ad ad

ग्लोबल


अध्यक्षको उम्मेदवारीलाई सबैखाले तयारी छ: कुमार पन्त (अन्तर्वार्ता)

अध्यक्षको उम्मेदवारीलाई सबैखाले तयारी छ: कुमार पन्त (अन्तर्वार्ता)

नेपालखबर
साउन ६, २०७६ सोमबार ७:१४,

 गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त जर्मनी आधारित होटल व्यवसायी हुन्। युरोपका सफल नेपाली उद्यमी उनले नेपालमा बैंक, इन्स्योरेन्स, सिमेन्ट र जलविद्युत्सहितका क्षेत्रमा लगानी गरेका छन्। गैरआवासीय नेपालीले १० अर्बको संयुक्त कोष बनाएर नेपालमा लगानी गर्ने प्रक्रिया अघि बढाइरहँदा पन्त सो विषयमा सरकारी पक्षसँग छलफल गर्न जुलाईको दोस्रो साता काठमाडौंमा थिए। एनआरएनएको ग्लोबल सम्मेलन आउन तीन महिना बाँकी छँदै अध्यक्ष पदका लागि चर्चामा रहेका उनीसँग नेपालखबरले लगानी र एनआरएनएको भावी नेतृत्व विषयमा गरेको वार्ताः

लगानी सम्मेलनमा गैरआवासीय नेपालीले १० अर्ब लगानी कोष खडा गर्न सरकारसँग एमओयु नै भएको थियो। काम अघि बढ्न किन ढिला भइरहेको हो?
अहिले हामी कम्पनी दर्ता प्रक्रियामा छौं। नेपालको प्रशासनिक प्रक्रिया पनि अहिलेको अहिलै कम्पनी बनाउने किसिमको छैन। त्यसैले पनि केही समय लागेको जस्तो परेको होला। हामी कामको प्रक्रियामा लागिरहेकै छौं। फेरि हामीले भनेजस्तो लगानी कोष बनाउन विद्यमान कानुन परिमार्जन गर्नुपर्ने रहेछ। त्यसैले सबै कुराहरु मिलाउन केही समय लागेको हो। अबको एक दुई महिना भित्र कम्पनी निर्माण भइसक्ला। त्यसपछि अरु प्रक्रिया अघि बढ्नेछन्।

तपाइँहरुले कम्पनीलाई सुरुमै आइपिओमा लान चाहनुभएको छ। विद्यमान नेपाल कानुनले ३ वर्ष भएपछि मात्र जान पाउने भनेको छ। यो गाँठो फुकाउन के प्रयास गर्नुभएको छ?
यो विषयमा मन्त्रिपरिषदले निर्णय गरेर बाटो फुकाउनु पर्ने रहेछ। हामी यो विषयमा सरकारसँग छलफलमै छौं। यो कम्पनीले नाफा हुने ठाउँ जहाँ देख्छ त्यहाँ लगानी दिनुपर्छ भनेर पनि भनिरहेका छौं। फेरि हामीले यो कम्पनीको शेयर गैरआवसिय नेपाली साथीहरुले मात्र लिन पाउने प्रावधान राख्न चाहेका छौं। गैरआवसीय नेपालीले हामीलाई आवश्यक सफिसियन्ट फन्ड जुटिसक्यो अब बाँकी रकम नेपाली जनतासँग सहकार्य गर्न चाहन्छौं भन्ने स्थितिमा मात्र अन्तबाट लगानी आउनसक्ने प्रावधान बनाउन चाहेका छौं।

तपाइँले सरकारका मान्छेहरुसँग यो विषयमा कुराकानी गर्नुभएको छ त?
मैले केही दिन अगाडि मात्रै यो विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा.युवराज खतिवडासँग छलफल गरेको छु। प्रधानमन्त्री र अर्थमन्त्री यसमा सकारात्मक हुनुहुन्छ। सरकारले यो प्रस्ताव अघि बढाउन पनि पनि त्यहाँ प्रक्रिया पुग्नु पर्ने रहेछ। छिटै प्रक्रिया पूरा गरेर यो विषयमा मन्त्रिपरिषदले निर्णय गर्नेछ भन्ने मेरो विश्वास छ।

kumar panta1कुमार पन्त

दश अर्बको कोषले एउटा ठोस योजना निर्माण गर्न सकिन्छ। कुन क्षेत्रमा लगानी गर्ने तयारी गर्नुभएको छ?
हामीले पूर्वाधार संरचनामा लगानी गर्नुपर्छ भनेर जोड दिइरहेका छौं। नेपालमा अहिले ठूला परियोजना निर्माणका लागि बजेटको खाँचो छ। पर्यटन क्षेत्रकै कुरा गर्नुहुन्छ भने त्यसलाई हिमालसँग कसरी व्यवस्थितसँग जोड्ने? विमानस्थलको कुरा गर्नुहुन्छ भने कसरी नयाँ अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण गर्ने भन्ने विषय छन्। ठूला ठूला जलविद्युत् परियोजना निर्माणका लागि पनि छलफल भइरहेको छ। १२–१५ सय मेगावाटका जलविद्युत् परियोजनामा लगानी गर्ने कि भनेर पनि सोच बनाइरहेका छौं। लगानीकर्ताले राम्रो मुनाफा पाउन सक्नेगरी पूर्वाधार क्षेत्रमा लगानी हुन्छ। कृषि, स्वास्थ्यमा पनि छलफल भइरहेको छ।

यो कोष निर्माण गरी कम्पनी अप्रेसनमा जानुपर्ने अवस्थामा यसको नेतृत्व कसले गर्नेछ? त्यसको केही मोडालिटी बनेको छ?
तपाइँको आसय कोही नेता, मन्त्रीका आफन्त वा एनआएनएभित्रबाटै कसैले यो कम्पनीको नेतृत्व गर्ला कि भनेजस्तो देखियो। तर त्यस्तो हुने छैन। हामी एनआरएनएका कोही पनि यसको अप्रेसनमा बस्ने छैनौं। यसको नेतृत्व दक्ष जनशक्तिले गर्नेछ। प्रतिस्पर्धात्मक रुपमाबाट हामीले कम्पनीमा सिइओ भित्र्याउनेछौं। सम्बन्धित क्षेत्रमा ज्ञान, सीप भएका मानिसहरुले यसलाई सञ्चालन गर्नेछन्। हामी भनेको बाहिरबाट फिडब्याक दिने र अन्य साथीहरुसँग संयोजन गर्दिने मात्र हो।

नेपालमा तपाइँको लगानी कुन कुन क्षेत्रमा छ? त्यो लगानीले कस्तो प्रतिफल दिइरहेको छ?
नेपालको कानुन, शासन पद्धति र प्रशासनिक प्रक्रिया सबै बुझेको हुनाले हामी गैरआवासीय नेपालीलाई लगानी गर्न नेपालमा सजिलो छ। मेरो लगानी नेपालमा खासगरी संयुक्त लगानीकर्ताको रुपमा सेवा क्षेत्र र पूर्वाधार परियोजनामा भएको छ। जलविद्युत्, सिमेन्ट, बैंक, इन्स्योरेन्सको प्रतिफल उत्साहजनक छ।

अलिकति प्रसंग बदलौं। तीन महिनापछि हुने एनआरएनएको ग्लोबल सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ। सहमतिमा नेतृत्व छानिन्छ वा निर्वाचन हुन्छ?
आजको मितिमा भन्नुपर्दा ८० प्रतिशतभन्दा धेरै सम्भवना सहमतिबाटै नेतृत्व चयन हुनेछ। वर्तमान अध्यक्ष भवन भट्ट एवं पूर्व अध्यक्षयहरु सबै एनआरएनएलाई सहमतिबाट अघि बढाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। एनआरएनएको बलियो एकता लागि र सबैलाई समेट्ने हो भने सहमति जरुरी पनि देखिएको छ। त्यो एकताको आवश्यका पूर्ति गर्न सहमतिमा जानुपर्छ भन्ने अधिकांश साथीहरुको भनाइ छ।

तपाइँले सहमतिको कुरा गरिरहँदा बजारमा वर्तमान अध्यक्ष भवन भट्ट नै उम्मेदवार बन्ने चर्चा छ। अर्का उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। अब यस्तो स्थितिमा कसरी सहमति बन्ला त?
गैरआवासीय नेपाली संघको इतिहास हेर्ने हो भने भोट हाल्ने लाइनबाट ५—७ मत खसी सकेपछि पनि सहमति भएका उदाहरण छन्। हाम्रो चुनाव आउन अझै ३ महिना बाँकी छ। ८० वटा देशहरुमा एनसीसी भएको, ७०—७५ हजार पञ्जिकरण सदस्य भएको यति ठूलो संस्थामा साथीहरुले आकांक्षा देखाउनु, उम्मेदवारी दाबी गर्नु स्वभाविक हो। गतिशीलताको लागि यो हुनु पनि पर्छ। तर बुझ्नु पर्ने कुरा के हो भने यो प्रराम्भिक चरण हो। यसमा साथीहरु जुन इच्छा आकांक्षा राख्नु भएको मैले देखिरहेको छु त्यसलाई मैले अन्यथा ठानेको छैन।

kumar panta2कुमार पन्त

सहमतिमा जाने हुँदा को को नेतृत्वमा जाने भनेर छलफल, बैठकहरु भइरहेका होलान्। कसरी जाने भन्ने तयारी छ?
एनआरएनए भनेको एउटा सामाजिक संस्था हो। यो कसरी चल्छ भनेर यसका विशेष डाइनामिक्स छन्। अनुभवी साथीहरुले सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने मत देखिएको छ। यही अवधारणालाई ध्यानमा राख्दै सहमति बनाउन प्रयास भइरहेको छ।

सहमतिमै जानुपर्छ भनेर जोड गर्नुका पछाडि कुनै विशेष कारण छ कि?
चुनाबमा एउटा पक्षले जित्छ, अर्कोले हार्छ। चुनाबमा जाँदा मत विभाजन भएर कहिले कहीँ सानो संख्याको समर्थन पाउनेले पनि जितेका उदाहरण छन्। नेतृत्वमा सहमति भए त्यसले आगामी दिनमा संस्थालाई एकबद्ध भएर अघि बढ्न र सहमतिमा काम अघि बढाउन सहज हुन्छ भन्ने साथीहरुको भनाइ छ। फेरि एनआरएनए सबैको हो यहाँ सबै अँटाउनुपर्छ भन्ने दर्शन कार्यान्वयन गर्न पनि सहमति बन्नुपर्छ।

अघिल्लो चुनाबको परिदृश्य हेर्दा जमुना गुरुङले नेतृत्व गरेको प्यानलमा जनजाति बहुल देखिन्थ्यो। उहाँहरुको प्यानल अधिकांश सिटमा पराजित हुँदा वर्तमान कार्यसमितिमा एउटा ठूलो तप्का बाहिरै पर्‍यो। यो पक्षलाई तपाइँले कसरी हेर्नुभएको छ?
एकदम सान्दर्भिक विषय उठाउनुभयो। अहिले गैरआवासीय नेपाली संघ यो अवस्थामा आउनुमा जनजाति साथीहरुको ठूलो भूमिका छ। विशेष योगदान छ। उहाँहरु हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो। अहिले आगमी नेत्वतको कुरा चलिरहँदा यो विषयमा हामी सचेत छौं। सबै जात र सबै क्षेत्रका मानिसहरु एकताबद्ध भएर जानु पर्छ भन्ने कुरामा सबै सहमत हुनुहुन्छ।

अध्यक्षको स्वभाविक प्रत्यासी तपाइँ हुनुहुन्छ। तपाइँले नै सहमतिको यो रटान लगाइरहँदा चुनाबबाट भाग्न खोजेजस्तो देखियो नि?
सहमतिको आवाज मेरो होइन यो गैरआवासीय साथीहरुको मत मैले सुनाइरहेको हो। पछिल्लो समय सबैतिरका गैरआवासीय नेपालीमा सहमतिमा अघि बढ्नुपर्छ भन्ने भावना देखिन्छ। विगतका तितामिठा अनुभवले पनि होला अरु कारणहरुले गर्दा पनि हुनसक्छ। उहाँहरुले सहमतिको नेतृत्व (अध्यक्ष) का लागि मलाई अघि बढ्नुपर्छ भनिरहनु भएको छ। मेरो हकमा भन्नुहुन्छ भने सहमति हुन्छ भने सहमति सही, चुनाब हुन्छ भने चुनाब सही, दुवै सामना गर्न म तयार छु। चुनाबदेखि डराउनु पर्ने अवस्था मेरो होइन। यो साथीहरुको आवाज प्रतिविम्बित गर्न प्रयास गरेको मात्रै हो। म अहिलेसम्म भएका सबै चुनाबहरु जित्दै दोस्रो पटक उपाध्यक्षमा छु। अघिल्लो चुनाबमा सबैभन्दा बढी लोकप्रिय मत मेरै थियो। त्यसैले चुनाबदेखि डराउनु पर्ने, भाग्नुपर्ने मेरो अवस्था होइन। अध्यक्ष पदको उम्मेदवारीका लागि सम्पूर्ण तयारी मसँग छ।

नेपालमा सांसदको उम्मेदवारभन्दा एनआरएनए एउटा आइसीसी सदस्यको उम्मेदवारले गर्ने खर्च बढी हुन्छ भन्ने भनाइ सुनिन्छ। एनआरएनएको चुनाब किन यति बिघ्न खर्चिलो बन्दै गएको हो?
यसमा म गणितीय रुपमा जान चाहन्न। हाम्रो नेपाली समाजमा चुनाव भन्ने बित्तिकै रमाउने, उत्सव मनाउने प्रवृत्ति देखिन्छ। त्यसकै प्रतिविम्ब एनआरएनएमा परेको हो कि जस्तो लाग्छ। स्वभाविक रुपमा हामीभित्र केही विकृति छन्। यो हामी सबैले देखे, अनुभव गरेको विषय हो। पछिल्लो समय एनआरएनए चुनाव धेरै भड्किलो भयो यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सबैले अनुभव गरिरहेका छन्। यस्तो खालको भड्किलो चुनाव गर्नहुन्न भन्ने साथीहरुको व्यपक चासो र चिन्ता छ। पैसाले मतदाता प्रभावित पारेर नेतृत्व आउँदा भोलि संस्था गलत बाटोतिर जाला कि भन्ने ठूलो चिन्ता छ। यो विकृति हटाउनुपर्छ भने मेरो धारणा हो।

तपाइँ एनआरएनएमा संलग्न भएको दुई दशक पुग्न लाग्यो। यसमा हुने चुनाबलाई दलगत राजनीतिले कति प्रभाव पार्छ? अरु पक्षहरुको प्रभाव कुन डिग्रीको हुन्छ?
राजनीतिक दलहरुले गैरआवसिय नेपाली संघलाई प्रभावित पार्न सधैँ प्रयास गर्छन्। राजनीतिक प्रभाव देखाएर नेतृत्व लिन सकिन्छ कि भनेर विगतमा कसै कसैले प्रयास गरेका पनि थिए। तर ती सबै असफल भएका दृष्टान्त छन्। व्यवहारत हेर्ने हो भने राजनीतिले एनआरएनए चुनाबमा खासै प्रभाव पार्दैन। सबै साथीहरुलाई थाहा छ यो सामाजिक संस्था हो। यसमा व्यक्तित्व, काम, योगदानकै अर्थ बढी रहन्छ।

kumar panta3कुमार पन्त

वर्तमान अध्यक्ष भवन भट्ट र तपाइँबीच लिखित सहमति भएको भन्ने चर्चा अघिल्लो निर्वाचनमा सुनिएको हो। अहिले आएर उहाँले त्यो लिखित सहमति उल्लंघन भइसक्यो, नयाँ अवस्थामा नयाँ कुरा हुन्छ भनिरहनु भएको छ नि?
त्यो हामी दुईबीचको नितान्त व्यक्तिगत सहमति हो। यसले एनआरएनएका साथीहरुबीच खासै ठूलो अर्थ राख्दैन। व्यक्तिगत रुपमा हामी दुवैले एक अर्कालाई सहयोग गर्ने भनेर सहमति भएको हो। अहिले आएर केही साथीहरुले त्यो पालना हुँदैन रे भनेर मलाई पनि सुनाउनुहुन्छ। तर मलाई त्यसमा विश्वास छैन। मान्छे विभिन्न मुडमा हुन्छ, त्यतिबेला के बोल्यो भन्ने कुराले ठूलो अर्थ राख्दैन। जतिबेला पनि उहाँ (भवन भट्ट) सँग नेतृत्वको विषयमा कुरा हुँदा अबको नेतृत्व तपाइँ नै हो, मैले अघि सारेका एजेण्डाहरु पूरा गर्ने सक्ने भनेकै तपाईले हो भन्ने गर्नुभएको छ। मलाई पटक पटक भनिरहेको यो विषयमा अविश्वास गर्नुपर्ने कुनै कारण देख्दिनँ।

त्यो सहमति पत्र लिखित हो? के के उल्लेख छ?
त्यो नितान्त व्यक्तिगत सहमति हो। लिखित, मौखिकतिर नजाऊ। उहाँ र मेरोबीचको कुरा भएको हुनाले यसमा धेरै नजाऊ होला।

वर्तमान अध्यक्षका कतिपय अभिव्यक्ति विश्लेषण गर्दा नेतृत्व परिवर्तन हुने समयमा उहाँ आफैँ आकांक्षी बन्ने वा अर्का प्रत्यासीसँग सहमति बनाउने सम्भावना पनि देखिन्छ। यो परिस्थितिको मूल्यांकन गर्नुभएको छ?
उहाँले मलाई पटक—पटक अबको नेतृत्व तपाइँ हो भनेर भनिरहनु भएको छ। सर्वसम्मतिबाटै तपाइँ आउनुपर्छ भनिरहनु भएको छ। त्यही भएर मैले अघि सहमतीय नेतृत्वको कुरा गरेको हुँ। उहाँप्रति मेरो विश्वास छ। यो पटकको नेतृत्व म हो भन्ने कुरामा उहाँ पनि कन्फ्युजनमा हुनुहुन्न। मैले पनि त्यसैअनुसार सबै तयारी गर्दै गरेको छु। फरक परिस्थिति, फरक सन्दर्भमा बोलेका कुराहरु गणना गरिरहन जरुरी छैन।

नेपालीहरु देशबाहिर गएर व्यापारबाहेक बौद्धिकता, ज्ञान विज्ञानको क्षेत्रमा पनि ठूल्ठूला सफलता पाएका छन्। तर एनआरएनएमा व्यापारिक पृष्ठभूमिका व्यक्तिको मात्र बर्चश्व देखिन्छ। बौद्धिक जमात् तपाइँहरुबाट किन टाढिएको होला? अर्थात् तपाइँहरु त्यो जमातसँग किन जोडिन नसक्नु भएको हो?
हाम्रो चुनावी एजेण्डाहरुमा पुनःविचार गर्ने समय भएको छ। अहिले झन्डै ८० लाख भन्दा धेरै नेपालीहरु देश बाहिर बस्छन्। यसमा ठूलो प्रबुद्ध वर्ग पनि छ, अध्ययनशील वर्ग पनि छ। हाम्रो चुनाबी तडकभडक खर्च इत्यादि कारणले उहाँहरु संस्थामा अलि पछाडि पर्नुभएको हो कि भन्ने मैले महसुस गरेको छु। यसलाई चिर्नकै लागि भनेर २०१८ अक्टोबरमा नेपालमा एउटा ग्लोलबल नलेज कन्भेन्सन आयोजना गरिएको थियो। त्यसपछि संस्थाप्रति गैरआवासीय बौद्धिक साथीहरुको चासो केही बढेको महसुस गरेको छु। अहिलेका विकृति कम गर्ने बित्तिकै त्यस्ता साथीहरु आउनुहुन्छ भन्ने मेरो विश्वास छ।

अन्त्यमा मैले सोध्न छुटाएको र तपाइँलाई भन्न मन लागेको केही छ कि?
हामीले संस्थाभित्र देखिएका चुनाबी विकृतिलाई रोक्नु पर्ने देखिन्छ। काठमाडौं आएर १४ सय मान्छेले छानेको नेतृत्व एनआरएनएको प्रतिनिधि हुने कि यो दायरालाई अझ फराकिलो बनाउने भन्ने बहस सुरु गर्नुपर्ने अवस्था छ।अहिले प्रविधिको युग हो, सबैले आफू बसेको ठाउँबाटै भोट गर्न पाउने बनाउने हो भने अहिले देखिएका धेरै विकृति हट्नेछन्। एनआरएनए यो दिशातर्फ अघि बढ्नुपर्छ भन्ने मेरो भनाइ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .