ग्लोबल


भारतीय कंग्रेसको दाबी: राहुल गान्धीलाई गोली हान्ने धम्की दिइयो

भारतीय कंग्रेसको दाबी: राहुल गान्धीलाई गोली हान्ने धम्की दिइयो

राहुल गान्धी


नेपालखबर
फागुन ७, २०८२ बिहिबार १५:१२, काठमाडौँ

‘करणी सेना’का एक कार्यकर्ताले आफ्ना नेता राहुल गान्धीलाई गोली हान्ने धम्की दिएको दाबी भारतीय कंग्रेसले गरेको छ। 

त्यसो त भारतीय कंग्रेसका प्रवक्ता पवन खेराले बिहीबार गोली हान्ने धम्की दिएको भिडिओ नै सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन्।

खेराले लेखेका छन्, ‘पूरा आरएसएस-बीजेपी प्रणाली 'गोडसे कारखाना' हो। करणी सेनाले राहुल गान्धी र '२५ सांसद'विरुद्ध दिएको धम्की फरक घटना होइन। यो एक सुनियोजित र भ्रामक षड्यन्त्रको अंश हो।’

उनले अगाडि लेखेका छन्, ‘कट्टरपन्थीले यस्तै काम गर्छन्। पहिले झुट सिर्जना गर्छन् अनि राजनीतिक अधिकारीहरूले त्यसलाई बढावा दिन्छन्, जबसम्म तिनका अनुयायी घृणा र हिंसाका भावनाले भरिँदैनन्। त्यसैले गोडसे सिर्जना गरिएको थियो। आज अर्को गोडसे सिर्जना भइरहेको छ।’

भिडिओ सार्वजनिक भएपछि कोटा प्रहरीले आरोपित राजा अमेरालाई पक्राउ गरेको छ।

तर आरोपित राजा अमेरासँग कुरा गर्दा उनले भिडिओबारे कुनै जानकारी नभएको दाबी गरेको दैनिक भास्करले उल्लेख गरेको छ।

उनले भने, ‘विपक्षीले नक्कली आईडी प्रयोग गरेर भिडिओ बनाएका हुन्। म सनातनसँग जोडिएको छु। म देशलाई हिन्दु राष्ट्र बनाउन चाहन्छु।’

भाइरल भिडिओमा के छ?

भिडिओमा करणी सेनाको दाबी गर्ने एक व्यक्तिले भारतीय संसद्‌मा रहेको लोकसभा अध्यक्ष ओम बिरलाको कक्षमा भएको घटना उल्लेख गरेका छन्। ती व्यक्ति कोटाको उद्योग नगरका निवासी राज अमेरा भनेर चिनिएका छन्। उनी करणी सेनाका डिभिजनल प्रवक्ता हुन्, जसलाई तीन दिनअघि मात्र नियुक्त गरिएको थियो।

राज अमेराले भनेका छन्, ‘२५ जना विपक्षी सांसदले ओम बिरलाविरुद्ध देखाएको अपमान सहन सकिन्न। यो सबैका लागि राहुल गान्धी जिम्मेवार छन्।’

राहुल गान्धी भारतीय लोकसभामा विपक्षी दलका नेता हुन्। 

राज अमेराले भिडिओमा भनेका छन्, ‘म चेतावनी दिन्छु- यदि यस्तो घटना फेरि भयो भने हामी ती २५ सांसदको घरमा तोडफोड गर्नेछौँ र राहुल गान्धी, कृपया सुन्नुहोस्- हामी घरमा पसेर तपाईंलाई गोली हान्नेछौँ। यसका लागि प्रशासन जिम्मेवार हुनेछ। म ती २५ सांसदविरुद्ध कारबाहीको माग गर्दछु।’ 

रिजिजुले देशलाई भ्रमित पारे: खेरा
धम्कीपूर्ण भिडि‌ओ सेयर गर्दै पवन खेराले लेखेका छन्, ‘पहिले किरेन रिजिजुले झुट बोले। उनले कंग्रेस सांसदहरूले लोकसभामा ओम बिरलाको अपमान गरेको दाबी गरेर देशलाई भ्रमित पारे। त्यसपछि भाजपा सांसदहरूले राहुल गान्धी भारतको राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठुलो खतरा भएको दोहोर्‍याउन थाले। यो विपक्षीलाई बदनाम गर्न र राहुल गान्धीविरुद्ध विशेष गरी उनका विरुद्धमा भएको हिंसालाई वैध बनाउने सुनियोजित अभियान हो।’

यस्तो छ ओम बिरला विवाद
यही फेब्रुअरी ११ मा भाजपाले २०/२५ जना कंग्रेस सांसदले सभामुख ओम बिरलाको कक्षमा प्रवेश गरेर उनलाई दुर्व्यवहार गरेको दाबी गर्‍यो। र, आरोप लगायो- त्यहाँ प्रियंका गान्धी र वेणुगोपाल उपस्थित थिए, तर सांसदहरूलाई रोक्नुको सट्टा उल्टै दुर्व्यवहार गर्न उक्साए।

पछि विपक्षीले ११८ सांसदको हस्ताक्षरसहित सभामुख ओम बिरलाविरुद्ध अविश्वास प्रस्ताव पेस गर्‍यो। 

स्रोतको दाबीअनुसार अब सभामुख ओम बिरला लोकसभा (संसद्‌) मा उपस्थित हुने छैनन्। अविश्वास प्रस्ताव अस्वीकार भएपछि मात्र उनी सभामुखको कुर्सीमा बस्नेछन्।

विपक्षीको अविश्वास प्रस्तावमा मार्च ९ मा सदनमा छलफल हुने सम्भावना छ। फेब्रुअरी १३ तारिख बजेटसत्रको वर्तमान सेसनको अन्तिम दिन थियो। अब संसद् बैठक मार्च ८ मा पुन: बस्नेवाला छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad