ad ad

कर्णाली


एमाले कर्णालीको नेतृत्व लिन झण्डै आधा दर्जन आकांक्षी, सुरु भयो गुटको खेल

एमाले कर्णालीको नेतृत्व लिन झण्डै आधा दर्जन आकांक्षी, सुरु भयो गुटको खेल

दिनेश बुढा
असोज ६, २०८० शनिबार १८:४५, सुर्खत

नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन यही असोज १० र ११ गते हुँदैछ। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट हुनेछ।

प्रदेश अधिवेशन नजिकिँदै जाँदा अध्यक्षमा ५ जना दाबेदार देखिएका छन्। यसअघि अधिकांश केन्द्रीयस्तरका नेताहरूले अध्यक्षको लागि आन्तरिक इच्छा जाहेर गरेका थिए।

प्रदेश अध्यक्ष पोलिटब्यूरो सरह हुने भएपछि पोलिटब्यूरोका नेताहरू पनि सर्वसम्मत अध्यक्षको कसरतमा थिए। तर, अधिवेशनका लागि एमाले कर्णालीले भदौ ३० गते प्रदेशका ७९ वटै स्थानीय तहमा प्रतिनिधिको छनोट गर्ने मिति तोकेको थियो। त्यस मितिमा केन्द्रीय नेताहरू प्रतिनिधि हुन पाएनन्।

एमाले कर्णाली प्रदेश कमिटीका अनुसार २१ वटा जनसंगठनबाट गरी ५० जना र अन्य जिल्लागत भूगलोबाट ५०४ गरी जम्मा ६०४ जना प्रतिनिधि छनोट हुँदै छन्। 

डोल्पा र रुकुमपश्चिम जिल्लाले प्रतिनिधिहरूको खाका तयार पारेर प्रदेशमा पठाइसकेको छ भने अन्य जिल्लाका केही पालिकाबाट मात्रै प्रतिनिधिको विवरण प्रदेश पार्टी कार्यालयमा आएको छ। 

यसअघि एमालेले प्रत्येक जिल्लालाई भदौ ३० गते एकै दिन प्रतिनिधि चयन गर्ने र असोज २ गतेभित्र पठाइसक्ने गरी आन्तरिक निर्देशन जारी गरेको थियो। तर, प्रतिनिधि छनोटमा  निर्देशनको अवज्ञा गर्दै नेताहरूको प्रभाव र गुट–उपगुटका कारण ढिलाइ भइरहेको छ। 

नेताहरूले अधिवेशनमा निर्वाचन हुने निश्चित भएपछि प्रतिनिधि छनोटबाट नै गुटको खेल खेल्न सुरु भएको बताएका छन्।

हालसम्म एमाले कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदमा पाँच दाबेदार देखिएका छन्। उनीहरूले आफ्नो दाबेदारी सार्वजनिक नगरे पनि भित्रभित्रै कसरत गरिरहेका छन्। 

अध्यक्षका लागि सल्यानबाट पोलिटब्युरो सदस्य गुलाबजंग शाह र कालिकोटबाट केन्द्रीय सदस्य प्रेमबहादुर सिंह प्रतिनिधि बनिसकेका छन्।

अध्यक्षकै आकांक्षी देखिएका हालका उपाध्यक्ष जाजरकोटका लालबहादुर महतारा, प्रदेश कमिटी सदस्य कालीकोटका मीनबहादुर शाही र दैलेखका राजबहादुर शाही पनि प्रतिनिधि छनोट भएका छन्। 

यस्तै, सुर्खेतका ध्रुवकुमार शाही पनि अध्यक्षका आकांक्षी छन्। तर, टिम बनाएर चुनावी मैदानमा जाँदा उनी अध्यक्ष नभएर अन्य पदाधिकारीमा लड्नुपर्ने अवस्था आउनसक्ने नेताहरू बताउँछन्।

अध्यक्षका लागि गुलाबजंग शाह र प्रेमबहादुरले सर्वसम्मतिको प्रयास गरिरहेका छन्। तर, सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा अन्य नेताले पनि दाबी गर्न सक्नेछन्। त्यसमा पनि एमाले लुम्बिनी प्रदेश अधिवेशनको असर कर्णालीमा पर्ने सम्भावना देखिन्छ। लुम्बिनीमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनाव मात्र भएन, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका उम्मेदवारबीच तीव्र गुटगत प्रतिस्पर्धा नै भयो र अन्ततः पौडेल पक्षधरले बाजी मारे ।

कर्णालीका अधिकांश नेता महासचिव पोखरेलनिकट मानिन्छन्। तर, पछिल्लो समय एमाले स्थायी कमिटी सदस्य गोरख बोगटीलाई उपाध्यक्ष पौडेलपक्षधर भन्न थालिएको छ।

यस्तै, एमाले कर्णालीमा स्थायी कमिटीका २,पोलिटब्युरोमा ४ र केन्द्रीय कमिटी सदस्य गरी २८ जना छन्। ती नेतामध्ये केहीबाहेक सबै पोखरेलनजिक मानिए पनि भित्रभित्रै नेतापिच्छेका आ–आफ्नै गुट–उपगुटसमेत बनेका छन्। खासगरी स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटीका समूहबीच ध्रवीकरण बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .