चितवन निवासी नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल चर्चामा आइरहन्छन्। गत वैशाखख ३० गतेको स्थानीय तह निर्वाचनयता उनी निरन्तर चर्चामा छन्।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकामा गठबन्धनले साझा उम्मेदवारका रुपमा रेणु दाहाललाई अघि सारेको अवस्थामा उनले कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका थिए । त्यसबेला पार्टीको निर्णय नमानेको भन्दै उनलाई कांग्रेसले कारबाही गर्यो। कारबाहीमा परे पनि उनले कांग्रेसको नीति, विचार र सिद्धान्त त्याग्न नसकेको बताउँदै आएका थिए।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमासमेत उनी चितवन ३ बाट भुइँकटहर चुनाव चिह्न लिएर उम्मेदार बनेका थिए। भरतपुर– ७ कृष्णपुरवासी ७२ वर्षीय पौडेल ०४९ को स्थानीय निर्वाचनबाट तत्कालीन भरतपुर नगरपालिका उपप्रमुख र ०५४ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए।
उनै पौडेल वैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका कारण चर्चामा छन्। कांग्रेसको कारबाही भोगिसकेका उनले यस पटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थनको घोषणा गरिसकेकाका छन्। सोमबार लामिछानेले मनोनयन गर्दा पौडेल समर्थक बसे। कांग्रेसका पुराना नेता पौडेल अब रास्वपामै लागेका हुन्? उपनिर्वाचन र उनको नयाँ राजनीतिक यात्रामा केन्द्रित रहेर पौडेलसँग नेपालखबरले गरेको कुराकानी :
कांग्रेसले कारबाही गर्दा पनि पार्टीकै सिद्धान्तमा छु भन्नुहुन्थ्यो। अचानक रवि लामिछानेको समर्थक बस्नुभयो त?
कांग्रेसले आफ्नो नामअनुसारको काम गरेन। पार्टीको प्रतिवद्धता प्रतिकूल हुनेगरी तजविजी निर्णय गर्ने काममा चित्त बुझेन। बीपीको सिद्धान्त, आदर्श र नेपाली जनताको पक्षमा उभिनुपर्ने पार्टीले त्यसो गर्न सकेन।
आफ्नो विचार र दृष्टिकोणका आधारमा नेपाली जनताको विश्वास जितेर जानुपर्ने अवस्थामा त्यो बाटोतिर नजाँदा कांग्रेस ठिक लागेन। निर्वाचन पूर्व नै गठबन्धन गर्ने र एकप्रकारको म्याच फिक्सिङे गरी केही मान्छेको इच्छाका लागि आमकार्यकर्ताको स्वार्थप्रतिकुल हुने काम कारवाही उचित थिएन। यो कुरा दलीय व्यवस्था प्रतिकुल भयो भनेर पार्टीको नेतृत्वलाई भनेको थिएँ। कांग्रेसको विधानको परिपालना नभएको आवाज उठाउँदा कारबहीममा परियो। साधारण सदस्यबाट पनि निष्कासन गरे।
कांग्रेसबाट निष्कासित भएपछि मेरो विचार मिल्ने र देशलाई समृद्धिको बाटोमा लैजाने आशाको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी हो जस्तो लाग्यो। रविजीले पहिलादेखि नै कुरा गरिरहनु भएको थियो। त्यसैले रास्वपालाई साथ दिँदै रविजीको उम्मेदवारीमा समर्थक बसेँ।
भिडिओ
त्यसो हो भने अब तपाईं कांग्रेस छाडेर रास्वपाको बाटोमा लाग्नुभएको हो?
रास्वपाका उम्मेदवार लामिछानेजीलाई समर्थन गरेको हुँ। पार्टी सदस्यता लिएको छैन। अब, रहँदै बस्दै गर्दा के हुन्छ थाहा छैन। अहिले सबैले आगमी उपनिर्वाचन सफल पार्न ध्यान दिन जरुरी छ। चुनाव भइसकेपछि अगाडिको बाटोबारे निर्णय हुन्छ।
कांग्रेसले कारबाही गरेपछि रास्वापामा जाने सम्भावना कति छ?
त्यो सम्भावना छ। हामीलाई बीपी कांग्रेसमा लान साथीहरुले धेरै जोड गर्नु भएको थियो। त्यता जान सकिएन। त्यो पार्टीले पनि गति लिन सकेन। बीपी पार्टी राम्रै थियो। त्यहाँ दुख पाएका पुराना साथीहरु पनि थिए। तर पनि त्यसले गति लिएन। त्यसपछि राप्रपामा जाने कुरा भएन, किनकी मेरो र राप्रपाको विचार पूरै अलग छ। कम्युनिष्ट पार्टीमा जाने कुरै भएन, त्यसैले अब रास्वपामै लाग्छु। रास्वपाको सदस्यता लिएरै अगाडि बढ्छु।
यदि कांग्रेसले तपाईंमाथिको कारबाही फुकुवा गर्यो भने फर्किने सम्भावना कति छ?
छैन, अब। किनभने कांग्रेस पुरानो पार्टी हो। कांग्रेसको जीवनलाई हामीले नजिकबाट नियालेका छौँ। बीपी, गणेशमान सुवर्ण शमशेर, किसुनजी लगायत ठूला र महान नेताहरुको संघर्ष र सहिदहरुले बनाएको पार्टी हो त्यो। तर पछिल्ला दिन कांग्रेसले बाटो बिराएको छ। कांग्रेस सत्तामुखी हुँदै आफ्नो ऐतिहासिक भूमिकालाई बिर्सेको छ। सत्तामा कसरी जान सकिन्छ, त्यहाँ जान कोसँग मिल्ने, कसलाई नजिक पार्ने, कसलाई फकाउने, गठबन्धन बनाउनेतर्फ मात्रै ध्यान दिन थाल्यो। आफ्ना परिवार र नातागोताको मान्छेलाई टिकट बाँड्ने प्रवृत्ति हावी भयो। यसले गर्दा कांग्रेसमा फर्कन्छु जस्तो लाग्दैन।
तपाईंलाई कांग्रेससँग चित्त दुखेको कि रास्वापाले मन तानेको त?
रविजी मलाई भेट्न पटक-पटक घरमै आउनुभयो। देशैभरका साथीहरुबाट रास्वपामा लाग्न आव्हान पनि थियो। तपाईं अगाडि बढ्नुस्, तपाईं जुन बाटोबाट अगाडि बढ्नुहुन्छ, हामी पनि त्यही बाटोमा लाग्छौँ भन्नुभएको थियो। मलाई लाग्छ, अब रास्वपामा लाग्ने साथीहरुको लर्को लाग्छ। कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठजी पनि भोट माग्न आउनुभयो। मैले सहयोग गर्न नसक्ने जवाफ दिइसकेको छु।
निश्चय पनि मलाई कांग्रेससँग चित्त दुखेको हो, रास्वपाले मन तानेको पनि हो। मेरो विचार, आस्था र निष्ठाको राजनीतिको धारणा मिल्ने एकमात्रै पार्टी रास्वपा हो भन्ने लागेर पनि म त्यतै केन्द्रित भएको छु। यो पार्टीमा अब रवीजी मात्रै होइन, हामी जस्ता व्यक्तिहरुको खाँचो छ जस्तो लाग्छ मलाई।
अघिल्लो पटक भारी मतान्तरसहित विजयी रविले उपनिर्वाचन जित्ने सम्भावाना कत्तिको देख्नुहुन्छ?
रवि लामिछानेले जित्नुहुन्छ। यसमा दुईमत छैन।
अत्यमा, कांग्रसले अवसर नदिएको तपाईंलाई रास्वपाले स्थान देला त?
उहाँहरुसँग मिलेर जाने नै कुरा छ। उहाँहरुले नै भन्नुभएको छ। हामीलाई तपाईंको खाँचो छ। हामीले मिलेर अघि बढ्नुपर्छ भनेर प्रस्ताव गर्नुभएको छ। मलाई लाग्छ अब त्यही बाटोमा जान्छु होला।
प्रतिक्रिया