ad ad

अन्तर्वार्ता


झमकसँग संवादः प्रेम प्रस्ताव स्वाभाविक हो, मानसिक खुसीमै आनन्द भेट्छु

झमकसँग संवादः प्रेम प्रस्ताव स्वाभाविक हो, मानसिक खुसीमै आनन्द भेट्छु

कृष्ण आचार्य
भदौ १८, २०७६ बुधबार ७:२८,

 खुट्टाका तीन वटा औँलाले कलम च्यापेर कापीका पाना रंग्याउँदै आएकी झमक घिमिरेले नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेकी छन्। जन्मदेखि नै हात गोडा नचल्ने, हिँड्न र बोल्न नसक्ने उनी सुन्न, हेर्न र बुझ्न भने सक्छिन्। आत्मकथा ‘जीवन काँडा कि फूल’का लागि मदन पुरस्कारसमेत प्राप्त गरेकी उनले औपचारिक शिक्षा भने प्राप्त गरेकी छैनिन्। यिनै झमकसँग हामीले इमेलमार्फत कुराकानी गरेका छौँ। प्रस्तुत छ, जीवनका विविध आयामलाई केन्द्रमा राखेर गरिएको संवादको पूर्ण अंशः

पछिल्लो समय के–कस्ता गतिविधिमा संलग्न हुनुहुन्छ? 
पछिल्लो समय म मिडियामा खासै देखा नपरे पनि नेपाली साहित्य लेखन र पठनकै कार्यमा संलग्न छु। मेरा यसअघिका कृति लहर र लहडकै क्रममा आए। अब चाहिँ एउटा जिम्मेवारीबोधका साथ लेख्नुपर्ने हुन्छ। त्यसका लागि काम गरिरहेकी छु। साथै, विभिन्न साहित्यिक तथा सामाजिक गतिविधिमा पनि संलग्न भइरहेकी छु। आफूलाई यस्ता कार्यक्रममा प्रत्यक्षरुपमा सहभागी हुन पाउँदा मनलाई आनन्द आउँछ।

तपाईंले आफ्नो जीवनप्रति कुनै सिद्धान्त, वाद वा धारणा निर्माण गर्नुभएको छ?
मैले जीवनप्रति कुनै सिद्धान, वाद वा धारणा निर्माण गरेकी छैन। बरु अधिकांश मानिसले जीवनप्रति बोकेको निराशा, कुण्ठालाई हटाउने प्रयास गरिरहेकी छु। सबैलाई जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न आग्रह गरिरहेकी छु।

काठमाडौंबाहिर (धनकुटा) बसेर समग्र नेपालको साहित्यिक तथा राजनीतिक गतिविधिलाई कसरी नियालिरहनुभएको छ?
साहित्य र राजनीतिक काठमाडौंबाहिर पनि छ। तर, काठमाडौं र मोफसलबीच ठूलो दूरी छ। राजनीतिभन्दा पनि साहित्य राजधानीको हिसाबले बढी कमजोर छ। तर, विस्तारै यसका विभिन्न संरचनाहरु विस्तार हुँदै छन्। देश संघीयतामा गएको अवस्थामा केन्द्रिकृत सोचमा परिवर्तन आउँछ भन्ने मलाई लाग्छ। दुवै पक्षमा सम्बन्धित व्यक्तिलाई भन्नुपर्दा म के भन्छु भने–तपाईंरुमा तल र माथि भनेर जुन खाडल छ त्यसलाई पुर्ने प्रयास गर्नुहोस्। अनिमात्र सिंगो देशको आकार देखिन्छ। बहुल सोच, संस्कृति भेटिन्छ।

तपाईंका शब्दहरुमा देखिएको सौन्दर्यता, तपाईंभित्र रहेको शिष्टता र शालिनता तपाईंले रचना गर्ने साहित्यको जड हो वा अरु केही छन्?
मैले सिर्जना गर्ने रचनाहरुको मूल जड भनेको समाज र आम मानिसको जीवनशैली हो। जसलाई हेरेर, पढेर वा महसुस गरेर म प्रभावित हुन्छु। मेरा आफ्ना अनुभव र भोगाइहरु त छँदै छन्।

 धनकुटास्थित तपाईंको घरमा साहित्यकार, नेता तथा सामान्य मानिससमेत तपाईंलाई भेट्न पुग्नुहुन्छ। धेरैले त्यो घरलाई साहित्यिक धामको उपमा दिनुभएको छ। तपाईं स्वीकार्नुहुन्छ?
मेरो घरमा सर्जक, नेता–कार्यकर्तादेखि सामान्य मानिससम्म आउनुहुन्छ। जसले मेरो व्यक्तिगत जीवनमा मात्र नभएर समाजमा पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभाव पारिरहेको छ। पछि प्रदेश र स्थानीय सरकारले यस घरलाई संरक्षण र संवद्र्धन गर्ने हो भने साहित्यिक धाममात्र नभएर सांस्कृतिक ग्रामको रुपमा पनि स्थापित हुने छ। साहित्यिक, सांस्कृतिक पर्यटकले भ्रमण गर्न सक्ने छन्।

हिजो त्यही घर, घर वरिपरिको परिवेश, त्यही समाजले तपाईंलाई हेर्ने दृष्टिकोण फरक थियो। तपाईंलाई यो परिवेश कुरुप लाग्थ्यो होला। हिजो र आजलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
हिजो र आजको परिवेश फरक छ। यसलाई मैले समान्यरुपमा लिएकी छु। किनकि वर्तमान विगतसँगै जोडिएको हुन्छ। संघर्षले नै मान्छेलाई सुन्दर परिवेश र जीवन दिँदो रहेछ। मैले आफू वरिपरिको परिवेशलाई कहिल्यै कुरुप देखिनँ। कुरुपपन त मान्छेको हेराइ, सोचाइ र बुझाइमा थियो।

यो अवधिमा तपाईंलाई जीवनले सिकाएको सबैभन्दा ठूलो पाठ के हो?
यो अवधिमा मैले जति जीवन बाँचे थुप्रै तीता–मीठा पलहरु भोगेँ। त्यसलाई नजिकैबाट अनुभूत गरेँ। मानिसले रंगीनपन अर्थात खुसी र सुखी जीवन जिउनका लागि संघर्ष गरिरहेको रहेछ भन्ने कुरा थाहा पाएँ। र, मैले पनि त्यसकै लागि प्रयत्न गरेँ। अहिलेसम्म पनि गरिरहेकी छु। मानिसका खुसीहरु विभिन्न खाले हुन्छन्। कसैले व्यक्तिगत जीवनमा केही उपलब्ध भए त्यसैलाई खुसी ठान्ला। कसैले सार्वजनिक जीवनमा केही उपलब्ध भए त्यसैलाई खुसी ठान्ला। म चाहिँ मानसिक रुपमा खुसी भएँ भने त्यसलाई खुसी ठान्छु। त्यसमै आनन्द भेट्छु। मलाई जीवनले सिकाएको पाठ भनेको मानिस मानसिक रुपमा खुसी हुनु नै वास्तविक खुसी हो भन्ने लाग्छ।

एकपटक तपाईंले जीवनबारे लेख्नुभएको थियो, ‘जिन्दगी किताबका पानाहरु हुन्। जति पल्ट्याएर हेरे पनि कहिल्यै नसकिने, कहिल्यै पूर्ण पढी नसकिने’ तपाईं आफैँले आफ्नो जिन्दगीका पानाहरु कत्तिको पल्ट्याउनुभयो? कति पढ्न बाँकी छ?
यो कुरा मैले आफ्नो जिन्दगीको सन्दर्भ जोडेर मात्र भनेकी थिइनँ। विश्व मानव समुदायको जिन्दगीसँग पनि जोडिएको विषय हो यो। जहाँसम्म मेरो जिन्दगीको कुरा छ, जिन्दगीलाई कति कोट्याइयो भन्ने सवाल छ, तपाईं आफै अनुमान गर्नुस् भर्खरै ३८ औँ बसन्त पार गरेको मान्छेले जिन्दगीका आयामहरुलाई कति कोट्याउन सक्ला? र, त्यसका अनुभूतिहरुलाई कति सम्हाल्न सक्ला? एक हदसम्म मैले आफ्नो जिन्दगीलाई कोट्याएँ र बुझेँ पनि। तर, यसका थुप्रै आयामलाई अझै कोट्याउन र बुझ्न बाँकी नै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी पदकबाट विभूषित हुँदाको क्षणलाई फर्किएर हेर्ने हो भने त्यतिबेला तपाईंको अनुहारमा निकै हर्ष झल्किएको थियो। मदन पुरस्कार होस् या जीवनमा प्राप्त हुने अन्य यस्ता पदक, सम्मान तथा प्रशंसापत्रहरुले तपाईंको जीवनमा कस्तो अर्थ बोक्छन्?
म अरु धेरै विषय या परिस्थितिमा पनि हर्षित हुन्छु। राष्ट्रपतिको हातबाट पदक पाउँदा म जति हर्षित थिएँ त्यति नै मलाई राष्ट्रले दिएको जिम्मेवारी पनि बोध भएको थियो। म सम्मान, पदक वा पुरस्कारको अर्थ खोजिरहने मान्छे होइन। यसले मेरो जीवनमा केही अर्थ त राख्ला तर मलाई के पनि लाग्छ भने यसले मानिसलाई जिम्मेवारीले पनि थिच्दै लान्छ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ। अन्य के–कस्ता गतिविधिमा आफूलाई समाहित गर्नुहुन्छ?
आफूलाई मन परेका, नपरेका विषयमा आफ्नो विचार राख्नका लागि सामाजिक सञ्जालमा म बढी सक्रिय हुन्छु। सामाजिक, साहित्यिक गतिविधि तथा क्रियाकलापका महत्वपूर्ण क्षणलाई अरुसामु पोख्छु।

पछिल्लो समय नेपाली साहित्य र लेखकहरु कुन धारमा अघि बढिरहेका छन्जस्तो लाग्छ? उहाँहरुको लेखनलाई कत्तिको फ्लो गर्नुभएको छ र कत्तिको सन्तुष्ट हुनुहुन्छ?
पछिल्लो समय प्रायले समसामयिक धारमा कलम चलाइरहेको जस्तो मैले महसुस गरेकी छु। केही सर्जकले पुरानो मान्यतालाई भत्काउन खोजेको जस्तो पनि देखिन्छ। म भने समसामयिक धारलाई समाएर नै अगाडि बढिरहेकी छु। केही रचनाहरुमा भने नयाँ प्रयोग पनि गर्न खोजेकी छु।

तपाईंका विचारलाई कतिपयले राजनीतिको संज्ञा पनि दिन्छन्। विचार र राजनीतिबीचको सम्बन्ध के हो?
हरेक मानिसको आ–आफ्नो विचार हुन्छ र त्यसलाई राख्न पाउनुपर्छ। कसैले उसले ब्यक्त गरेका कुरालाई राजनीतिको संज्ञा दिन्छ भने त्यो उसको स्वतन्त्रताको कुरा हो। जसले जति बुझ्छ त्यति ब्यक्त गर्ने न हो।

आगामी दिनमा तपाईंको कस्तो कृति पाठकले पढ्न पाउनेछन्? नेपाली साहित्यमा नौलो प्रयोग या कालजयी कृतिबारे केही सोच्नुभएको छ?
एउटा लेखकले आफ्ना पाठकको हातमा सधैँ राम्रा र कालजयी कृतिहरु नै थमाउने आकांक्षा राख्छ। म पनि त्यसबाट अछुतो छैन। प्रयत्न गर्दैछु, लेख्दै पनि छु। कहिले सकिन्छ भन्ने थाहा छैन। मलाई हतार पनि छैन। मबाट पाठकले राम्रो कृति पाउनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेकी छु।

पछिल्लो समय पारिवारीक घुमघाम र भेटघाटमा बढी व्यस्त देखिनुभएको छ। सामाजिक सञ्जालमा देखिने तस्बिरमा तपाईं प्रफुल्ल देखिनुहुन्छ। कारण कही छ कि?
हो, मलाई पछिल्लो समय जिन्दगीको स्वाद चाख्न मन लाग्यो। यसको अर्थ यो होइन कि मैले अघिल्लो समय जिन्दगीको स्वाद नै चाखिनँ। तर, अहिलेको स्वादमा बेग्लै मज्जा छ। तपाईंहरुले जे देखिरहनुभएको छ त्यो सत्य हो। परिवारले दिने प्रेम, सद्भाव र स्नेह आफ्नो ठाउँमा छ र आफू स्वयंले पनि त्यो वातावरण बनाउनुपर्छ। अर्थात, आफूले पनि त्यो स्पेश खोज्नुपर्यो। मेरो परिवारमा यी कुरा दुईतर्फी रुपमै आदान–प्रदान भइरहेको छ। अर्को कुरा, आफ्नो जीवन काँडा बनाउने कि फूल भन्ने कुरा आफैँमा भर पर्छ। जीवनलाई जतातिर मोड्यो उतै मोडिन्छ। यसरी कतिपयले आफ्नो जीवनलाई काँडा बनाउँछन् त कतिले फूल।

नेपाली साहित्यमा महिला साहित्यकारको उपस्थिति न्युन छ। जति छ त्यसलाई पनि पुरुषसत्ताको दबदबाले थिचेको छ भनिन्छ। यसमा तपाईंको विचार के छ?
उपस्थिति न्युन भए पनि जति छ निकै दह्रो छ, बलियो छ। जबसम्म पुरुषसत्ताको सोच–चिन्तनले जकडिरहन्छ तबसम्म महिलाहरुलाई पछि पार्ने काम भइरहन्छ। महिला आफैँ पनि यसप्रति सचेत हुन जरुरी छ।

विवाहको प्रसंगमा तपाईंलाई आएका प्रेम प्रस्तावहरु र त्यसपछिको सिनारियोबारे एउटा रमाइलो प्रसंग छ। तपाईंलाई प्रस्ताव त आउँछ तर त्यसमा तपाईंको शर्तहरु मान्न कोही तयार हुँदैनन्। खासमा कस्ता हुन्छन् ती शर्तहरु?
एउटा जवान केटीलाई कसैले विवाहका सन्दर्भमा प्रेम प्रस्ताव राख्नु कुनै अनौठौ कुरा होइन। त्यसलाई कसरी लिने भन्ने चाहिँ स्वयं आफूमा भरपर्ने कुरा हो। मैले मलाई आउने प्रेम प्रस्तावलाई स्वभाविक रुपमा लिने गरेकी छु। 

कहिल्यै आफ्ना कमजोरीहरु पहिल्याउनु भएको छ?
मैले आफ्ना कमजोरीहरुलाई मज्जैले नियालेकी छु। म मान्छेलाई छिटो विश्वास गर्छु। उसले भनेका कुराहरु सजिलै पत्याउँछु र धोका पाउँछु।

मानिसको सुन्दरता के हो जस्तो लाग्छ तपाईंलाई? शारीरिक सुन्दरताको सवालमा व्यक्त गरिने विचार, भनाई या भावलाई कसरी लिनुहुन्छ?
अन्तरहृदयमा लुकेर रहेको भाव नै मानिसको सुन्दरता होजस्तो लाग्छ मलाई। शारीरिक रुपमा देखिने बाहिरी सुन्दरता क्षणीक हो। शारीरिक रुपमा मानिस सुन्दर हुनुलाई नराम्रो भन्न खोजेको होइन। त्यसैले शारीरिकसँगै मानिस मानसिक रुपमा पनि सुन्दर हुनुपर्छ, जुन सुन्दरता कहिल्यै मर्दैन।

तपाईंको जीवनका ती पात्रहरु को हुन् जोबिना तपाईं आफूलाई सार्थक ठान्नुहुन्न?
त्यस्ता थुप्रै पात्रहरु छन्। म अहिले सबैको नाम लिन चाहन्न। तर, समयले विस्तारै उहाँहरुलाई चिनाउँदै लाने छ।

जिन्दगीलाई फर्किएर कत्तिको हेर्नुहुन्छ? केही छुटेजस्तो लाग्छ?
मलाई आफ्नो जीवनमा एउटै कुरा छुटेजस्तो लाग्छ। त्यो हो औपचारिक शिक्षा। अरु केही छुटेजस्तो लाग्दैन।

काठमाडौंमा तपाईंका लागि विशेष आवास निर्माण भइरहेको छ। जुन दैनिक गतिबिधि संचालनदेखि साहित्यिक रचना गर्नका लागिसमेत तपाईका लागि उपयुक्त छ। कत्तिको उत्साहित हुनुहुन्छ?
ममात्र नभएर नेपाली साहित्य जगत नै उत्साहित भएको महसुस मैले गरेकी छु।

कहिल्यै मरणबारे सोच्नुभएको छ? जीवनको अन्त्यलाई लिएर डर, त्रास र भयले कत्तिको सताउँछ?
कहिलेकाहीँ सोच्ने गरेकी छु। मरण प्रकृतिको स्वभाविक नियम हो भन्ने लाग्छ। अप्राकृतिक रुपमा मर्नु पर्दा मानिसलाई डर, त्रास र भयले पक्कै सताउँछ। तर, प्राकृतिक रुपमा म मर्दैछु भन्ने कुरा थाहा पाउँदा मलाई त्यस्तो कुनै चिन्ता लाग्दैन।

२०७३ भदौमा मध्यपश्चिम विश्वविद्यालयले तपाईंलाई मानार्थ विद्यावारिधिबाट सम्मान गर्यो। अध्यापनको क्षेत्रमा पीचडी योजना नै नबनाएको विश्वविद्यालयले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर दिएको उपाधि लिएको भन्दै विरोध भयो। यसलाई तपाईंले कसरी लिनुहुन्छ?
किन दिएको र किन लिएको भनेर विरोध गरियो। म विद्वानहरुलाई प्रश्न गर्न चाहन्छु ‘तपाईंहरुको विद्धताको क्षेत्राधिकार कति हो? किन क्षेत्राधिकारभित्र परेका विश्व विद्यालयका विद्धानहरुले यसतर्फ भिन्न चिन्तन गर्न सक्नुभएन? झमक घिमिरे अयोग्य पात्र हो भन्न सक्नु भएन?’ सम्मानको क्षेत्राधिकार के हो? यसको कुनै क्षेत्राधिकार हुन्छ भन्ने मलाई थाहा छैन। मलाई थाहा नभएको नै हो र यसको कुनै क्षेत्राधिकार छ भने बताइदिन अनुरोध गर्दछु।

तपाईंबारे मानिसहरुले थाहा नपाएको वा भनौँ तपाईंले आफूबारे लेख्न छुटेको जीवनको कुनै पाटो छ?
समयसँगै मानिसका जिन्दगीका पाटा धेरै थपिन्छन् र छुट्छन् पनि। यो स्वभाविक प्रक्रिया हो। मेरा पनि केही छुटेका छन्, केही थपिएका छन्। यी विस्तारै आउने छन्, समयले भन्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .