गत जुन १२ तारिख भारतको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानका दुई पाइलटबीचको अन्तिम कुराकानी सम्बन्धमा एउटा नयाँ दाबी बाहिर आएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी अखबार वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे) ले विमानका क्याप्टेन सुमित सभरवालले इन्जिनमा इन्धन आपूर्ति बन्द गरेको रिपोर्ट गरेको छ।
डब्ल्यूएसजेले दुई पाइलटबीचको कुराकानीको ककपिट रेकर्डिङबाट यो खुलासा भएको दाबी गरेको छ।
आवाज रेकर्डिङमा बोइङ विमान उडाइरहेका को-पाइलट क्लाइभ कुन्दरले क्याप्टेन सुमित सभरवाललाई सोधेका छन्, 'तपाईंले इन्धन स्विच किन कटअफमा राख्नुभयो?'
यो सोधिरहँदा को-पाइलट कुन्दरको आवाजमा त्रास थियो तर क्याप्टेन सुमित शान्त देखिन्थे।
क्याप्टेन सुमित सभरवाल एयर इन्डियाको विमानका वरिष्ठ पाइलट थिए। उनीसँग १५,६३८ घण्टा उडान अनुभव थियो र सह-पाइलट क्लाइभ कुन्दरसँग ३,४०३ घण्टा उडान गरेको अनुभव थियो।
आफ्नो रिपोर्टमा वाल स्ट्रिट जर्नलले विमान दुर्घटनाको अनुसन्धान गर्ने अमेरिकी अधिकारीहरूको प्रारम्भिक अनुसन्धानसँग परिचित व्यक्तिहरूलाई उद्धृत गरेको छ।
रिपोर्टमा भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी), नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए), नागरिक उड्डयन मन्त्रालय, बोइङ वा एयर इन्डियाबाट कुनै प्रतिक्रिया आएको छैन।
यसअघि विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले जुलाई १२ मा विमान दुर्घटनाबारे आफ्नो प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरेको थियो। त्यसमा पनि इन्धन स्विचहरू अचानक रनबाट कटअफ स्थितिमा सरेको र जसले गर्दा दुवै इन्जिन बन्द भएको उल्लेख थियो।
यद्यपि प्रतिवेदनमा इन्धन स्विच कसरी बन्द भए भनेर व्याख्या गरिएको थिएन। प्रतिवेदनमा ककपिट भ्वाइस रेकर्डरमा एक पाइलटले अर्को पाइलटलाई इन्धन किन बन्द गर्नुभयो भनेर सोधेको सुनिएको तर अर्को पाइलटले आफूले त्यसो नगरेको जवाफ दिएको उल्लेख थियो।
जुन १२ मा अहमदाबादस्थित विमानस्थलबाट उडान एआई १७१ लन्डनका लागि उडेको केही समयपछि मेडिकल होस्टल भवनमा ठोकिँदै खसेको थियो।

दुर्घटनामा चालक दलका सदस्यसमेत विमानमा रहेका २४१ यात्रु र मेडिकल होस्टल भवनमा बसेका २९ जनाको गरी २७० जनाको मृत्यु भयो।
दुर्घटनामा विमानका एक यात्रु मात्र बाँच्न सफल भए।
Shares

प्रतिक्रिया