ad ad

ग्लोबल


पाकिस्तानको त्यो क्षेत्र, जहाँ नदीबाट अवैध रूपमा निकालिन्छ सुन

पानीबाट कसरी निकालिन्छ सुन?
पाकिस्तानको त्यो क्षेत्र, जहाँ नदीबाट अवैध रूपमा निकालिन्छ सुन

इस्लाम गुल आफरिदी
पुस ११, २०८० बुधबार १६:३६, काठमाडौँ

बिहानको घाम लाग्नेबित्तिकै खैबर-पख्तुनख्वाको नौसेहरा जिल्लाको निजामपुर तहसीलका ३० वर्षीय सइद मुहम्मद र उनका साथी वकास ड्युटी सकिएपछि घर फर्कने तयारी गरिरहेका छन्।

कडा चिसोमा फोहोर लुगा, शरीरमा पुरानो च्यातेको कोट र खुट्टामा प्लास्टिकको चप्पल लगाएर यस्तो अवस्थामा आबासिन नदीको बालुवा छानेर सुन निकाल्ने काम गर्छन्।

सईद मोहम्मदले दैनिक ज्याला १५ सय रुपैयाँ पाउँछन् तर यो काम गैरकानुनी भएकाले खतरामुक्त छैन भन्ने पनि उनलाई थाहा छ।

नौसेहराका डेपुटी कमिस्नर ख़ालिद खटकले बीबीसीलाई बताएअनुसार निजामपुरमा पछिल्लो २ वर्षदेखि ठूलो मात्रामा सिन्ध वा आबासिन नदीमा ठूलो मेसिनको सहयोगमा सुन निकाल्ने काम भइरहेको छ, तर कसैलाई पनि यसो गर्ने अनुमति छैन। 

नौसेहराको जहांगिरा क्षेत्रको जनसंख्या करिब ३ लाख छ। यहाँका मानिसको आम्दानीको स्रोत सैनिक सिमेन्ट कारखाना, सुरक्षा निकायमा रोजगारी र यातायातमा कडा श्रम हुन्।

तर, पछिल्ला दुई वर्षमा गाउँ भएर बग्ने सिन्धु नदीबाट सुन निकासीले स्थानीय स्तरमा व्यापारको अवसर बढेको छ।

स्थानीय जनता कुनै न कुनै रूपमा यो व्यवसायमा संलग्न छन् तर तपाईं पत्रकारका रूपमा कुरा गर्न खोज्नुभयो भने उनीहरू तपाईंलाई कुनै सरकारी संस्थाको कर्मचारी ठानेर बोल्दैनन्। 

साथै उनीहरू यो काम गैरकानुनी रूपमा भइरहेको र यसमा ‘ठूला व्यक्ति’ संलग्न रहेको पनि बताउँछन्।

मेसिन भाडामा लिएर नदीबाट निकालिन्छ सुन 


अख्तर जान (नाम परिर्वतन) ६ महिनादेखि भारी मेसिनरी भाडामा लिएर नदीबाट सुन निकाल्ने काममा व्यस्त छन्।

निजामपुरका एकजना साथीले केही पैसा ल्याएर दिनमा लाखौँ कमाउन सकिन्छ भनी सल्लाह दिएकाले त्यही काम सुरु गरे पनि धेरै समस्या भोग्नुपरेको उनले बताए।

अख्तर जानका अनुसार उनले सुरुमा मासिक चार लाख रुपैयाँमा तीनवटा साना एक्साभेटर मेसिन भाडामा लिएका थिए भने २० जना कामदार पनि राखेका थिए। यसपछि खोला किनारको बालुवाबाट काम सुरु गरिए पनि सुनको मात्रा कम भएकाले हप्तामा १५ देखि २० लाख रुपैयाँ घाटा हुन थाल्यो। 

यसपछि साना मेसिनको सट्टामा पञ्जाबबाट मासिक १८ लाख भाडामा तीनवटा ठूला एक्साभेटर ल्याइएको उनले बताए। जुन एक्साभेटरले खोलाको बीचबाट बालुवा उठाउने क्षमता राख्छ। यो कदमले आम्दानी पनि बढेको उनको भनाइ छ। तर यसबारे थप भन्न उनले मानेनन्।
यसअघि निर्माण क्षेत्रमा आवद्ध सइद उल्लाह (नाम परिवर्तन) ले पनि ८ महिनाअघि चार करोडको हेभी मेसिनरी किनेर आधा आम्दानी दिने सर्तमा स्थानीय ठेकेदारलाई सुन निकाल्ने जिम्मा दिए। 

तर सुरुका दुई महिनामा केही कमाउन नसकेको र त्यसमाथि प्रहरीले छापा मारेर डेढ करोडको मेसिनरी जफत गरी ५ मजदुरलाई पक्राउसमेत गरेको उनले बताए। अदालतबाट धरौटीमा सबै मजदुर रिहा भए पनि मेसिन भने अझै प्रहरीसँगै रहेको उनको भनाइ छ।

उनका अनुसार यो कामका क्रममा सरकारको कडा कारबाही, खोलामा मेसिन डुब्नेलगायत धेरै समस्या छन्, तर पनि कसरी यो काम छाड्ने?

सुन उत्खनन रोक्ने प्रयास 
नौसेहरा जिल्लाको सिन्धु नदीबाट अवैध सुन उत्खनन रोक्न खनिज विभाग र जिल्ला प्रशासनले संयुक्त रूपमा कारबाही गरिरहेका छन्।

खालिद खट्टकले बीबीसीलाई बताएअनुसार काबुल र नौसेहरा हुँदै जाने सिन्धु नदीबाट अवैध रूपमा सुन उत्खनन लामो समयदेखि चलिआएको प्रचलन हो, तर भारी र आधुनिक मेसिनरीको प्रयोग २०२२ मा सुरु भएको हो भने यो वर्ष यसमा उल्लेख्य वृद्धि भएको छ। 

उनले अवैध सुनको उत्खनन रोक्न निजामपुरको सिमेन्ट कारखानानजिक प्रहरी र खनिज विभागको संयुक्त चेकपोस्टसमेत स्थापना गरी खनिज विभागको आग्रहमा कारबाही भइरहेको बताए।

उनका अनुसार गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध ८ सय ५८ मुद्दा दर्ता भएका छन् भने हालसम्म ८२५ जना पक्राउ परेकाबाट ७० लाख ‍(भारु) जरिवाना असुलिएको छ। 

उनले १२ एक्साभेटर, सातवटा सवारी साधन र २० वटा मोटरसाइकल समेत बरामद गरिएको जानकारी दिए।

सरकारको हर प्रयासका बाबजुद नदीबाट सुन उत्खनन गर्ने क्रम घट्नुको सट्टा दिनानुदिन बढ्दै गएको छ।

खालिद खट्टकका भनाइमा यो अवैध कारोबार रोक्न दैनिक कारबाही भइरहेको छ, तर त्यसको लिज वा लिलामीतर्फ पहल गर्ने मुख्य जिम्मेवारी खनिज विभागको हो, जसले राष्ट्रिय खानी बचाउन र घाटा हुनबाट बचाउन सक्छ। 

डेपुटी कमिस्नर खालिद खट्टकले सुन निकाल्ने ठाउँ नौसेहरा सदरमुकामबाट धेरै टाढा रहेको र पुग्नै मुस्किल पर्ने ठूलो क्षेत्रमा यस्ता क्रियाकलाप हुने गरेको बताए। 

उनले भने, ‘जबसम्म सम्बन्धित संस्थाले कानुनी रूपमा उत्खनन सुरु गर्दैन, तबसम्म यो अवैधानिक प्रक्रिया जारी रहनेछ।’

यस सम्बन्धमा प्रदेश खनिज विभागका महानिर्देशकलाई सम्पर्क गर्ने प्रयास गरे पनि उनबाट कुनै प्रतिक्रिया आउन नसकेको बीबीसीले उल्लेख गरेको छ। 

तर नाम नबताउने सर्तमा उक्त संस्थाका एक वरिष्ठ अधिकारीले नौसेहरा र स्वाबी जिल्लामा खोलाको पानीबाट अवैध सुन उत्खनन गर्ने प्रक्रियाबारे संस्था सचेत रहेको तर त्यहाँ रहेको सुनको भण्डारको मात्रा र उत्खननमा संलग्न व्यक्तिबारे कुनै जानकारी नभएको दाबी गरे। 

नदीको पानीबाट सुन निकाल्ने गैरकानुनी गतिविधिविरुद्ध निरन्तर अभियान चलिरहेको भएपनि यसमा संलग्न व्यक्ति हजारौँको संख्यामा रहेकाले जिल्लाभर ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अवस्था रहेको बताउँछन्, नौसेहरा प्रहरीका एकजना वरिष्ठ अधिकृत। 

पोलियो अभियान र अहिले निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका गतिविधि बढेसँगै प्रहरीको जिम्मेवारी पनि बढेको उनको भनाइ छ।
उनका अनुसार कारबाहीका क्रममा गोली तथा ढुंगा हानाहानसम्म भइरहेका छन् भने गिरफ्तारीबाट बच्न सुन उत्खननमा संलग्न धेरै जना डुंगाको सहारामा पन्जाब प्रान्तको अर्काेतर्फ भाग्ने गरेका छन्।

कब्जामा लिइएका ठूला मेसिनरीहरू प्रहरी चौकीमा लैजान ठूलै समस्या परेकाले त्यहाँ अलपत्र परेको उनले बताए।

निजामपुरको सिन्धु नदीबाहेक जहांगिरा र स्वाबी जिल्लाको कुन्द पार्क नजिकका क्षेत्र तथा पन्जाबको एटकमा रहेको सिन्धु नदीको पानीबाट पनि अवैध सुन उत्खनन सुरु भएको छ।

काबुल नदीबाट अवैध रूपमा बालुवा, गिट्टी र सुन उत्खनन रोक्न र यस क्षेत्रका समस्या समाधान गर्न दुई महिनाअघि जहाँगिरामा स्थानीय वृद्धाहरूको ग्रान्ड जिर्गा गठन गरिएको थियो।

जिर्गा प्रमुख रिफत उल्लाहले बीबीसीलाई बताएअनुसार नदी किनारका स्थानीय बासिन्दाको सैयौँ  एकड जंगलले ढाकेको सार्वजनिक जग्गा छ, जहाँ कतिपय ठाउँबाट निर्माण सामग्री निकालिएको छ, तर जिर्गाको निर्णयअनुसार ती व्यक्तिलाई मात्र त्यहाँ काम गर्न दिइन्छ, जसले खनिज विभागबाट अनुमति पाउँछन्। 

उनले भाडामा लिने कानुनअनुसार सरकारलाई कर र स्वामित्वबापत स्थानीयलाई रकम बुझाउने गरेको बताए, तर नदीबाट अवैध नाफा लिनेहरूसँग जिर्गाले गोप्य सम्झौता गरेको आरोप अस्वीकार गरे।

उल्लेखनीय कुरा के छ भने यो अवैध व्यवसायमा संलग्न व्यक्तिहरूको बारेमा सरकारी निकायसँग कुनै तथ्यांक छैन। 

पानीमा सुन कहाँबाट आउँछ?
पेशावर विश्वविद्यालयको भूविज्ञान विभागका एसोसिएट प्रोफेसर डा. असगर अलीको पर्यवेक्षणमा सन् २०१६ मा स्नातक विद्यार्थीहरूले स्वात र काबुल नदीमा सुन रहेकोबारे अनुसन्धान पूरा गरेका थिए।

उनका अनुसार सिन्धु नदी र काबुल नदीको संगमस्थलमा जियोफिजिकल सर्भे गरिएको थियो, नदी किनारको तीन मिटर गहिराइमा विभिन्न तहमा सुनको मात्राबारे मूल्यांकन गरिएको थियो। जसमा सतहको तुलनामा जति गहिराइ बढ्दै गयो उति सुनको मात्रा पनि बढ्दै गएको पाइयो। 

उनले पानीबाट सुन निकाल्ने धेरै अवसर रहेको तर यसका लागि प्रभावकारी उपाय आवश्यक रहेको बताए। 

प्राध्यापक डा. असगर अलीले तीनवटा चट्टानमध्ये एउटा इग्सन  लाभाका रूपमा विभिन्न प्रकारका धातु निस्किएपछि हिमनदी तोडफोड, भारी वर्षा र बाढीका कारण पहाड र जमिन कटान हुँदा पानीमा मिसिँदै बग्ने गरेको बताए। उनले सुन भारीधातुमध्येको एक भएकाले यो पृथ्वीको तल्लो तहमा बस्ने बताए।

उनका अनुसार पानीमा सुनको कण बढी जम्मा हुने तीनवटा ठाउँ छन्, एउटा पानीको दिशा परिवर्तन हुने ठाउँमा, दोस्रो बाँधमा र तेस्रो दुई नदीको संगममा।

उनका अनुसार अट्टकमा काबुल र सिन्धु नदीको संगम र निजामपुरस्थित सिन्धु नदीमा यस्तो ठाउँ छ, जहाँ सुन मात्र होइन, अन्य बहुमूल्य धातु पनि पानीमा ठूलो मात्रामा पाइन्छ।

पानीबाट कसरी निकालिन्छ सुन?
निर्माण कार्यका लागि काबुल नदी र सिन्धु नदीबाट निकालिएको बालुवा र गिट्टीमा सुनलगायत बहुमूल्य धातुका कण भए पनि पानीबाट छुट्याउने कुनै विधि नहुँदा खेर जाने गरेको डा असगर अली बताउँछन्।

उनका अनुसार निजामपुर र अन्य क्षेत्रमा ठूलो परिमाणमा आपूर्ति हुने बालुवा वास्तवमा सिन्धु र काबुल नदीबाट ल्याइन्छ। 

पानीबाट सुनको कण छुट्याउन नदीको किनारमा ठूला–ठूला फलामका चाल्नो राखिन्छ, मेसिनरीको सहयोगमा ठूलो मात्रामा नदीका बालुवा, माटो र ढुंगा खन्याएर पानीले राम्रोसँग धोइन्छ। 

यस प्रक्रियाका कारण ठूला ढुंगा जालीको माथिल्लो भागमा र बालुवाका ससाना कण तल्लो भागमा रहेको कार्पेटमा खसेर अड्किन्छन्।

यो प्रक्रिया धेरै घण्टासम्म चलिरहँदा गलैँचालाई बेरेर एउटा ठूलो फलामको भाँडोमा राखिन्छ र पानीको सहायताले सुनको कणबाट बालुवा छुट्याइन्छ।

उनका अनुसार अन्तिम चरणमा त्यसमा पारा (धातु) मिलाउँदा सुनका सबै कण टाँसिने र सुन प्राप्त हुन्छ भने आगोमा पग्लिएर त्यसबाट बाक्लो सुन निकालिन्छ।

विश्वका दुई ठाउँ अफ्रिकी सहर जोहानेसबर्ग र अमेरिकाको क्यालिफोर्निया राज्यमा पानीबाट ठूलो परिमाणमा सुन निकाल्ने गरिएको डा. असगर अलीले बताए।

उनले खैबर पख्तुनख्वाका विभिन्न ठाउँका पानीमा ठूलो मात्रामा सुन रहेको तर यसका लागि अनुसन्धान र आधुनिक प्रविधिको आवश्यकता रहेको बताए।

उनका अनुसार अवैध उत्खनन रोक्दा सरकारी कोषलाई मात्रै फाइदा पुग्दैन, ठूलो संख्यामा नागरिकलाई आम्दानीको अवसर पनि प्राप्त हुन्छ। 

यसरी नदीबाट निकालिने सुन स्थानीय बजारमा पठाइने र यो उच्च गुणस्तरको सुन हुने डा. असगर अलीको भनाइ छ। बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .