बीबीसी भेरिफाईले अमेरिकाले अर्को विमानवाहक जहाज मध्यपूर्वतिर पठाइरहेको पुष्टि गरेको छ।
बीबीसी भेरिफाईका अनुसार, विश्वको सबैभन्दा ठुलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड बुधबार मोरक्कोको एट्लान्टिक तटनजिकै देखिएको हो।
त्यहाँ देखिएको ४८ मिनेटपछि त्यो युद्धपोत भूमध्यसागरतिर जाँदै गरेको देखिन्थ्यो। तर त्यो विमानवाहक जहाज अहिलेसम्म जिब्राल्टरको जलडमरुम पार गर्दै भूमध्यसागरमा प्रवेश गरेको देखिएको छैन।
जेराल्ड आर फोर्डबाट सञ्चालित विमान बिहीबार एट्लान्टिकमा फर्किरहेको ट्र्याक गरिएको थियो।
सोमबार बीबीसी भेरिफाईले शनिबार लिइएको उपग्रह तस्बिरमा अर्को विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन पहिचान गरेको थियो। युद्धपोत ओमानको तटबाट लगभग ७०० किलोमिटर टाढा र इरानबाट लगभग ४३० माइल टाढा थियो।
बीबीसी भेरिफाईले केही हप्तायता मध्यपूर्व क्षेत्रमा विनाशक, युद्धपोत र लडाकु विमानको संख्या बढिरहेको पत्ता लगाएको छ।
जेराल्ड आर फोर्ड र अब्राहम लिंकन दुवैले धेरैवटा गाइडेड-मिसाइल विनाशक मिलेर बनेको समूहको नेतृत्व गर्छन्। ती सञ्चालनमा ५ हजार ६०० भन्दा बढी कर्मचारी संलग्न छन् भने यिनले दर्जनौँ विमान बोक्छन्।
यसैबिच मंगलबार अमेरिका र इरानबिच स्विट्जरल्यान्डमा भएको दोस्रो चरणको वार्तामा केही प्रगति भएको रिपोर्ट गरिएको छ।
तर यहीबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्ने वा उसलाई सैन्य कारबाही गर्ने भन्ने कुरा सायद अर्को १० दिनमा संसारले थाहा पाउने बताएका छन्।
Shares

प्रतिक्रिया