ad ad

कोशी


छोराले ‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केही बेरमै मृत्यु!

छोराले ‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केही बेरमै मृत्यु!

फाइल फाेटाे : चन्द्रप्रसाद आचार्य


रासस
भदौ २८, २०८० बिहिबार २१:३६, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्बिर फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिए।

१७ वर्षीय हिमालले आफ्नो फेसबुकमा ‘बुबाको मुख हेर्ने दिनको धेरै-धेरै शुभकामना बाबा! सदैव हजुरको दीर्घायु र खुसीको कामना गर्दछु। भगवान्‌सँग यो नै प्रार्थना छ कि हजुरको सबै नराम्रो र खराब समयको अन्त्य भई सधैँभरि खुसी मिलोस्! हरेक औँसीमा हजुरलाई स्वस्थ र खुसी हेर्न पाइराखुम्। अहिलेको यो जटिल समयको चाँडै अन्त्य होस् र हजुरलाई शीघ्र स्वास्थलाभको कामना बाबा!’ भनेर लेखे।

तर त्यसको केही क्षणमै उनका बुबा चन्द्रप्रसाद आचार्यको निधन भएको खबर प्राप्त भयो। जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि आफैँले काठमाडौँ झिकाएर काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका चन्द्रप्रसादको निधन भएको खबरले अहिले गाउँ नै शोकमग्न भएको छ। 

हप्ता दिनअघि सामान्य बिरामी परेका चन्द्रप्रसाद ६ दिनअघि उपचारका लागि जिल्ला अस्पताल खोटाङमा भर्ना भएका थिए। जिल्ला कारागार खोटाङको सहलेखापाल पदमा कार्यरत चन्द्रप्रसादको काठमाडौँ पुगेको तीन दिनपछि बिहीबार बिहान करिब पौने ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङका साधारण सदस्यसमेत रहेका चन्द्रप्रसाद सेवाप्रति इमानदार, कर्तव्यनिष्ठ र मिलनसार कर्मचारी रहेको सङ्गठनका केन्द्रीय सदस्य मोहन भट्टराईले बताए।

‘देशभर साढे ८६ हजार निजामती कर्मचारी कार्यरत छन्। हाम्रो सङ्गठनका साधारण सदस्य चन्द्रप्रसाद आचार्य सय जनाभित्र पर्नुहुन्थ्यो’, उनले भने, ‘अल्पायुमै उहाँ (चन्द्रप्रसाद आचार्य) को निधन हुनु दुःखद् हो। देशले एउटा इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी गुमाएको छ।’

चन्द्रप्रसादको निधनले आचार्य वंशकै इमान्दार र सामाजिक व्यक्तित्व गुमेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले बताए।

‘दाजु चन्द्रप्रसाद आचार्य राष्ट्रसेवक कर्मचारीमात्र नभई सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। हामीले आचार्य वंशकै इमानदार र सामाजिक व्यक्तित्व गुमाउनुपरेको छ’, उनले भने, ‘राम्रा मान्छेको नै छिटो मृत्यु हुँदोरहेछ! दाजुको निधन भएको खबर सुन्नासाथ गाउँ नै शोकमग्न छ।’

दाहसंस्कारका लागि चन्द्रप्रसादको पार्थिव शरीर दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ। निमोनियाका कारण निधन भएका ४५ वर्षीय चन्द्रप्रसादको घरमा श्रीमती तथा एक छोरा र एक छोरी रहेको भाइ जीवन आचार्यले जानकारी दिए। 

घर खर्चका लागि कमाइ गर्ने अभिभावक (चन्द्रप्रसाद) को अल्पायुमै निधन भएपछि आश्रित परिवारको बिचल्ली भएको छिमेकीले बताएका छन्। चन्द्रप्रसादका छोरा हिमाल १७ वर्षका छन् भने छोरी हिमाञ्जली १४ वर्षकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .