अन्तर्वार्ता


म कथित वाम गठबन्धनको पक्षमा छैन : विष्णु रिमाल (अन्तर्वार्ता)

‘एमालेको दाउपेच चले ५० प्रतिशत उकालो लाग्छौं’
म कथित वाम गठबन्धनको पक्षमा छैन : विष्णु रिमाल (अन्तर्वार्ता)

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल। तस्बिर : विशाल कार्की/नेपालखबर


जेवी पुन मगर
बैशाख २४ , काठमाडौँ

देशैभरि आ–आफ्ना दलभित्रको खिचातानी मिलाउन गठबन्धन दलका शीर्ष नेतृत्वको भागदौड चलिरहेका बेला नेकपा एमालेका ‘स्टार प्रचारक’ केपी शर्मा ओली देशका दुर्गम पहाडी भेगदेखि तराई मधेसका समतल भूमिसम्म चुनावी सभालाई सम्बोधन गर्दै दौडिरहेका छन्।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको देश दौडाहाको तीव्रता उनको दैनिक कार्यसूचीबाट नाप्न सकिन्छ। उनले पहाडी ‘उबडखाबड’ सडक छिचोल्दै दैनिक तीन–तीनवटा सभा चारपाङ्ग्रे वाहनमा गुडेर भ्याइरहेका छन्।

एमालेको सरकार ढलेपछि ओलीका विरोधीले  ‘रोगको भारीले थिचिएका ओली सत्ता र शक्तिबाट झरिसकेकाले अबको केही महिनापछि उनी हलचल गर्न सक्ने अवस्थामा हुने छैनन्’ भन्ने भविष्यवाणी गरेका थिए। त्यो भविष्यवाणीलाई किनाराकृत गर्दै ओली जसरी चुनावी प्रचारमा खटिरहेका छन्, त्यसले धेरैलाई अचम्मित तुल्याएको एमाले नेताहरु बताउँछन्। 

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनाव सार्ने प्रस्ताव फ्याँक्दा ‘निर्धारित समयमै चुनाव गराइनु पर्दछ’ भन्दै सबैलाई चुनावमा तान्ने एमाले अध्यक्ष ओली केका आधारमा एक्लै गठबन्धन विरुद्धको चुनावी मोर्चामा आफ्नो उर्जा खपत गरिरहेका छन्? ओलीको यस्तो जोस–जाँगरसहितको आक्रमकताको स्रोत के हो?

गठबन्धन दललाई ‘सरप्राइज’ हुने गरी रणनीतिक कार्ड फ्याँकिरहेको एमालेको आक्रामक चुनावी रणनीतिको मस्यौदाकार खासमा को हुन्? धेरैले जान्न बुझ्न खोज्ने जिज्ञासा हो यो। देशलाई स्थायित्वको मार्ग हुँदै समृद्धिको सोपानमा पुर्याउने तामझाम घोषणासहित एकीकृत भएको नेकपा टुक्रिएर तीन किनारामा बसी एकापसलाई धारे हात लगाइरहेको अप्ठ्यारो अवस्थामा समेत एमाले किन चुनावबाट आफ्नो अस्तित्व स्थापित गराउने ‘जिद्दी’मा छ?

नेपालखबर निर्वाचन विशेष टिमले ओलीको यो आत्मविश्वासको जड पहिल्याउने प्रयत्न गरेको थियो। यसका निम्ति सत्ताको राजकाजदेखि पार्टीको व्यवस्थापनसम्म अध्यक्ष र प्रधानमन्त्री दुबै भूमिकाका निम्ति ओलीको ‘स्विच बोर्डको मेन स्विच’ अर्थात ओलीका मुख्य रणनीतिकारका रुपमा काम गरिरहेका एमाले उपमहासचिव विष्णु रिमालसँग ‘नेपालखबर स्टुडियो’ मा दुई घण्टा लामो अन्तरंग गर्यौं।

हामीले एमालेको उत्साहको जड कारण बुझ्न खोज्दा रिमालले फर्काएको जवाफ रोचक थियो।  ‘यदि चुनावी दाउपेच सफल भयो भने हामी गठबन्धन दललाई एकतिहाइमा खुम्च्याइदिन्छौँ।’

इन्जिनियरिङ पृष्ठभूमिका रिमाल हामीलाई अंकगणित सम्झाउँदै भनिरहेका थिए, ‘गएको चुनावमा ४० प्रतिशत कटाएका हौं। यसपालि हाम्रो दाउ चले ५० प्रतिशतको उकालो लाग्छौं।’ 

प्रस्तुत छ, नेपालखबरले एमाले नेता रिमालसँग गरेको अन्तरंग कुराकानीको सम्पादित अंश : 

एमालेको अहिलेको घोषणापत्रमा प्राथमिकताका आधार पहिलेको भन्दा भिन्न राखेको छ। त्यसो गरिनुको कारण के हो?
एमालेले अहिले स्थानीय तहको निर्वाचन घोषणापत्र बनाउँदा २ वटा पाटोबाट छलफल चलायो। यो चुनाव हाम्रा लागि नयाँ भएन, संघीयतापछिको दोस्रो चुनाव भयो। दोस्रो पटकको चुनाव भएका कारणले अघिल्लो पटक गरेको प्रतिवद्धता र हामीले गरेको कामको जवाफदेहिता लिनुपर्छ। त्यो जवाफदेहिता अन्तर्गत हामीले कुनै चिज गर्न सकेनौँ भने पनि किन गर्न सकेनौँ भन्ने भन्नुपर्छ। गर्न सकेका छौं भने त्यसलाई धक फुकाएर दाबी गर्न पाउनुपर्छ भन्ने हाम्रो तर्क थियो। 

स्थानीय तह एउटा पार्टीले कमिटी चलाएजस्तो होइन, त्यहाँ सरकार चलाउने कुरा हो। संघीयतामा गइसकेपछि पालिकाहरु स्थानीय सरकार भए, त्यस्तो सरकार जसले कार्यकारी, न्यायपालिका र व्यवस्थापिकाका तीनवटा अधिकार एकैचोटि प्रयोग गर्छ।

त्यसकारण, उनीहरुले कुन आधारमा काम गर्छन् भन्दा दुईवटा विषय हामीले ख्याल गर्नुपर्ने हुन्छ। एउटा, संविधानले २ वटा अनुसूची हाम्रो लागि तय गरेको छ। एउटा अनुसूची–९, जसमा एकल अधिकार भनेर स्थानीय तहलाई २२ वटा अधिकार दिएका छौं। दोस्रो, साझा सूची हो। स्थानीय, प्रदेश र केन्द्र जसमा १५ वटा अधिकार छ।

यी दुईवटालाई अलि विस्तृत गरेर अन्य ठाउँमा पनि छरिएका अधिकार जोडेर कार्य विस्तृत प्रतिवेदन नेपाल सरकारले बनायो। त्यसमा आधारित भएर स्थानीय तहले काम गर्ने हो। हामीले नबुझी यो मेयर वा प्रमुखले काम गरेन भन्यौं भने उनीहरूप्रति न्याय हुँदैन। उनीहरुले पाएको सीमा अनुसार आफ्नो घोषित नीतिमा काम गरे कि गरेनन्, पहिलो पाटो हामीले त्यसलाई जोड्यौँ।

हामीले स्थानीय तहलाई के भन्यौं भने, अगाडि गरेको कामको विवरण जस्ताको त्यस्तै राख्नुहोस्। अनि अब गर्ने कामको प्रतिवद्धता तपाईंहरुले ब्यक्त गर्नुहोस्। त्यसकारणले हामीले स्थानीय तहमा घोषणापत्र नभन्नुस, प्रतिवद्धता पत्र ल्याउनुस् भनेर ७५३ वटै पालिकामा निर्देशित गर्‍यौं। त्यसमा कतिपय टेक्निकल कुराहरु पनि हुने भएकाले बुद्धिजीवी परिषद जस्ता सहयोगीहरुलाई प्राविधिक ढंगले व्यवस्थित गर्नका लागि खटायौँ। 

केन्द्रको सन्दर्भमा के गर्ने हो, प्रतिनिधिसभाको चुनावमा पनि त्यही भन्ने, प्रदेशसभामा पनि त्यही भन्ने अनि स्थानीय तहमा पनि त्यही भन्ने हो भने मिल्दो कुरा भएन। स्थानीय तहलाई दिने नीति भनेको त स्थानीय तहले गर्ने कुरा दिनुपर्यो। अन्तरसम्बन्धित कुरामाथि आउनुपर्यो। हामीले केन्द्रबाट जारी गरिने घोषणापत्रमा चाँही नीतिगत आधारहरुमात्र तय गर्‍यौं।

यदि हाम्रो घोषणापत्र हेर्नुभयो भने त्यसमा हामीले ७ वटा भागमा काम बाँडेका छौं। पहिलो, स्थानीय तह किन चाहिन्छ, हामीले स्थानीय तह ल्याउनका लागि कति मिहिनेत गर्‍यौं र एमालेलाई किन जिताउनुपर्छ भन्ने सार्थकताबारे लेख्यौँ। स्थानीय तहमा २०५५ सालको स्थानीय सुशासन ऐन ल्याउनका लागि हामीले जुन भूमिका खेल्यौं, त्यो पनि महत्वपूर्ण कुरा थियो। 

अहिले गठबन्धनको सरकारले चुनाव नै गराउन नचाहेको, आजका मितिसम्म पनि द्विविधा भनेर आशंका गरिरहेको बेलामा चुनावको ढोकासम्म पुर्‍याउने काममा पहल गर्‍यौं। ती सबै हिसाबले गर्दा हामी जनताको घरदैलोमा सिंहदरबार पुर्‍याउने कुरामा प्रतिवद्ध छौं। अहिलेको विकेन्द्रीकरण गर्ने कुरामा पनि धेरै महत्वमा थियौं। अहिले अधिकार हस्तान्तरण गर्ने कुरामा पनि हामी अगाडि रह्यौं। त्यो भन्दा पर संघीय वित्तीयता लागु गर्नका लागि जति कानुनहरु बनायौं, स्थानीय तह बलियो बनाउनेगरी गर्‍यौं, त्यसकारण हकदार हौं भनेर पहिलो भागमा भन्यौं। 

दोस्रो भागमा यो त स्थानीय तह ५ वर्ष पूरा गरेर जाँदैछ। तर, प्रतिनिधिसभा र प्रदेशसभा बीचमा जुन जनमत पाएका थियौं, त्यसलाई भद्रगोल बनाइएको छ। जसलाई हामीले जनादेशलाई परमादेशले विस्थापन गर्‍यो भनेर आफ्नो दोस्रो भागमा राखेका छौं। 

तेस्रो भागमा गएपछि हामीले गठबन्धन सरकार बनेपछि राम्रो भयो त? भनेर प्रश्न उठाएका छौं। हामीले काम गर्न नसकेर अविश्वासको प्रस्तावबाट हटेको भए एउटा कुरा हुन्थ्यो, त्यसो नभएर अर्को तरिकाबाट अदालतको माध्यममा हामी हटाइएका छौं। त्यसमा हामीले चौतर्फी संकट देखेका छौं। त्यसमा हामीले केही नीतिगत संकेतहरु, सूचकहरुलाई राखेका छौं। त्यसमा तथ्यमा तुलना गरेर हेर्ने हो, आग्रह पूर्वाग्रहको कुरा रहेन। अहिले भनौं न साहुजीहरुले पैसा चलाउन नसक्ने अवस्थामा पुगेका छन्। नेपाली नोट कहाँ छ भन्ने विवाद चलिरहेको छ। एकातिर विदेशी मुद्राको संचिति छैन, आयातमा धेरै खर्च भयो भनिएको छ। त्यो सटही त भएको छ, नेपाली नोट त बाहिर चल्दैन यहीँ छ। त्यो कहाँ थुप्रिएको छ भन्ने जवाफ कसैले दिँदैन। यी प्रश्नहरु सुशासन र भ्रष्टाचारसँग पनि जोडिएको हुनाले चौतर्फी संकट यसरी आयो भनेर हामीले तेस्रो बुँदामा राखेका छौं। 

चौथोमा हामीले ५ वर्षमा हाम्रो उपलब्धी के भयो त भन्ने राखेका छौं। र, हाम्रा सीमा के थिए? यो किन गरिनस् भन्ने प्रश्न पनि आउने भयो? भोट माग्न जाँदा यस्तो भनेका थियौ, किन भएन भनेर प्रश्न त आउने भयो। जवाफ दिन सकिएन भने त जनप्रतिनिधि नै हुन सकिएन। हामीले गरेका कामहरुको लिस्टिङ गरेका छौं। खासगरी प्रदेश र केन्द्र सरकारले गरेको एउटा लिस्ट, स्थानीय तहले गरेका कामको संक्षिप्तमा राखेका छौं। स्थानीय तहको डिटेल्स सबै पालिकाले राखेको कारणले हामीले संक्षेपमा राखेका छौं। 

त्यसपछि पाँचौं बुँदामा हाम्रो दृष्टिकोण राखेका छौं। हाम्रो संविधानले समाजवादउन्मुख राज्यव्यवस्था भनेको छ। त्यसमा कस्तो नीति अन्तर्गत स्थानीय तह चलाइयो भने विकास चाँहि त्यो बाटोमा जान्छ? राज्य चाँहि त्यो बाटोमा जान्छ? समाजवादको आधार त्यसले तय गर्छ भन्नेमा हाम्रो नीतिगत दृष्टि त्यहाँ राख्यौं।

भिडिओ

त्यसपछि बल्ल छैठौं बुँदमा गएर नीतिगत प्राथमिकता के हो भन्ने राखेका छौं। त्यो नीतिगत प्राथमिकता पहिला चाँही हामी के गर्थ्यौँ भने एउटा फरम्याट बनाउँथ्यौँ। त्यो भनेको सामाजिक क्षेत्रलाई पहिला ल्याउ, पूर्वाधार, आर्थिक क्षेत्रको र अन्य ‘क्रस कटिङ इस्यु’हरु राख भन्ने किसिमले जान्थ्यौँ।

अहिले हामीले एक ढंगले सर्भे गर्‍यौं। ३५ लाख नयाँ मान्छेहरु आएका छन्, त्यसमा अधिकांश नयाँ युवा छन्। उनीहरुको मुड के हो त? पुरानाहरुमा त आग्रह–पूर्वाग्रह होला तर, नयाँले एउटा सपना देखेको हुनसक्छ। बुझे पनि नबुझे पनि एउटा सपना देखेर मेरो त जनप्रतिनिधि यस्तो हुनुपर्छ भन्ने सोचेको हुन्छ। तल के काम गर्न पाउँछ पाउँदैन भन्ने चाँहि हिसाब गर्दैन उसले। 

हामीलाई त्यतिबेला के लागेको थियो भने, बाटोघाटोको कुरा बढी भन्लान्, आइटीका कुराहरु बढी भन्लान् भन्ने लागेको थियो। तर, युवाहरुको मुड बुझ्दा उहाँहरुको प्रमुख कुरा शिक्षा थियो। शिक्षित भयौं भने हामी जसरी पनि काम गर्न सक्छौं भन्ने थियो।

दोस्रोमा स्वास्थ्य, तेस्रोमा ऊर्जा, चौथोमा पूर्वाधार, पाँचौँमा गएपछि कृषि आएको छ। हामीलाई भन्नुहुन्छ भने, कृषि १ नम्बर हुनुपर्छ भन्ने मत राख्थ्यौँ। तलबाट आएको त्यो बुझाइ रेस्पोन्स गर्नेगरी हामीले १९ वटा नीतिगत प्राथमिकतामा जे–जे तलको रेस्पोन्स आयो, सोही तरिकाले फ्रेमिङ गरेका छौं।  हामीलाई बहुत चासो भएको नीतिगत सुधार र संरचनात्मक सुधार गर्नुपर्ने कुरा १ नम्बरमा राखेका थियौं। त्यसमा कुनै टिप्पणी नै गरेनन्। त्यसलाई हामीले अन्तिममा लगेर राखेका छौं।

यो हिसाबले हाम्रो घोषणापत्र तयार गरेका छौं। त्यसपछि हामीले सातौं भागमा ‘संकल्प’ गरेर ६ वटा प्रतिवद्धता ब्यक्त गरेका छौं। 

नेकपा फुटेर बनेको एमाले अहिले शासकीय जिम्माबाट बाहिर छ। र पनि एमालेको जोश–जाँगर र उत्साह चाँहि देखिएको छ। यो उत्साह कार्यकर्तामा के कारणले आएको हो?
एमाले कार्यकर्ताहरूमा एउटा ठूलो जोश र जाँगर आउनुको कारण भनेको हामीले हाम्रो आन्दोलनलाई जोगायौँ भन्ने परेको छ। यसमा अरु कुनै नेताले अन्यथा नमान्नुहोला, मैले चुनावका बेलामा कसैलाई आरोप लगाउन खोजेको पनि होइन। नेकपा बनेपछि बढी उत्साहित हुनुपर्ने मान्छेहरु थिए। किनभने, उहाँहरुलाई दुईतिहाइजति संघीय संसदमा हाम्रो कब्जा थियो, चाहेको सबै गर्न पाइन्छ भन्ने थियो। 

नेकपाको कार्यकालभरी नै झण्डै ३ वर्ष पार्टी पंक्तिहरु चल्दै चलेनन्। जो–जो सत्तामा रहे, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सत्ताहरुमा रहे, उनीहरु व्यस्त रहे। उनीहरुका आफ्नो गुनासा छन्। पार्टीले गाइड गरेन भन्ने दुखेसो छ। राजकीय सत्ताभन्दा बाहिर रहेका पार्टीका क्याडरहरू बेरोजगार भए। उनीहरुका कमिटीहरु चलेनन्। उनीहरु चलाउने काम गरिएन भनेर निराश थिए।

सामान्यतयाः पार्टी फुट्दा मान्छेहरु चित्त दुखाउँछन्। बाहिर उत्साह देखाए पनि भित्र मन दुखिरहेको हुन्छ। अहिले यो विभाजनपछि नयाँ स्कुलिङका रुपमा पुरानै एमालेमा हामीले काम गर्न थाल्यौँ। एउटा कारण त्यसले गर्दा मैले आन्दोलन जोगाउन सक्छु, मेरो पार्टी हो भन्ने गरी एमालेवालाहरु काम गरिरहेका छन्।

दोस्रो, जुन काम हामीले २ वर्षमा गर्‍यौं, ३ वर्ष पनि भन्दिनँ, ४१ महिना रह्यो। त्यतिबेला हामीलाई कोरोनाले पनि दुःख दियो। त्यसमा काम गर्‍यौं। त्यो २ वर्षमा गरिएको कामले चाँहि हामी गर्व गर्ने ठाउँमा छौं भन्ने कार्यकर्ताको बुझाइ छ।

तराईको कुरा गरौँ। त्यहाँ भएका २–४ वटा कामले त्यहाँ सामाजिक मान्यतामा नै परिवर्तन आएको छ। जस्तो : पहिलो वर्ष सरकारको प्रतिवेदन ल्याउँदा हामीले ‘तराईमा ४ सय २० किलोमिटर ढल बन्यो’ भनेर लेखेका थियौँ। यति ढल बनाउने भन्ने कुरा त्यति ठूलो थिएन। तराईमा रहेका २० वटा जिल्लाको हिसावले कुरा गर्ने हो भने यो सानै हो। तर, त्यसको अर्थ ठूलो थियो। 

त्यो बेला तराईमा फोहोरमैला व्यवस्थापन हिसावले घरमा ट्वाइलेट र बाथरुम राख्ने चलन थिएन। त्यो ठाउँमा ढल बनाउने र घरमा ट्वाइलेट राख्ने कुराले संस्कार–मान्यतामा नै नयाँ परिवर्तन आयो। यो कुरा तराईका युवाहरुले मन पराउनु भएको छ, जनताले मन पराउनुभएको छ। 

हामीले हुलाकी राजमार्ग निर्माणलाई तीब्रता दियौँ। हुलाकी राजमार्ग वर्षौंदेखि बनाउन थालिएको थियो। तर, अलपत्र बनिरहेको थियो। हामीले भारतसँग सिधै कुरा गर्यौँ– कि तपाईंहरुले बनाउनुस् कि हामी बनाउँछौँ। 

किनकि, भारतीय प्रधानमन्त्रीले हाम्रो प्रधानमन्त्रीसँग कुरा गर्दा ‘एक दिनमा हामी (भारतले) कति किलोमिटर बनाउँछौँ’ भनेर गर्वका साथ भारतको रिपोर्ट राख्नुभएको थियो। हाम्रो प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘तपाईंको कुरा सुन्दा खुसी लाग्यो। तपाईंहरु दिनमा यति किलोमिटर बाटो बनाउन सक्नु हुँदो रहेछ। तर, हाम्रो त्यति थोरै हुलाकी राजमार्ग चाहिँ किन समयमै नबनेको होला ?’ 

त्यसपछि भारतीय प्रधानमन्त्रीले यस सम्बन्धमा रुचि लिनुभयो। हामीले हाम्रै पहलकदमीमा पनि काम सुरु गर्यौँ। त्यसको एउटा परिणाम– पेट्रोलियम पाइपलाइन निर्माण हामीले १७ महिनामा नै निर्माण गर्न सक्यौँ। 

एउटा प्रधानमन्त्रीले शिलान्यास गरेर, त्यही प्रधानमन्त्रीको कार्यकालमा उद्घाटन भएका योजना हामीकहाँ थोरै छन्। तर, मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण कार्य छोटो समयमा सम्पन्न भयो। यो कुरा पनि जनताले देखिरहेका छन्। 

हुलाकी राजमार्ग निर्माण कार्य अहिले ८० प्रतिशत समाप्त भइसकेको छ। पुल निर्माण कार्य सय प्रतिशत नै सम्पन्न भएको छ। यसले तराईको जनजीवनमा एउटा क्रान्ति नै ल्याएको छ। यी सबै घटनाहरूले गर्दा एमाले भनेको काम गर्ने पार्टी हो भन्ने तल्लो तहका मानिसहरुलाई परेको छ। 

घोषणापत्र र प्रतिवद्धतापत्र बनाउँदा पनि हामीले कुनै काल्पनिक कुरा राख्न चाहेनौँ। हामीले के भनेका छौँ भने, तपाईंको घर छेउमा हामीले चलाएको पालिकामा केही परिवर्तन भएको छ भने यसले काम गर्ने रहेछ भनेर भोट दिनुस्। ‘केही पनि भएको छैन भने तपाईंले भोट दिनुपर्दैन’ नै भनेका छौँ।  

मानिसहरुले घरबाटै बाटाहरु बनेको देखेका छन्, ढलहरू बनेको देखेका छन्। साथीहरुले हाम्रा कतिपय वडा सदस्यहरुको नाम नै ‘मिस्टर एम्बुलेन्स’ राखेका छन्। जनताले फोन गरेको १० मिनेटमा एम्बुलेन्स आइपुग्छ रे अस्पतालबाट। त्यस्तै, ‘फोन गरेको १० मिनेटमा नै जनप्रतिनिधि आइपुग्छ’ भनेर ‘सेलिब्रेट’ गरेको पनि पाएका छौँ।  

यी जम्मै कारणले गर्दा जनताको आकर्षण हाम्रा मान्छेप्रति छ, जनताको आकर्षणले गर्दा हाम्रा मान्छे पनि बढी उत्साहित छन्। त्यसैले, एमालेजनहरुले ‘हामी सत्तामा छौँ कि छैनौँ’ भन्ने कुरा मतलव नै गरेका छैनन्। उनीहरुलाई ‘सत्ता त आइहाल्छ नि’ भन्ने छ। 

‘हामीले ठीक ढंगले काम गर्यौँ, नेतृत्व ठीक छ, आन्दोलन जोगिएको छ’ भन्ने कुराले तल उत्साह आएको हो भन्ने मलाई लाग्छ।

 

नेकपा विभाजनपछि प्रचण्डको बर्हिगमन र एमालेकै माधव नेपालको नेतृत्वमा बनेको नयाँ दलले तपाईंको चुनावी अंक गणितमा असर नपार्ला त? 
नेकपा विभाजनपछि सुरुमा मनोवैज्ञानिक असर पर्छ भन्ने लागेको थियो। ‘आन्दोलन खेर जाला कि’ भनेर मानिसहरु दिक्दार भएका थिए। तर, साथीहरु तुरुन्तै यसले असर गर्दैन भन्ने निष्कर्षमा पुग्नुभयो। 

एमालेभित्र पहिलेदेखि नै द्वन्द्व थियो। केपी शर्मा ओली र माधव नेपाल टिम नै बनाएर चुनाव लड्नुभएको थियो। एमालेमा त्यसको असर छँदै थियो। त्यही असरले गर्दा प्रचण्डलाई उछिट्याउन माधव नेपालजीहरुले मद्दत गर्नुभयो जस्तो लाग्छ। यसबाट प्रचण्डजी अलि बढी बहकिनुभयो भन्ने मेरो बुझाइ छ। 

माधव नेपालजीहरु जाँदा उहाँसँग निर्वाचित जनप्रतिनिधि साथीहरु धेरै जानु भएन। निर्वाचन आयोगको आँकडा हेर्दा १० प्रतिशत भन्दा कम जानुभयो। जनमतका हिसावले उहाँहरु ३ प्रतिशत भन्दा कम हुनुहुन्छ। 

चुनाव हो, जनमतलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। तर, मलाई लाग्दैन– यो निर्वाचनमा उहाँहरुले कुनै पनि ठाउँमा उल्लेखनीय हिसावले जित्नुहोला। गठबन्धनको हिसावले पनि उहाँहरुलाई जिताउँदा सार्है मर्का पर्छ। किनभने, गठबन्धनले जित्दा पनि १९ छ भने १ थपेर २० बनाइदिने हो। तर, १ लाई छोडेर १९ वालाले १ लाई २० बनाइदिन गाह्रो हुन्छ। माधव नेपालजीहरुको हालत यो हो।  एमालेमा देखिएको अर्काे उत्साहको कारण यो पनि हो। 

हिजो वैचारिक मान्यता र विचारको हिसावले माधव नेपालसँग पछि–पछि लागेर जानु भएका पोलिटब्युरो सदस्यहरु, जिल्लाका नेताहरु, जनप्रतिनिधिहरु फेरि एमालेमै फर्किरहनु भएको छ। उम्मेदवारी दर्ता सकिएपछि उहाँहरु फर्किनुभएको छ। यसको अर्थ, उहाँहरु केही मागेर फर्किरहनु भएको छैन। ‘त्यहाँ बसेर केही हुँदैन, यिनीहरुले आन्दोलन सखापै पार्ने रहेछन्’ भन्ने हिसावले फर्किरहनु भएको छ। 

दोस्रो, मेरो बुझाईमा– हाम्रो जनमत ‘रियाक्टिभ’ छ, वामपन्थी छ, विद्रोह मन पराउने क्रान्तिकारी खालको पनि छ। त्यसो हुँदा कहिलेकाहीँ व्यवस्थापनमा हामी चुक्छौँ पनि। तर, सधैँ विद्रोहले त काम गर्दैन। लोकतन्त्रका लागि गरिने आन्दोलन र लोकतन्त्रविरोधी आन्दोलन फरक कुरा हो। हाम्रो आवस्यकता लोकतन्त्र सुदृढ गर्नका लागि गर्ने आन्दोलनको हो। तर, पहिलेजस्तै हामी ‘राज्य भनेको शत्रु हो’ भन्ने हिसावले पनि सोचिदिन्छौँ, यो गलत हो। 

तर पनि नेपालीहरुको ‘माइन्ड सेट’ क्रान्तिकारी छ। मेरो बुझाईमा, अहिले गठबन्धनभित्र रहेका कुनै पनि दलले यो मानसिकता पुरा र सम्बोधन गर्न सक्दैनन्। माओवादी आन्दोलनको नेता हुँदा मानिसहरुमा ‘प्रचण्ड क्रान्तिकारी नेता हो’ भन्ने एक किसिमको धारणा थियो। अहिले प्रचण्डजी स्खलित हुनुभएको छ। उहाँ क्रान्तिकारी हुनुहुन्छ भन्ने मानिसहरुलाई परेकै छैन। ‘जता फर्क्यो, त्यतै आफ्नो स्वार्थबाहेक अरु केही पनि नहेर्ने’ नेताको रुपमा मानिसहरुले उहाँलाई बुझिरहेका छन्। एमालेप्रति धेरै आकर्षण बढ्नुको कारण यो पनि हो जस्तो मलाई लाग्छ। 

तपाईंको अध्यक्षले पछिल्लो समय बहुसंख्यक धर्मावलम्बीको आस्थालाई केन्द्रमा राखी विचारहरु राखिरहेको देखिन्छ। यो राजनीतिक जोड घटाउलाई ध्यानमा राखी गरिँदैछ या वहाँ आफ्नो आस्था मात्र प्रकट गरिरहनुभएको छ?  
हाम्रो अध्यक्षले धार्मिक भन्दा सांस्कृतिक हिसावले यो बिषय बढी उठाउनुभएको छ। हाम्रो अध्यक्षको मान्यता हामीलाई ठीक लाग्छ। ‘दक्षिण एसिया, पूर्वी एशियाली क्षेत्र सबै सभ्यताको उद्गम हो, यसमा हामीले गर्व गर्नुपर्छ’ भन्ने उहाँको मान्यता हो। ‘जसरी पश्चिमाहरुले आफ्नो सानातिना कुरामा गर्व गर्छन्, हामीले पनि आफ्नो बलबुतामा गर्व गर्नुपर्छ, मानिसको चेतना परिवर्तन गर्नुपर्छ’ भन्ने उहाँको तर्क हो। 

‘हाम्रा पुर्खा ज्ञानी थिए, विद्वान थिए र सुरवीर पनि थिए। यसमा हामीले गर्व गर्नुपर्छ। हामी त्यस्तो पुस्ताका सन्तान हौँ’ भन्ने पनि उहाँको भनाइ हो। यद्यपि, यो रेसियल (नश्लीय) कुरा होइन। हामी रक्त शुद्धतामा जाने कुरा आउँदैन। तर, ‘हामी त्यो बाटोबाट आएका ज्ञानीहरूका सन्तान भएकाले हाम्रो ज्ञान फर्काउनुपर्छ, २–३ सय वर्षदेखि हामी जसरी पछि पर्यौँ, त्यो भनेको हामी सदाका लागि पछि परेको होइन। तर, अब हामी जाग्ने पालो सुरु भयो, एसिया जाग्दैछ, अब नेपाल पनि जाग्नुपर्छ’ भन्ने उहाँको भनाई हो। 

दोस्रो, यी सबै कुरालाई उहाँले सांस्कृतिक हिसावले व्याख्या गर्नुभएको छ। हेर्नुभयो भने, उहाँले भाष्कराचार्यको कुरा गरेको देख्नुहुन्छ। भाष्कराचार्यलाई कहिलेकाहीँ न्यूटनसँग तुलना गर्नुहुन्छ। 

पश्चिमा हुनुहुन्छ न्युटन। उहाँले गुरुत्वाकर्षणको सिद्धान्त ल्याउनुभयो। विज्ञानमा हामी गुरुत्वाकर्षणको सिद्धान्त पढ्छौँ। तर, जेनेभाको साइन्स म्युजियममा गएर तपाईंले हेर्नुभयो भने, विभिन्न देशका विभिन्न ठाउँका विद्वानहरूको नाम लेखिएको छ। त्यो भन्दा अगाडिका भाष्कराचार्यको नाम पनि त्यसमा लेखिएको छ। ‘भाष्कराचार्यको नाम र काम पनि खोजीको विषय हो’ भन्ने उहाँको भनाइ हो। 

पतञ्जलीकै कुरा गरौँ। उनी कहाँका थिए ? गुल्मीका थिए भन्ने कुरा छ। यी तथ्यहरूलाई ख्याल गर्नुपर्यो भन्ने कुरा हो। झगडा गर्नका लागि, आफू पहिलो हुँ भन्नका वा त्यो मेरो आफन्त हो वा यो जातकोलाई मानौँ, त्यो जातकोलाई नमानौँ भन्ने होइन। न्याय सबैलाई गर्नुपर्यो, अन्याय कसैलाई गर्नुभएन। हाम्रो कला–सभ्यताबारे हामी अलि दृढतापूर्वक उभियौँ। यसमा गर्व गर्नुपर्छ। यसपछि मात्र नेपाली जातिसत्ता–नेपालीपन अगाडि बढ्छ भन्ने तर्क हो। मेरो आफ्नो दृष्टिकोणमा यो त त एजुकेसन (शिक्षा) हो। यसबाट मतलाई प्रभाव पर्ला वा नपर्ला तर जे भएपनि यो काम सबैले गर्नुपर्छ भन्ने हामीलाई लाग्छ।

एमालेलाई के लागिरहेको छ भने, यो कुरा अरु पार्टीहरुले पनि बोल्नुपर्छ। किनभने, हामी रेन्वो कन्ट्री होइनौँ, विभिन्न जातजातिका ‘मोजाइक’ हौँ। बहुजातीय–बहुसंस्कृति भएको देश हौँ। यहाँ कुनैपनि जातिको ‘मेजोरिटी’ छैन। हामी सबै मिलेर बस्ने समुदाय हौँ। यहाँ सबैले आफ्नो सभ्यताप्रति गर्व गर्न पाउनुपर्यो भन्ने हिसावले उहाँले कुरा उठाउनुभएको हो। 
त्यसैले, यसले स्वभाविक हिसावले भोटमा असर पर्ला। तर, यो संस्कृतिको कुरा हो।

नेकपा विभाजित भई ३ वटा भएको अवस्था छ। तर, तपाईंहरु चाहिँ यसपालि पनि ‘एमालेले चमत्कार गर्छ’ भनिरहनुभएको छ, कसरी ? 
समग्रमा हामी पूर्वदेखि पश्चिमसम्म पहिलेको भन्दा धेरै राम्रो गर्छौँ। कुनै–कुनै क्षेत्रमा हाम्रो अपेक्षाभन्दा तलमाथि पर्न पनि सक्ला। किनभने चुनावको उम्मेदवारी खडा हुने विषय नै सकिइसक्यो। उम्मेदवार खडा गरिसकेपछि साथीहरुको बहस पनि सुनेका छौँ। अरु दलहरुले दिएका उम्मेदवारलाई पनि हेरिरहेका छौँ। त्यसले पनि केही त फरक पार्ला।

समग्रमा हेर्दा पहिले उपमेयर, उपाध्यक्ष हेर्ने हो। व्यक्तिगत इकाइका आधारमा हेर्दा उपमेयरमा समग्रमा ५२ प्रतिशत जति अघिल्लो चुनावमा जितेका हौँ, हेर्दा। मेयर हेर्दा ४५ प्रतिशत भन्दा माथि गएका हौँ। समग्र जनप्रतिनिधि हेर्दा हामी ४० प्रतिशत भन्दा माथि हौं। त्यो भन्दा तल त हामी झर्दैनौँ।

भन्नुको अर्थ–आधा त हामी स्वतः जित्छौँ जस्तो लाग्छ। हाम्रो अहिलेसम्मको मूल्याङ्कनले पचास प्रतिशतबाट उकालो लाग्छौँ र त्यो उकालो ६६ प्रतिशतबाट माथि लाग्दैन।

एकतिहाइ त अरु दलहरुले जित्छन् कम्तिमा। चुनावी रणनीति, यो हप्ताभित्र हुनसक्ने तलमाथिका कारणले, यदि सबैथोक ठीक रहेमा अहिले हामीले सोचेको जस्तो रहेमा उहाँहरु (गठबन्धन) मेरो आफ्नो बुझाईमा एकतिहाइमा खुम्चनु हुन्छ। हामीले सोचेको भन्दा तलमाथि भएमा र परिस्थिति अर्काे तरिकाले गएमा ५० देखि ६६ प्रतिशतबीचमा एमालेले ल्याण्ड गर्छ।

यसका आधारहरू के छन्?
यसका आधार भनेको पहिलेको जीत पनि हो। अहिलेको नयाँ भोटरको मुड पनि हो र हामीप्रति रहेको रेस्पोन्स पनि हो। हामीले भोट माग्न जाँदा केलाई आधार मान्छौँ भन्दा, एउटा अवधारणा हुन्छ। एउटा मान्यतामा गएका हुन्छौं, तर घरमा जाँदाखेरी छतबाटै टाउको हल्लाउनुभयो, वा भेटेर ठीक छ मात्र भन्नुभयो भने त्यसबेला कि तपाईँले भोट हाल्नुहुन्न भन्ने लाग्न सक्छ। तर, जब मानिस तल आउँछ, तपाईँलाई रेस्पोन्स गर्छ, तपाईँलाई प्रश्न पनि गर्छ। यो काम किन नगर्‍या भनेर झगडा गर्छ भने, त्यो मान्छेले मलाई भोट हाल्छ भन्ने हिसाव–किताव हुन्छ।

जो मानिस इन्गेज हुन चाहन्छ, सवाल जवाफ गर्न चाहन्छ त्यसले रुचाएको हुन्छ। गाली पनि मन पर्नेले मन पर्नेलाई गर्ने हो नि। मन नपर्नेलाई त नजाने गाउँको बाटै नसोध्नु भन्छन् नि। एउटा आधार त्यो हो।

दोस्रो, हामीले केही मुडहरु परीक्षण गरिरहेका छौँ। ३५ लाखजति नयाँ भोटर आउँदैछन्, त्यसमा ठूलो संख्या युवाको छ। हामीले विभिन्न विधिबाट मुड बुझ्न काम गरिरहेका छौँ, यद्यपि आचारसंहिताका कारण सर्वेक्षण रिपोर्ट बाहिर ल्याउन पाउँदैनौँ। हामीले मुड बुझ्दाखेरि धेरै ठाउँबाट एमालेतिर आकर्षण बढेको पाउँछौँ।

हामीले सबै साथीहरुसँग बुझिरहेका छौँ। सत्ताले गर्न चाह्यो भने के गर्छ ? राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, नेपाली सेना लगायत गृहमन्त्रालयले चलाउने विधिबाट राज्यले सूचना लिन्छ। सत्तापक्षीय सूचना सत्तालाई खुशी पार्न जान्छ, त्यसरी यथार्थ कुरा जाँदैन।

हामीले सूचना लिँदा हाम्रा कार्यकर्ताको कुरा सुन्छौँ। विरोधीका कुरा सुन्छौँ। कार्यकर्तामा बाझ्ने कार्यकर्ताको कुरा सुन्छौं। अनि न्युट्रल जनताको कुरा सुन्छौं। यी तीन–चारवटा कुरा जुधाएर आउने परिणामलाई हामी अंकमा ढाल्छौँ। त्यही तथ्यमा हामी ५० भन्दा माथि, ६६ भन्दा तल, बीचको अवस्थामा पुग्छौं भन्ने लाग्छ।

महानगरहरूको अवस्था के हुन्छ? 
महानगरको एउटा चित्र तपाईँलाई बताइदिन्छु– पहिला (०७४ मा) हाम्रो पोखरा र काठमाडौं दुईवटा महानगर हाम्रो हातमा परेको हो। टेक्निकल्ली चारवटा महानगर जितेको मेरो दाबी छ। भरतपुर र ललितपुर हामीले हारेको होइन, घोषणा हाम्रो विपक्षमा भएको मात्र हो। त्यसलाई अरु बहसको विषय गर्नु परेन। मुद्दा अहिले पनि छ। 

अर्को पाँचवर्षे कार्यकाल सकिएपछि पनि फैसला नहोला। नयाँ जनमत आएपछि अदालतले त्यसलाई रद्द गर्ला। त्यो न्यायालयको त्यस्तै कुरा छ, त्यसमा धेरै बोल्न मिलेन। त्यसकारणले हामीले पहिला जितेको दुईवटै महानगरमा हार्ने स्थिति नै छैन।  हाम्रो उम्मेदवार राम्रो हुनुहुन्छ, अनुभवी हुनुहुन्छ। केशव स्थापितजी र कृष्ण थापा दुवैजना प्रदेश सभा सदस्य छोडेर आउनुभएको हो। 

पोखरा र काठमाडौंमा बरु कति अन्तरले जित्ने भन्ने कुरा रहला, हामीले बढी दाबी गरौंला, परिणाम अलि कम आउला। तर, जीतमा प्रश्न होइन। काठमाडौं र पोखरामा हारिन्छ भनेर प्रश्न गर्नै पर्दैन। त्यहाँ वडाकै संख्या पनि पहिलेको भन्दा बढ्ने क्रममा छन्।

भरतपुर र ललितपुरमा पहिला गरिएको गलत घोषणालाई यसपटक सच्याउन बाध्य पार्छौँ। किनभने, जनमत बिग्रिएको छैन, झन् राम्रो भएको छ र मान्छेमा सहानुभूति भोट पनि छ। ललितपुरका मानिसमा हरिकृष्णले हारेकै होइन भन्ने मन मनमा परेको छ। यसपटक उहाँहरुले बढी सतर्कता अपनाउनुहुन्छ।

भरतपुरमा हामीले अर्को उम्मेदवार दिएका छौँ, एमालेका उम्मेदवारमाथि ज्यादती नै भएको हो भन्नेमा दिनको घामजत्तिकै छर्लङ्ग छ, त्यसकारण यी दुई स्थानमा हार्न पर्छ भन्ने कारण नै छैन। यी दुईवटा पनि स्वतः जितिन्छ। ६ मध्ये ४ मैले भनिहालेँ।

अब वीरगञ्जमा हामीले हार्नुपर्ने कारण के छ? अहिलेका सिटिङ मेयर नै हामीसँग हुनुहुन्छ। उहाँ सबैभन्दा धेरै भोट ल्याएको मान्छे। उहाँसँग तेस्रो भएका साथी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।स्रोवालाको भोट उता सबै जान्छ भन्ने हामीलाई लाग्दैन। हाम्रो भोट अहिलेको उम्मेदवारलाई यसै पनि आइहाल्छ। त्यो हुँदा हामी हार्नुपर्ने कारण नै छैन। 

विराटनगरको सन्दर्भमा लहडले काम गर्न सक्छ। त्यहाँ अघिल्लो चुनाव नेपाली कांग्रेसले जितेको थियो, उसले अहिले उम्मेदवार फेर्यो। मलाई लाग्छ, उम्मेदवार फेरिएपछि त्यसको असर पर्छ। हाम्रो प्रतिस्पर्धीको हिसावले उहाँहरु धेरै तगडा हुनुहुन्न। हाम्रो पनि नयाँ, उहाँहरुको पनि नयाँ उम्मेदवार हुनुहुन्छ। हाम्रा मेयर उपमेयर भूगोलमा भिजेका हुनुहुन्छ।  हाम्रो आफ्नो भोट त तलमाथि हुने कुरै भएन, अरु भोट आकर्षण गर्न उम्मेदवार सक्षम हुनुहुन्छ। फेरि पनि यसमा ‘बेनिफिट अफ डाउट’ के दिन्छु भने, प्रतिस्पर्धा हुन्छ। मलाई सोध्नुभयो भने, महानगर कहाँ हारिएला र ? भन्ने ठाउँमा हामी छौँ।

उपमहानगरमा नि?
उपमहानगरमा पहिले जितेको ठाउँ धेरै गुम्ने धेरै छैन। उपनिर्वाचनमा धरान हामीले गुमायौं, त्यो फिर्ता आउँछ। त्यसमा कुनै समस्या छैन। अरु नयाँ ठाउँमै हामी जाने हो। नयाँ ठाउँमा केही आधार बनेको छ। १७ वटा महानगर र उपमहानगर हेर्दा पहिलेभन्दा प्रगतिउन्मुख छ। बाँकी रहेका नगरपालिका र गाउँपालिकाको विकास त्यही ढंगले भइरहेको छ। रंगेली हामीले यसपटक जित्छौँ।

पहिला टेक्निकल्ली हारेका ठाउँ अहिले हामी जित्छौँ। पहिले जितेका ठाउँ हामीले हार्ने स्थिति कमै छ। म मेरै जिल्ला नुवाकोटको कुरा गर्छु, पहिला हामीले १२ मध्ये एउटा नगर र २ वटा गाउँपालिका गरी ३ तह जितेको हो।  अहिले मलाई लाग्छ डबल जित्छौँ। परिस्थिति पहिला जे हो, अहिले पनि त्यही छ। पहिला पनि कांग्रेस र माओवादी मिलेर लडेको हो त्यहाँ, अहिले पनि मिलेर लड्नुभएको छ। त्यहाँ कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अलि चरम छ। माओवादी पार्टी पनि ठोस भइरहेको छैन। माधव नेपालको पार्टीको कुरै नगरौं। उहाँहरुले कोही जनप्रतिनिधि लग्न पनि सक्नुभएन। झण्डै २ महिनासम्म त उहाँहरुको जिल्लाको पार्टी संरचना नै बनेको थिएन।

अहिले भरतपुर चुनावी रणमैदानमा परिणत भैरहेको जस्तो देखिन्छ। गठबन्धन मात्र हैन, तपाईंहरु पनि पूरै शक्ति खन्याएर लाग्नुभएको छ। त्यहाँ तपाईंको हिसाब–किताब चाहिँ के हो? 
कमरेड प्रचण्डले भरतपुरको चुनावलाई आफ्नो व्यक्तित्व र प्रतिष्ठासित जोड्नुभयो। राजनीतिमा त्यसो गर्नु हुँदैन। त्यो प्रत्युत्पादक हुन्छ। मेरो त पेशा पनि कुनै समय सल्लाहकारको भयो। यदि मैले सुझाव दिएर लाग्थ्यो भने, मैले त उहाँ (प्रचण्ड) लाई विनम्रतापूर्वक के भन्थेँ भने यसपल्ट निवर्तमान मेयर रेनु दाहाललाई नउठाउनुस्। त्यसो हुँदा प्रचण्डजीलाई फाइदा हुन्थ्यो। उहाँको पार्टीलाई फाइदा हुन्थ्यो। अहिले रेनुको त्यहाँ क्रेज बढेको वा करिस्म्याटिक उम्मेदवार पनि होइन। त्योभन्दा बढी टिप्पणी गर्नु जरुरी छैन।

उहाँको अर्को कमजोर पाटो के भइदियो भने, उहाँ प्रचण्डजीको छोरी पनि भइदिनुभयो। यद्यपि बाबु छोरी हुन सक्दैनन् भन्ने होइन, त्यसमा म परिवारको सदस्य उठाएको भनेर टिप्पणी गर्न चाहन्नँ। सोच्नेले सोच्ने कुरा हामीले भनिरहन आवश्यक भएन। प्रचण्डजी बा हुनु रेनुजीको लागि चुनाव जित्ने स्ट्रोङ प्वाइन्ट होइन। झन् कमजोर प्वाइन्ट हो।

आउने परिणाम त चार वर्षअगाडि जे परिणाम आएको थियो, त्यही आउँछ (एमाले जित्छ।) त्यसो हुँदा –प्रचण्डले अहिले नै मानसिकता बनाउनुपर्छ जस्तो लाग्छ। उहाँहरु दुवै थरीलाई परिणाम थाहा छ। कांग्रेसभित्रको विग्रह उहाँहरुले बुझ्नुपर्छ। सामान्यतया गठबन्धन हुँदा एउटै पक्षलाई मात्र दिइँदैन। त्यसो हुँदा त्यहाँको पार्टी नै रहँदैन नि। कांग्रेसका मानिसहरुको तर्क ठीकै लाग्छ मलाई।

यो निर्वाचनपछि गठबन्धनमा परिवर्तन आउन सक्ने कुरा आइरहेको छ। निर्वाचन हारे वा जिते पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग मिलेर जान सक्ने सम्भावना छ कि छैन? आन्तरिक राजनीतिक र भू–राजनीतिक हिसाबले पनि निर्वाचनपछि यो गठबन्धन कसरी अघि बढ्ला ?
मेरो आफ्नो बुझाइमा भन्ने हो भने भू–राजनीतिक हिसाबमा यो गठबन्धन जोगिने हिसाबले जाला। यो गठबन्धन आफ्नो खुसीले बनेको छैन। गठबन्धन आफूखुसी बनेको भए कांग्रेसका नेता र कार्यकर्ताले बागी उम्मेदवार बनाउँदैनथे। उहाँहरुले रुचेको गाँस खाएको होइन, नरुचेको गाँस खाएको हो। त्यसैले यो भित्रैबाट बनेको गठबन्धन होइन। यो गठबन्धन बनाउन जसले सहयोग वा प्रेरित गर्‍यो, तिनीहरुले नै जबसम्म संघीय संसदमा एमाले कमजोर हुँदैन, तबसम्म तिमीहरूको गठबन्धन कायम रहनुपर्छ भनेको हुनसक्छ भन्ने मेरो अनुमान हो।

तर, परिस्थिति के हुँदैछ भने यो गठबन्धनबाट कांग्रेस वा माओवादी तथा माधव नेपालहरुलाई पनि फाइदा हुनेवाला छैन। यसले उपेन्द्र यादवहरूलाई पनि फाइदा हुनेवाला छैन। उनीहरुबीच नै आगामी दिनमा एउटाले अर्कोलाई असहयोग गरेका कारण निर्वाचन हारेको भन्ने निष्कर्षमा पुग्ने अवस्था छ। पछि उहाँहरुको बीचमा हुने झगडाको कारण नै त्यही हुनेछ।

कांग्रेसले सहयोग नगरेका कारण हामीले हार्‍यौं भनेर माओवादीले भन्छ, कांग्रेसले माओवादीले हामीलाई भोट हालेन भन्छ। माधव नेपालले अपमान भयो भनेर भन्न थालि नै सक्नुभएको छ। गठबन्धनभित्र हामीलाई कम आँकियो, अपमान गरियो, हाम्रो यत्रो योगदान आफ्नै सरकार ढालेर यसरी सहयोग गर्दा पनि यसरी हेप्नी? भन्ने कुरा माधव नेपालजीहरुको आएको छ। उपेन्द्रजीहरुको प्रतिक्रिया नै सुनिँदैन उहाँहरु निराश हुनुहुन्छ जस्तो लाग्छ, बेखुस हुनुहुन्छ जस्तो लाग्छ।

अन्तिम परिणाम भनेको निर्वाचनपछि उहाँहरु बीचमा हुने झमेला यही नै हो। एक-दुई सिट तलमाथि होला। हामीले भनेको भन्दा एक-दुई सिट उहाँहरुले घटीबढी ल्याउनुहोला, तर निर्वाचनको परिणाममा उहाँहरु कमजोर नै हुनुहुन्छ। त्यसपछि उहाँहरुको बीचमा रहने अन्तरद्वन्द्व यही नै हो। त्यसैले अहिले नै जिल्ला–जिल्लामा गठबन्धन ‘लुज’ देखिएको छ। कसिलो भएको छैन, निकै खुकुलो देखिएको छ। 

गठबन्धनका मानिस आफैंलाई पनि गठबन्धनकाले भोट हाल्छन् कि हाल्दैनन् भन्ने पत्तो छैन। भरतपुरको सभामा को जाने, को नजाने भन्नेमा उहाँहरु चरम द्विविधा देखियो। विभिन्न किसिमका सूची बाहिर आयो। त्यो भनेको जो गए पनि केही हुँदैन भन्ने निष्कर्षमा पुगेको जस्तो देखिन्छ। त्यसले गर्दा गठबन्धनको भविष्य त त्यहीँ नै विसर्जन हुन्छ नै, कांग्रेसमा के होला भन्ने लाग्छ भने मलाई अहिलेको निर्वाचन हारिसकेपछि यो गठबन्धनलाई सँगै लिएर अघि बढ्दा हामीलाई के फाइदा हुन्छ? भन्ने प्रश्न हुन्छ होला।

हामीले त कांग्रेसलाई पहिला नै सबै दलको बीचमा स्वस्थ प्रतिस्पर्धा गरौं, प्रजातन्त्रको आधारभूत मूल्यमा सहमति गरौं, विदेश नीतिमा सहमति गरौं र विकासका मामिलामा साझा धारणा बनाऔं भनेका थियौँ। अरु केही दलहरुले अलिअलि सिटहरु जित्लान्, गठबन्धन गर्नै परे निर्वाचनपछि सरकार बनाउने मामिलामा बनाउँदा भइहाल्यो भनेर भनेका थियौं। कांग्रेसले त्यसलाई सुन्न त सुन्यो, तर अंगिकार गर्ने आँट गर्न सकेन। भोलि कांग्रेस त्यही स्थानमा पुग्ने हो, भोलि त्यहीँ पुग्ने भएपछि उसको भविष्यबारे प्रश्न त उठिहाल्छ।

फेरि वाम गठबन्धन हुने सम्भावना कत्तिको छ?
म कथित वाम गठबन्धनको पक्षमा छैन। हामीले एउटा मान्यता बनाएका छौं। हामीले निकै सोचविचार गरेर यो मान्यता बनाएका हौं। नेपालमा वाम र गैर वाम भन्ने वैचारिक गठबन्धन बन्दैन। यदि त्यस्तो गठबन्धन बन्थ्यो भने प्रचण्ड र माधव नेपालजीहरुले भन्ने गरेको र बोक्ने गरेको राजनीतिक आदर्श र कांग्रेससँगको मिलाप मिल्दै मिल्दैनथ्यो। उहाँहरु सोच्ने वाम, गर्ने दक्षिण। वामपन्थी विचारधाराको प्रवक्ता बन्ने र दक्षिणपन्थीसँग मिलेर आफ्नो स्थान स्थापित गर्ने अवस्थामा उहाँहरु हुनुहुन्छ। त्यो त आदर्शअनुसारको कुरा भएन।

त्यसैले नेपालमा राजनीतिक आदर्शसहितको गठबन्धन बन्दैन। एमालेले भनिरहेको कुरा के हो भने एउटा राष्ट्रिय शक्ति निर्माण गरौं भनेको हो। त्यसैले हामीले कुनै पनि दललाई गठबन्धन वा तालमेल गरौं भनेर भनेनौँ। तपाईंहरु हाम्रै चुनाव चिन्हबाट निर्वाचनमा उठ्नुहोस्, त्यसमा हामीले अहिलेको पार्टीको कानुन लाग्दैन भन्ने व्यवस्था गरौं। एउटा शक्ति बनाऔं र त्यसको नेतृत्व हाम्रो अध्यक्षले गर्नुहुन्छ, त्यस्तो नेतृत्व गर्ने अहिले कोही पनि छैनन् भन्यौं।

यसरी सुदृढ राजनीतिक शक्ति बनाएपछि विकासका कार्यले पनि तीव्रता लिन्छ। हामी जतिबेला सरकारमा गएका थियौं, त्यतिबेला यो गठबन्धन र तालमेलको त च्याप्टर नै क्लोज भएका थिए नि त्यतिबेलाको बहस भनेको रेलमार्ग बन्छ कि बन्दैन, पानीजहाज आउँछ कि आउँदैन भन्ने जस्ता थिए, ठूला संरचना बनाउने कि नबनाउने लगायतका बहस भएका थिए र जानुपर्ने पनि सोही बाटोमा थियो। आर्थिक वृद्धिदर ५ प्रतिशतदेखि ७-८ प्रतिशत भन्दै जानुपर्ने थियो। गरिबी घटाउने विषयमा बहस हुनुपथ्र्यो। त्यसतर्फ जानका लागि एउटा राष्ट्रिय शक्ति बलियो हुनुपर्छ। एउटा पार्टी मात्र बलियो भएर भएन। त्यसका लागि त एमाले बलियो पार्टी छँदै छ नि। कांग्रेस पनि तुलनामा बलियै छ तर दुईवटा पार्टी बलियो भएर मात्र भएन। राष्ट्रिय शक्ति बलियो हुनुपर्यो। त्यसको नेतृत्व गर्छौं भनेर हामीले भनिरहेका छौं।

यदि हामी कोहीसित तालमेल गर्नुपर्छ भने पनि चुनावपछि मात्र गर्छौं। स्थानीय तहमा त सरकार चलाउन तालमेल नै गर्न पर्दैन, ज–जसले जित्यो, उनीहरुले चलाउने हो। संघ र केन्द्रमा चाहिँ संख्या पुगेनछ भने मन मिल्नेहरूसँग त्यसपछि मात्र सहकार्य गर्छौं होला। तर, चुनाव लड्नको लागि तालमेल भनेर जाँदैनौं।

पहिलाको जस्तो लोकतान्त्रिक र वामपन्थी तालमेलको समय अब सकिइसक्यो भन्ने हामीले ठानेका छौं। नेपालको अवस्था भारतको जस्तो पनि होइन, भारतमा महागठबन्धन भनेर कांग्रेस र बीजेपीले बनाउने गरेजस्तो। त्यो नेपालमा चल्दैन, नेपालमा त्यो संस्कृति छैन।

बैशाख २३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad