 

प्रदेश सरकार ऐन निर्माण, विकास निर्माणको काम, संवैधानिक समिति निर्माण नभएको उल्लेख गर्दै प्रदेशसभा सदस्य चापागाईंले नियमित सभा नचल्दा जनताका समस्याबारे संसद्‌मा छलफल गर्न नपाएको बताए। 

उनले भने, ‘हामी सबैले सहमति ८०/८१ को बजेट ल्याउनुपर्नेछ। प्रदेशमा सुशासनको काम गर्नुपर्नेछ।’

यस्तो छ उनको सम्बोधनको पूर्णपाठ-

माननीय सभामुख महोदय 
९१ हामि प्रदेशसभाको दोस्रो निर्वाचन सम्पन्न भएको १० महिना पूरा गरेर ११औँ महिनामा प्रवेश गर्दैछौँ।

यसबीचमा हामी विभिन्न संवैधानिक प्रयोग गर्दै पाचौँपटक मुख्यमन्त्री बनाउन सफल  भएका छौँ। सर्वप्रथम त म नयाँ मुख्यमन्त्री माननीय केदार कार्की र माननीय मन्त्रीज्यूहरुलाई हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश संसदीय दलको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछु। 

सभामुख महोदय 
गत निर्वाचन मा हामी दुईवटा गठबन्धधनबाट चुनावी मैदानमा होमिएका थियौँ। जसले हामीलाई यो जटिल प्रकारको संसदीय गणित स्थापित गरिदियो। 

सभामुख महोदय
यसपटक कोशी प्रदेशबाट हामीले प्रदेश सरकार निर्माणसम्बन्धी संविधानले परिकल्पना गरेका सबै धाराहरुको सहज र कतिपय अवस्थामा असहज देखिने र सम्मानित सर्वोच्च अदालतले पटकपटक गल्ती सच्याइदिनपर्ने परिस्थितिको सिर्जना  गरेर भए पनि संविधानको धारा १६८ अन्तर्गतका सबै उपधाराहरुको कार्यान्वय गरिरहेका छौँ। 

यसबाटआगामी दिनमा हाम्रो प्रदेश,अन्य प्रदेशहरु र संघमा पनि प्रतिनिधि सभा वा प्रदेश सभामा यस्तो गणितीय जटिलता आएमा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा विभिन्न नजीरहरु स्थापित गरेका छौँ। यसलाई पनि हाम्रो प्रदेश सभाले सकारात्मक र महत्त्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गर्नसक्नुपर्दछ।

सभामुख महोदय 
प्रदेश सरकारको अस्थिरताले हामीले गर्नपर्ने मुख्य कामहरु गर्न सकिरहेका छैनौँ। जस्तै : हामीले सहमतिमै प्रदेशको नामकरण गर्‍याैँ। तर त्यसपछि प्रदेश मा पुन: नामकरणलाई लिएर आन्दोलन चलिरहेको छ। यसलाई हामी सबै मिलेर मात्र निकास दिन सक्छौँ। 

प्रदेश संरचना र यसको स्थायित्वलाई लिएर जबर्जस्त प्रश्नहरु उठाउन गर्न खोजिएको छ। हामी सबै मिलेर मात्र जनविश्वासको अभिवृद्धि गर्न र यस्ता गलत प्रवृत्तिलाई परास्त गर्न सक्छौँ। 

आज हामी प्रदेश सरकार स्थापना भएको ६ वर्ष व्यतीत गर्दैछौँ। यो अवधिमा हामीले गरेका महत्त्वपूर्ण काम हरु (भौतिक पूर्वाधार क्षेत्रको विकासमा होस् या विभिन्न ऐन र कानुन निर्माणका सन्दर्भ होस्। हामीले जनतामा सकारात्मक ढंगले यसको प्रचारप्रसार गर्न सकिरहेका छैनौँ। 

त्यस्तै प्रदेश सरकार छ। यसका स्थायी भौतिक संरचनाहरुको निर्माण गर्नेतिर हामिले ध्यान दिएका छैनौँ। 

प्रदेश सभाको दोस्रो कार्यकालका ११ महिनासम्म पनि हामीले विभिन्न संवैधानिक समितिहरुको निर्माण गर्न सकेका छैनौँ। 

नियमित सभा चल्न नसक्दा जनजीविकालगायत कतिपय महत्त्वपूर्ण सवाल र  मुद्दाहरुमा हामीले गम्भीरतापूर्वक छलफल गर्न सकिरहेका छैनौँ। 

विकास निर्माण का काम हरुको प्रभाकारि कार्यान्वयन र अनुगमन मा समस्या पैदा भएको छ। 

प्रदेशमा दरबन्दीअनुसार कर्मचारीको व्यावस्थापन गर्न नसक्दा  सरकारले गर्ने नियमित सेवा प्रवाहमा समस्या छ। हामीले यसको दीर्घकालीन समाधानमा ध्यान पुर्‍याउन सकेका छैनौँ। 

महत्त्वपूर्ण कुरा त हामीलाई  प्रदेश सभा सदस्यहरुका बीचमा अन्तरघुलन र चिनजानमै समस्या पैदा भएको छ।  

सभामुख महोदय 
आजबाट एउटा अनिश्चय र अस्थिरताको अन्त्य हुनेछ। अब हामीले सहमतिमै ८०/८१ को बजेट तर्जुमासहित अविलम्ब सभाबाट पास गर्नपर्दछ।

प्रदेशको नामकरणपछि सिर्जित समस्या अविलम्ब समाधान गर्नपर्दछ। 

प्रदेशमा सुशासनको प्रत्याभूतिसहित विकास-निर्माणका कामलाई तीव्रता दिनपर्दछ। 

प्रदेश संरचनाप्रति जनविश्वासको अभिवृद्धि गर्दै स्थायित्व दिन हामी सक्षम छौँ भन्ने कुराको प्रत्याभूति जनतालाई दिलाउन सक्नुपर्दछ।

सभामुख महोदय 
प्रदेशमा देखिएको अस्थिरताको अन्त गर्न र केन्द्रीय गठबन्धनको भावना र स्पिरिटलाई कायाम राख्न आज हामी गठबन्धन दलहरुको निर्णय हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश संसदीय दलको निर्णयअनुसार संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री माननीय केदार कार्की नेतृत्व को सकार लाई विश्वासको मत दिने कुरा सम्मानित प्रदेश सभामा जानकारी गर्दछु। साथै नवगठित प्रदेश सरकारलाई सफल बनाउन हाम्रो संसदीय दलको तर्फबाट रचनात्मक सहयोग रहने कुरा पनि म स्पष्ट गर्दछु।

सभामुख महोदय 
अन्तमा आउन लागेको बडादसैँ शुभदिपावलि ,छठ, इद,चासोक तङनामलगायत का मुख्य चाडपर्वहरुले समग्र प्रदेशवासीहरुमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .