अमेरिकाको राजधानी वासिङ्टन डीसीमा दुई इजरायली दूतावास कर्मचारीलाई गोली हानी हत्यामा संलग्न आरोपमा पक्राउ परेका व्यक्तिलाई जुन १८ सम्मका लागि हिरासतमा राखिएको छ।
बीबीसीका अनुसार अभियुक्त शिकागोका ३० वर्षीय एलियास रोड्रिगेजलाई जुन १८ सम्म हिरासतमा राख्न अदालतले अमेरिकी प्रहरीलाई अनुमति दिएको हो।
स्थानीय समयअनुसार बुधबार राति ९:०८ बजे वासिङ्टन डीसीको क्यापिटल यहुदी संग्रहालयमा आयोजित कार्यक्रममा सहभागी भएर निस्किरहेका इजरायली दूतावास कर्मचारीद्वय यारोन लिस्चिन्स्की र सारा लिन मिलग्रिमलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। उनीहरू इन्गेजमेन्ट गर्नेवाला थिए।
गोली चलेलगत्तै घटनास्थलबाट रोड्रिगेजलाई पक्राउ गरिएको थियो। त्यस क्रममा उनले ‘फ्रि प्यालेस्टाइन’को नारा लगाएको प्रहरीको भनाइ छ।
ती व्यक्तिविरुद्ध हत्या र हतियार राखेको आरोप लगाइएको छ।
अमेरिकी वकिल जिनाइन पिरोले पत्रकार सम्मेलनमा त्यस आक्रमणलाई घृणा अपराधका रूपमा अनुसन्धान भइरहेको र थप आरोप दायर गर्न सकिने बताइन्।
उनले भनिन्, ‘यो मुद्दा मृत्युदण्डका लागि योग्य छ।’
एफबीआईले उक्त हत्यालाई "यहुदी समुदायविरुद्धको आतंकवादी, निर्देशित हिंसाको कार्य’ भनेको छ।
प्रहरीले बताएअनुसार ती युवकले कार्यक्रमबाट बाहिर निस्किरहेका चार जनामाथि गोली चलाएका थिए तर तीमध्ये दुई जनाको मृत्यु भएको हो।
Shares

प्रतिक्रिया