अन्तर्वार्ता


महामन्त्री भएँ भने कांग्रेसको सपना र मिसन ब्युँताउँछु : गगन थापा (अन्तर्वार्ता/भिडिओ)

महामन्त्री भएँ भने कांग्रेसको सपना र मिसन ब्युँताउँछु : गगन थापा (अन्तर्वार्ता/भिडिओ)

गगन थापा कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार घोषणा गर्ने पहिलो नेता हुन् (तस्बिरः विक्रम राई)

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्ने पहिलो नेता हुन्, गगन थापा। यसअघि महामन्त्रीको प्रत्यासी बनिसकेकाले कतिपयले उनी सभापतिकै दाबेदार हुन सक्ने अनुमान पनि गरेका थिए। तर यसपाली महामन्त्री बनेर नेपालको पुरानो पार्टी कांग्रेसमा जोश भर्दै अर्को पटक संभवतः सभापतिमा दाबी गर्ने तयारीमा छन् थापा। 

‘साथीहरुले तँ महामन्त्री बन्, एक्कैचोटी उत्ताउलो भएर सभापतिमा उम्मेदवारी दिने होइन भने’, गगन थापाले यो अन्तर्वार्ताको क्रममा महामन्त्री पदमा आफ्नो उम्मेदवारीको कारण खोल्दै भने। महाधिवेशनको सेरोफेरोमा कांग्रेस नेता गगन थापासँग नेपालखबरले गरेको वार्ताको सम्पादित अंश : 

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ। यो फिर्ता लिने खालको हो कि कायम रहने उम्मेदवारी हो? 
म अघिल्लो महाधिवेशनमा महामन्त्रीको प्रत्यासी भएँ। त्यो बेलामा यस्तो अनुमान धेरैको थियो- अहिले घोषणा भयो, पछि फिर्ता गर्छ भनेर। त्यो बेलामा त फिर्ता गरिनँ भने अहिलेको उम्मेदवारी त स्वाभाविक पनि हो। 

र, पार्टीका साथीहरु जो–जो भोलिको मतदाता भएर आउँदै हुनुहुन्छ, यो मलाई उहाँहरुको मार्गनिर्देशन पनि हो, मप्रतिको शुभेच्छा पनि हो। त्यसैले यो पटकको महामन्त्रीको परिणाम उहाँहरुको हातमा छ। उम्मेदवारी मेरो हातमा रहेका कारण यो उम्मेदवारी रहन्छ नै। 

कांग्रेसमा धेरै वटा समूह देखिन्छन्। तपाईं कुन समूहबाट महामन्त्रीको उम्मेदवार?
पहिले म मेरो कामनाको कुरा गर्छु। मैले पहिलेदेखि नै के भन्दै आएको हो भने नेपाली कांग्रेस पार्टीले बेलायतको संसदीय व्यवस्थाको धेरै अनुसरण ग¥यो, तर एउटा कुरा छुटायो।

त्यो के हो भने पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्दा जो महाधिवेशनमा पराजित हुन्छ, उसले छाड्छ। अर्को, पार्टीको सभापति जसको नेतृत्वमा आमनिर्वाचनमा जान्छ, निर्वाचन हार्यो भने उसले पनि छाड्छ। बेलायतका दलहरुले यो अभ्यास गर्छन्। जुन हामीले गरेनौँ। त्यो अनुसरण गरेको भए अहिले हाम्रो पार्टीका सभापति, वरिष्ठ नेता, कृष्णप्रसाद सिटौलाजस्ता नेताले छाडिसकेको अवस्था हुन्थ्यो। यो कुरा हुनुपर्थ्यो।

अझै पनि मेरो चाहना र कामना के हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले यो अधिवेशनमा म प्रतिस्पर्धा गर्दिनँ, रामचन्द्र दाइले पनि हामी यो अधिवेशनमा प्रतिष्पर्धा गर्दैनौँ, उमेरका हिसाबले पनि अब हामी अभिभावक हुन्छौँ भन्नुपर्छ। 

प्रधानमन्त्री देउवाको सन्दर्भमा त अझै १७–१८ महिना उहाँको नेतृत्वमा सरकार चल्छ। उहाँलाई असफल बनायौँ, उहाँलाई कमजोर बनायौँ भने त्यसको ठूलो भार हामीले पनि चुकाउनुपर्छ। उहाँसँग प्रतिस्पर्धा गर्दा भोलि परिणाम उहाँको अनुकूल आएन भने पार्टीलाई घाटा हुन्छ। त्यसकारणले गर्दा पनि उहाँले प्रतिस्पर्धा गर्नु हुँदैन। 

त्यस्तो भयो भने पार्टीभित्र ५–६ जना अरु नेताबीच प्रतिस्पर्धा हुन्छ। उपसभापतिले गर्नुहोला, महामन्त्रीले गर्नुहोला। पूर्वउपसभापतिले गर्नुहोला, पूर्वमहामन्त्रीले गर्नुहोला। त्यो बेला कोही एक जना छानौँला। जोसँग आफ्नो कुरा मिल्छ, मन मिल्छ। भोलिको सम्भावना हुन्छ भने हेरौँला। एउटा सम्भावना यो हो।

अर्को सम्भावना के छ भने हामी फेरि पुरानो गुटगत अवस्थामा फर्किन सक्छौँ। त्यो अवस्थामा फर्किंदै गर्दा मेरो प्रयास के हुन्छ भने १२ औँ महाधिवेशनमा एक ठाउँमा रहेर १३ औँ महाधिवेशनमा अलग–अलग रहने अवस्था बनेको रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासम्मको टिम हामी एक ठाउँमा उभिने। हामीहरु एक ठाउँमा उभियौँ र शक्ति निर्माण गरौं। त्यसो गर्दा उहाँहरुमध्ये नै कोही सभापति हुनुपर्छ भन्ने पटक्कै होइन। जो पनि हुन सक्नुहुन्छ। एक जना सभापति बनाऔँ र एउटा समूह निर्माण गरौँ। त्यो समूह बनाऔँ भन्ने हुन्छ। र, त्यो समूहबाट महामन्त्री लड्ने मेरो दोस्रो प्रयत्न रहन्छ। 

सिटौला समूह र पौडेल समूहलाई मिलाउन लामो समयदेखि प्रयासरत देखिनुहुन्छ। भदौ १७ गते पौडेल समूहको पत्रकार सम्मेलनमा देखिएपछि तपाईंले सिटौला समूह छाडेको चर्चा पनि भयो। यी दुई समूहलाई जोड्न कत्तिको सम्भव छ?
यो सम्भावना एकदमै छ। भदौ १७ मा प्रेस कन्फ्रेन्स भएको कारणले गर्दा कति साथीहरुको लागि मेरो उपस्थिति अलि अस्वाभिक लागेको हुन सक्छ। तर, त्यो खालको कोठाको बैठकमा त म तीन वर्षदेखि सहभागी भइरहेको छु त। तपाईंहरु एकै ठाउँमा बस्नु पर्छ भनेर त मैले तीन वर्षदेखि लगातार भन्दै आएको छु। कृष्ण सिटौला दाइसँग त झन् स्वाभाविक रुपमा हुने नै भएँ। उहाँसँगै बसेर काम गर्दै आएको छु। 

त्यसैले अहिले पनि नेताहरु सबैसँग कुराकानी गरिरहेका छौँ। मेरो पहिलो प्रयास वा इच्छा भन्नुस्, एक तहको नेताहरु सबैको ‘ग्रेसफुल एक्जिट’ हुनुपर्छ। उहाँहरुले अब प्रतिस्पर्धा गर्न अरुलाई छाडिदिए हुन्छ भन्ने हो। 

दोस्रो, १३ औँ महाधिवेशनमा जो हामी सेकेन्ड र थर्ड पोल भयौँ, त्यसलाई एकै ठाउँमा ल्याउने प्रयास केही वर्षदेखि गरिरहेका छौँ। कहिलेकाहीँ हुँदैन कि भन्ने जस्तो लाग्छ। कहिलेकाहीँ थाकिन्छ पनि। तर, फेरि उठ्यो फेरि लाग्यो। तर, अन्तिम समयसम्म यसको प्रयास गर्ने हो। 

सिटौलाले पौडेल समूह त एक ठाउँमा आउन सकिरहेको छैन, यो अवस्थामा म त्यो समूहमा गएर मिल्नुको औचित्य छैन भन्दै आइरहनुभएको छ। सभापतिमा उहाँले पनि दाबी गरिरहनुभएको छ। यस्तोमा दुई समूह कसरी मिल्ला र?
मैले तपाईंले राख्नु भएको प्रश्न र कृष्ण दाइसँग भनिरहेको कुरा जोड्न मन लागेर आयो। तीन–चार जना हुनुहुन्छ, मिलिरहेको छैन भनेर उहाँले भनिराख्नुभएको छ नि, म उहाँलाई जहिल्यै के भन्छु भने तपाईंको उपस्थितिले झन् मिल्छ। तपाईंको उपस्थितिले विग्रह बढ्ने होइन, मिल्छ।

किन मिल्छ भने तीन–चार जना उम्मेदवारको प्रतिस्पर्धी भएको ठाउँमा न्यायोचित ढंगबाट को उम्मेदवार हुनका निम्ति योग्य छ र कुन कारणले भनेर तपाईंले जसको पक्षमा मुख खोल्नु हुन्छ, उसैको पल्ला भारी भइहाल्छ। किनकि हामी त तपाईंको साथमा छौँ।

एक प्रकारले भन्ने हो भने कृष्ण दाइले भन्ने कुरा त्यहाँ निर्णायक हुन जान्छ। उहाँले यी नेताहरु (सभापतिका आकांक्षी) मध्ये ल है म र रामचन्द्रजी दुवैले प्रतिस्पर्धा नगर्ने। अब तपाईंहरुमध्ये फलानो भयो भने सबैलाई समेटेर लैजान सक्छ भन्नुभयो भने त्यो माहोल बनिहाल्छ। कृष्ण दाइ आएर विग्रह होइन, साझा उम्मेदवार बन्ने अवस्था छ। यसका लागि तपाईंको भूमिका हुनुपर्छ भनिरहेको छु। 

पाका नेताहरुले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ भन्दै आउनुभएको छ तपाईंहरुले। तर, महाधिवेशनमा युवा भनिएका नेताहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। युवा मिलेको भए बुढाहरुलाई विदा गर्न सकिन्थ्यो होला नि?
मैले त्यो स्थिति नदेखेकै हो। त्यसको कारण छ। अघिल्लो पटकको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्दा मैले म उम्मेदवार भनेको होइन। मैले सबै युवा साथीहरुको बीचमा हामीमध्ये एक जना महामन्त्रीको उम्मेदवार बनौँ। मभन्दा तपाईंहरु सिनियर हुनुहुन्छ, तपाईंहरुमध्येबाट एक जना उम्मेदवार बन्नुस्। तपाईंहरुमध्ये जो बन्नुहुन्छ, म उसको झोला बोक्छु। यसपाली हस्तक्षेप गर्नैपर्छ। छिर्न नपाए पनि ढोका ढक्ढकाउनै पर्छ। ढक्ढकाएन भने त हामी छौँ भन्ने पनि थाहा पाउँदैनन् भनेर मैले भनेको हुँ। 

तर, कोही तयार हुनुभएन। तयार नभएपछि म आफैँ प्रत्यासी भनेको हुँ। त्यो बेला मैले कसैको साथ पाइनँ। त्यो बेला मैले महामन्त्रीमा इच्छा देखाएँ र निर्वाचित भएर आएको थिएँ भने सायद यस पटक म सभापति पदको आकांक्षी हुन्थेँ होला। 

अर्को, गत आम निर्वाचनमा हामीले अनपेक्षित परिणाम बेहोर्यौँ। त्यो बेला पनि हामीले पार्टीलाई ठूलो क्षति भयो, अब पार्टीको सभापति, वरिष्ठ नेतालगायतले विश्राम लिनुपर्छ। त्यसका लागि सामूहिक पहलकदमी लिनुपर्छ भन्यौँ। 

पार्टीको विशेष अधिवेशन गराएर पहल कदमी लिऔँ भनेर साझा प्रयास पनि ग¥यौं। त्यो टिकेन। साथीहरुले आ–आफ्नो छनौट गर्नुभयो। त्यसपछि म देश घुमेँ। सभापति बन्नका लागि तयारी पनि गरेँ। साथीहरुसँग कुराकानी पनि गरेँ। 

यो बीचमा मैले अर्को अनुभव गरेँ– महाधिवेशनमा आउने साथीहरु जो–जो हुनुहुन्छ, उहाँहरुले यो पटक मलाई दिएको जिम्मेवारीअनुसार म महामन्त्री हो। उहाँहरुले तँ महामन्त्री बन्, यस पटक हामी बनाउँछौं, जुनसुकै गुटबाट भए पनि हामी भोट हाल्छौँ, मदत गर्छौँ भन्नुभयो। तर, उहाँहरुले स्पष्ट के भन्नुभयो भने एक्कैचोटी उत्ताउलो भएर सभापतिमा उम्मेदवारी दिने होइन।

सबैको क्याल्कुलेसन छ। मतदातामा एक पटक यी युवाहरुलाई महामन्त्रीको जिम्मा दिएर यिनीहरुलाई योग्य बनाउनुपर्छ। यिनीहरुको परीक्षा लिनुपर्छ। यिनीहरु अझै परिपक्व भइसकेका छैनन्। यिनीहरुलाई हेर्नुपर्छ भन्ने बुझाइ छ। यो मेरो बारेमा भनेको हो, अरुको पनि आ–आफ्नो अनुभव होला। 

पार्टीको सभापति बन्नुभन्दा अगाडि यिनीहरुले एउटा–एउटा जिम्मेवारी लिएर यिनीहरुको कार्यसम्पादन हेर्नुपर्छ भन्नेमा महाधिवेशन प्रतिनिधिहरु रहेको पाएको छु। त्यही साथी मलाई महामन्त्रीमा भोट हाल्न तयार छ, सभापतिमा भोट हाल्न तयार छैन। त्यही साथी १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा मलाई भोट हाल्न तयार थियो तर, १३ औँमा महामन्त्रीमा भोट हाल्न तयार भएन। 

महामन्त्रीको उम्मेदवारका रुपमा तपाईंका एजेन्डा के हुन् त?
महामन्त्रीको विधानले तोकेका केही जिम्मेवारी छन्। विधानले के भन्छ भने पार्टीको विचारको पक्ष निर्माण गर्ने काम महामन्त्रीको हो। 

२००६ सालमा नेपाली कांग्रेस बन्यो। त्यो बेला यत्रो पार्टी कार्यालय पनि थिएन। लाखौं कार्यकर्ता पनि थिएनन्। केही पनि थिएन नि। तर, पार्टीमा जीवन थियो। पार्टीमा रङ थियो। पार्टीको अर्थ थियो। त्यो तत्व त्यहाँ थियो। किन थियो भने– पार्टीको प्रत्येक कार्यकर्तासँग एउटा मिसन थियो। पार्टीको मिसन नै उसको मिसन थियो। के गर्ने– राणाशाही फाल्ने। सपना थियो त्यो। 

सांसद, मन्त्री कांग्रेस बनेका थिएनन्। हेर्नुस् त ३३–३४ वर्षकाले पार्टी खोलेको छ, पार्टीमा ज्यान दिएको छ। अहिले २०७८ सालमा आइपुग्दै गर्दा भवन छ, संरचना छ। लाखौँ कार्यकर्ता छ। मिसन के छ? सपना नै छैन। 

त्यसैले के भन्छु भने महामन्त्रीको रुपमा म नेपाली कांग्रेस पार्टीलाई नयाँ ढंगले त्यो पुरानो अवस्थाको कांग्रेस, ००६ सालको कांग्रेस बनाउन चाहन्छु। जो सँग एउटा मिसन, सपना थियो। 

अहिलेको संविधानले गरेको जुन बाचा छ, त्यो पुरा गर्ने मिसन कांग्रेसको हो। त्यो मिसनसँग म जोडिएको छु। र, हाम्रो सपना पुरा हुँदै गर्दा नेपाल यहाँ पुगेको हुन्छ भन्ने कुरा जुन छ, त्यो मिसन, सपना म कांग्रेससँग पनि जोड्न चाहन्छु। यो भयो एउटा।

दोस्रो, नेपाली कांग्रेसको महामन्त्रीको अर्को काम के रहेछ भने समसामयिक विषयमा पार्टीको निर्णय लिँदै गर्दा प्रस्ताव गर्ने। अहिले यसो हेर्दा राजनीतिक मोर्चा होस् कि सामाजिक मोर्चा, कांग्रेस एउटा कुनामा छ। सानो स्वरमा बोल्छ। पहिले अर्कोले निर्णय गर्छ, अनि बल्ल कांग्रेस बोल्छ। 

म हेर्छु, कतिपय विषयमा लफंगाहरुले कांग्रेसका बारेमा हजार कुराहरु भनेका हुन्छन्। त्यो राष्ट्रियताकै मुद्दा होस् वा अरु अनेकन् मुद्दामा। यो नगरेको पापको भारी कांग्रेसले बोक्नुपर्छ। 

कुनै कुरा समयमा निर्णय गर्न नसक्दा, कुनै निर्णयका बारेमा राम्रोसँग कम्युनिकेट गर्न नसक्दा। कतिपय निर्णयमा अनावश्यक रुपमा डराउँदा पनि पार्टीले क्षति बेहोर्नु परेको छ। म महामन्त्री बनेपछि समसामयिक राजनीतिक र अरु विषयमा कांग्रेसले लिड गर्छ। कांग्रेस अग्रणी शक्ति हुन्छ। कांग्रेस कसैको पिछलग्गु हुँदैन। कसैको पुच्छर हुँदैन। 

तेस्रो, महामन्त्री भनेको संगठक हो। पार्टीमा हजारौं–लाखौं नौजवानहरु जो अहिले मतदाता भएका छन्, म तिनीहरुलाई कांग्रेस बनाउँछु। बोलेर, भनेर, सदस्यता काटेर कांग्रेस बनाउने होइन। माथितिर फर्किएको पार्टीलाई गाउँतिर, जनतातिर फर्काएर, एकाकार गराएर, जसरी हामीहरु कांग्रेस भयौं, त्यसरी कांग्रेस बनाउने हो। मलाई कांग्रेस बन्न प¥यो भनेर कोही सदस्यता दिन आएका होइनन्, आफैँ कांग्रेस बनेको हो। 

अन्तिम कुरा भनेको पार्टीको व्यवस्थापन हो। व्यवस्थापन हिजोको तरिकाले हुँदैन। १० लाख सदस्य भएको पार्टी, जसका हजारौँ मान्छे जनप्रतिनिधि छन्। सयौँ मान्छे सांसद छन्, निर्वाचनमा यसले भाग लिन्छ। यसका लागि मोडर्न म्यानेजमेन्ट स्किल र टेक्निक चाहिन्छ। म महामन्त्री भएको नेपाली कांग्रेसमा अहिलेको जस्तो बेथिति, बेहाल हुन्न। यत्ति मान्नुस्। 

एमालेको सरकार ढलेपछि तपाईंले भन्नु भएको थियो– ‘अब सरकार कसरी चलाउनु पर्छ, हामी देखाउँछौँ।’ तर, सरकार गठन भएको दुई महिना बितिसक्यो, मन्त्रिपरिषद विस्तार भएको छैन। यसरी नै चल्ने हो सरकार? 
तपाईंले प्रश्न गर्दैगर्दा मलाई नरमाइलो लागेको छ। मलाई यतिखेर सरकारको बारेमा सोधिएको प्रश्नमा छाती फराकिलो बनाएर वान, टु, थ्री यो ग¥यौँ, यो ग¥यौँ भन्न मन छ। मेरो आशा थियो र छ, मेरो प्रधानमन्त्री शेरबहादुर देउवाले १५–१७ महिना जुन सरकार चलाउनुहुन्छ, त्यो जसरी हामी बीपी कोइरालाको सरकारलाई सम्झिन्छौँ, त्यसैगरी सम्झिने सरकार यो पनि बनेर जाओस् भन्ने चाहना छ। 

त्यस कारणले पनि मभित्र अझ बढी आक्रोश छ। म चिन्तित पनि छु। मैले यो कुरा तपाईंको अगाडि मात्र होइन, स्वयम् प्रधानमन्त्रीका अगाडि पनि राखेको छु। जसरी यो अवधिमा सरकार चलेको छ, तपाईंले हामीलाई निराश बनाउनु भएको छ भनेर प्रधानमन्त्रीलाई भनेको छु।    

गठबन्धनमा रहेका दलहरुका आफ्ना बाध्यताहरु होलान्। आमजनतालाई त्योसँग सरोकार छैन। यो बेला मेरो नेता प्रधानमन्त्री हुनुहुन्छ। माधव नेपालले मन्त्रीहरुको नाम दिनुभएन, त्यसको भारी उहाँले बोक्नु पर्छ। तर, हामीले कांग्रेसबाटै जाने मन्त्रीहरु नबनाउँदा त अपजस हामीले बोक्नु परेको छ। 

दार्चुला काण्ड भनौँ। दार्चुला घटनामा गृहमन्त्रीले जे गर्नुभयो, सही गर्नुभयो नि। समिति पठाउनुभयो, प्रतिवेदन बनाउनुभयो। पत्राचार गर्नुभयो। तर, यो सबै कुरामा समयमै निर्णय नगर्दा र गरेको निर्णयलाई राम्रोसँग कम्युनिकेट गर्न नसक्दा लफंगाहरुले यसको बारेमा कुरा गर्न पाएका छन्। 

अघिल्लो सरकार चलाएका साथीहरुले यसका बारेमा कत्रो ठूलो–ठूलो कुरा गर्न पाउनुभएको छ। मेरो उहाँहरुप्रति कुनै टिप्पणी होइन। उहाँहरुले त भन्न पाउने नै हो। तर, त्यो मौका अनावश्यक रुपमा पाउनुभयो। 

हामी पूर्ववर्ती सरकारका मान्छेहरुलाई अनावश्यक मसला दिइरहेका छौँ। उहाँहरुलाई अनावश्यक कन्टेन्ट हामी दिइरहेका छौँ। गर्नुपर्ने काम समयमा नगर्नु पर्दा, नगर्नु पर्ने काम गर्दा, गरेको काम कम्युनिकेट गर्न नसक्दा उहाँहरुले निहुँ पाउनुभएको हो।  

जसरी हामीले सरकार चलाइ रहेका छौँ, यो पटक्कै ठीक भइरहेको छैन। तपाईंले प्रश्न सोध्नुभयो, मैले त गजबले सरकार चलाउन पाइन्छ भनेर त्यो कुरा भनेको हुँ। यसको अर्थ फेरि सबै कुरा बिग्रियो, भत्कियो भन्ने होइन। केपी ओलीको पालामा यस्तै भएको थियो। तर, हनुमानहरुले जिन्दावाद, जिन्दावाद सरकार चलेको सही छ भन्दै गर्दा अन्तिममा न सरकार रह्यो, न पार्टी रह्यो। 

हामी शेरबहादुर देउवाको अवस्था त्यस्तो नहोस् भन्ने चाहन्छौँ। हामी शेरबहादुर देउवाका असल कार्यकर्ता हौँ। त्यसकारण के भन्छौँ भने सही भएको छैन। सम्माननीयज्यू सही भएको छैन। तपाईंको वरिपरी बस्ने मान्छेहरुले के भनिरहेका छन् थाहा छैन। अलिकति फराकिलो ढंगले हेर्नुस्। जे भइरहेको छ, ठीक भइरहेको छैन। पत्याउनुस्।

भिडिओः

भदौ ३१, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .