ad ad

अन्तर्वार्ता


गरिमा शाहलाई प्रश्न: एकीकृत समाजवादीले प्रदेश सरकार पनि छाड्छ कि?

गरिमा शाहलाई प्रश्न: एकीकृत समाजवादीले प्रदेश सरकार पनि छाड्छ कि?

फाइल फोटो


यज्ञराज जोशी
बैशाख ९, २०७९ शुक्रबार २३:१३, काठमाडौँ

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी एक्लिएको छ। पाँच दलीय गठबन्धनका दुई ठूला कांग्रेस र माओवादी केन्द्र पेलेर अघि बढेपछि एक्लै चुनावमा जाने मनस्थितिमा समाजवादी देखिएको छ। गठबन्धनका अन्य दलले हेपाहा प्रवृत्ति देखाएको भन्दै एकीकृत समाजवादीले एक्लै प्रतिस्पर्धामा जाने आन्तरिक तयारी तीव्र पारेको हो। 

पार्टीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले उम्मेदवारीको मितिसम्म छलफल जारी रहने तर सम्मानजनक स्थिति नभए एक्लै चुनावमा जान तयार रहेको बताइन्। गठबन्धनकै दलबाट यसरी किन हेपिनुपरेको त? यीसहित विषयमा नेपालखबरले गरेको कुराकानी :

तपाईंहरुले सुदूरपश्चिममा एक्लै चुनावी प्रतिस्पर्धामा जाने तयारी गर्न लाग्नुभएको हो?
नेपाली कांग्रेस,माओवादी र एकीकृत समाजवादीबीच बझाङमा गठबन्धन गर्ने सहमति भएको छ। अरु जिल्लामा वार्ता जारी छ। दार्चुलामा माओवादी र नेपाली कांग्रेस मिलेर भागबन्डा गरे। भागबन्डामा कसलाई कति पर्छ त्यो महत्वपूर्ण कुरा होइन। भागबन्डा गर्दा समाजवादीलाई बैठकमा बोलाउने काम भएन। दिन्छौं एक वडा दिउँला, दुईचार वटा वडा दिउँला नि भन्ने अभिव्यक्ति आउन लाग्यो। कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बाजुरामा त्यस्तै छ। 

कतिपय माओवादीलाई ठूलो पार्टीको छहारीमा लागेपछि हामी पनि ठूलो हुन्छौं कि भन्ने लागेको होला। कतिपय कांग्रेसलाई यिनीहरु टुटेफुटेका छन्। सबै हाम्रै होला भन्ने परेको होला। त्यस्तो होइन है भनेर पनि प्रस्तुत गर्न खोजेका छौं। 

जुन तरिकाले हामीलाई महत्व दिइएको छैन। महत्व नदिने प्रवृत्ति हावी हुँदैछ। यस्तै हो भने हामी एक्लाएक्लै प्रतिस्पर्धा गर्न तयार नै छौँ। 

भनेपछि गठबन्धनमा रहने सम्भावना सकिएको हो?
हेर्दै जाऊँ। वार्ता छलफल जारी छ। सम्मानजनक ढंगले स्थान पायौँ हाम्रो चित्त बुझ्यो भने गठबन्धनबाटै जान्छौं। गठबन्धनलाई निरन्तरता दिन चाहन्छौं। जे कुराका लागि हामीले गठबन्धन गरेका थियौं। त्यो कुरा प्राप्त भइसकेको छैन भन्ने हामीलाई लागेको छ। अब एउटा राजालाई घोडाबाट झार्‍यौं, अरु पनि राजा हुन लागेपछि सहन सकिदैँन। 

उम्मेदवार टुंग्याउने समय आइसकेकाले तत्कालै एक्लै जाने औपचारिक निर्णय गरिहाल्नु परेन र?
के परिस्थिति (सम्मानजनक भाग पाउने वा नपाउने) हुन्छ, त्यहीअनुसार अघि बढ्न हामी आन्तरिक रुपमा सबै तयार छौं। बाहिर ल्याइनसकेको मात्रै हो। मनोनयन दर्तासम्म हामी छलफलमा हुन्छौँ। तर भएन भने मनोनयन दर्ताका लागि आवश्यक कुरा हामीले तयारी गरिसकेका छौं। 

एक्लै जाँदा त अप्ठारो पर्ला नि?
गाह्रो त अवश्य पनि पर्छ। जित्छौँ भनेर एकदमै दम्भ लिएर गएकालाई पनि आफ्नो वास्तविकता थाहा हुन्छ नि! 

एक्लै जाने निर्णय भएपछि एकीकृत समाजवादीले प्रदेश सरकार पनि छाड्छ कि?
अहिले हामी सरकारबाट हट्दैनौँ। ३० गतेपछि जे नतिजा आउँछ। त्यसपछि सरकारमा बस्ने या छाड्नेबारे सोचिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .