कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोसी प्रदेश सभाको चालु छैटौँ अधिवेशन आज (बिहीबार) राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको छ।
कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
उनका अनुसार बैठकले कोसी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत पनि गरेको छ।
त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ।
यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि कोसी सरकारले गरेको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ।
आजको बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाड गर्न स्वीकृत प्रदान गरेको जानकारी पनि मन्त्री भण्डारीले जानकारी दिए।
राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको उनले बताए।
Shares

प्रतिक्रिया