ad ad

कर्णाली


सुर्खेतमा आँखा पाक्ने रोगको महामारी, दैनिक ६ सय बिरामी पुग्छन् अस्पताल

यी हुन् लक्षण र बच्ने उपाय
सुर्खेतमा आँखा पाक्ने रोगको महामारी, दैनिक ६ सय बिरामी पुग्छन् अस्पताल

दिनेश बुढा
साउन २०, २०८० शनिबार १२:२१, सुर्खेत

सुर्खेतमा पनि आँखा पाक्ने रोगका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। प्राय: वर्षायाममा देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) यहाँ एकपछि अर्कोमा देखिँदै गएको हो। 

केही दिनयता सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, सुर्खेत र आसपासका जिल्लामा यो रोग तीव्र रुपमा फैलिरहेको छ।

यो रोग विशेषगरी विद्यालयका बालबालिका, शिक्षक, कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने व्यक्तिमा देखिए पनि अन्य सर्वसाधारण नागरिक पनि संक्रमित भइरहेका छन्। 

धेरै भीडभाड हुने ठाउँमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न भएकाले जनघनत्व अलि बढी भएका स्थानमा भाइरलका रुपमा फैलिएको आँखा रोग विशेषज्ञ बताउँछन्। 

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. शक्ति सुवेदीले धेरैजसो बालबालिकामा महामारीकै अवस्था देखिए पनि यो रोग जुनसकै उमेर समूह, महिला-पुरुषमा देखिएको जानकारी दिए। 

उनले भने, ‘एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले एकैपटक धरै जनामा भइरस पुग्नसक्छ। पूरै घरका सदस्यहरुमा पनि हुनसक्छ। हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गरेको छ।’ 

दैनिक ६ सय बिरामी पुग्छन् अस्पताल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत आँखा अस्पतालमा दैनिक पाँचदेखि ६ सयसम्म आँखाका बिरामी भर्ना हुने गरेका छन्। सुर्खेत आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डाक्टर आकांक्षा रानाले आँखा पाक्ने रोगको समस्या लिएर दैनिक ६ सय बिरामी अस्पताल आउने गरेको जानकारी दिइन्। 

उनले भनिन्, ‘पहिला अस्पतालमा दैनिक सयदेखि दुई सयसम्मका बिरामी आउने गरेका थिए। तर, पछिल्लो एक हप्तादेखि दैनिक पाँच सयदेखि ६ सयसम्म बिरामी आँखा पाक्ने रोग उपचारका लागि आउने गरेका छन्। यसरी संक्रमित भएर उपचारका लागि अस्पताल आउने सरकारी वा गैरसरकारी कर्मचारीलाइ कार्यालय नगएर रेस्ट गर्न र बालबालिकाहरूलाई स्कुल नपठाउन हामीले सुझाव दिएका छौँ।’ 

डाक्टरहरुका अनुसार पछिल्लो सयम नागरिकमा चेतनास्तर बढेकाले संक्रमितमा गम्भीर प्रकृतिको असर देखिएको छैन। साथै संक्रमित भएमा नआत्तिन र सरसफाइमा विशेष ध्यान दिन उनीहरुले सुझाव दिएका छन्। धेरै दुख्न थालेमा भने स्वास्थ्यकर्मीलाइ देखाउन डाक्टरहरुले सल्लाह दिएका छन्। 

लक्षण
१.  एक्कासि एउटा आँखा अथवा दुवै आँखा रातो हुने
२. आँखा धेरै चिलाउने तथा परेला टाँसिने
३. आँखाबाट बारम्बार पानी बगिरहने
४. आँखामा कचेरा लाग्ने तथा टाँसिने
५. आँखाबाट आँसु बगिरहने
६. आँखा सुन्निने

बच्ने उपाय

१. पट्क–पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ। तर आँखाभित्र पानी पार्नु हुँदैन।
२. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने।
३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न तथा छुन नदिने।
४. सकेसम्म सँगै नसुत्ने भीडभाड हुने ठाउँमा नजाने।
५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन धुने।
६. कालो चस्माको प्रयोग गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .