ग्लोबल


स्वदेश फर्कने शेख हसिनाको ‘संकेत’

स्वदेश फर्कने शेख हसिनाको ‘संकेत’

फाइल तस्बिर : शेख हिसना


नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:४४, काठमाडौँ

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले चाँडै स्वदेश फर्कने संकेत दिएकी छन्। यद्यपि उनले यस विषयमा स्पष्ट रूपमा केही भनेकी छैनन्। 

यस क्रममा उनले बंगालादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसलाई गम्भीर आरोप पनि लगाएकी छन्।

हसिनाले बंगलादेश एक ‘आतंकवादी देश’मा परिणत भएको टिप्पणी गरेकी छन्। यस्तै उनले बंगलादेशमा यो वर्षको अन्त्यमा चुनाव हुने सम्भावना रहेको दाबी पनि गरेकी छन्। 

सामाजिक सञ्जालमा अवामी लिगका नेताहरूसँग कुरा गर्दै हसिनाले भनिन्, ‘अल्लाहले मलाई कुनै कारणले जीवित राख्नुभएको छ। र, त्यो दिन छिट्टै आउनेछ जुन दिन न्याय हुनेछ।’

उनले अवामी लिगका सदस्यलाई निशाना बनाउनेलाई छिट्टै कारबाही गरिने दाबी पनि गरेकी छन्। हसिनाले अन्तरिम सरकार प्रमुख युनुसलाई ‘जनतालाई कहिल्यै माया नगर्ने व्यक्ति’ भएको आरोप लगाएकी छन्।

हसिनाले भनिन्, ‘उनी (युनुस) ले चर्को ब्याजमा थोरै ऋण बाँडे र त्यो पैसा विदेशमा विलासी जीवन बिताउन प्रयोग गरे। हामीले उनको द्वेध चरित्र बुझ्न सकेनौँ, त्यसैले हामीले उनलाई धेरै मद्दत गर्‍यौँ। तर, जनताले त्यसबाट केही फाइदा लिन सकेनन्। उनले आफ्ना लागि गरे। यसपछि उनी सत्ताको लालसामा परे, जसका कारण अहिले बंगलादेश जलिरहेको छ।’

हिन्दुस्तानका अनुसार उनले बंगलादेश अहिले ‘आतंकवादी देश’ बनेको बताएकी छन्। 

उनले भनिन्,  ‘हाम्रा नेता र कार्यकर्ताको यसरी हत्या भइरहेको छ, जसको वर्णन पनि गर्न सक्दैनौँ। अवामी लिग, प्रहरी, वकिल, पत्रकार, कलाकारलगायत सबैलाई निशाना बनाइएको छ। बलात्कार, हत्या, लुटपाटका समाचार आउँदैनन्। किनभने यस्ता कुरा रिपोर्टिङ गर्ने टीभी च्यानल र पत्रपत्रिकालाई निशाना बनाइन्छ।’

हसिनाले अगाडि भनेकी छन्, ‘अब उनीहरूले हामीलाई यो देश फर्कन दिइरहेका छैनन्। मान्छे गुमाउनुको पीडा मलाई थाहा छ। अल्लाहले मलाई सुरक्षित राख्नुभएको छ, किनकि सायद उहाँ मबाट केही राम्रो काम होस् भन्ने चाहनुहुन्छ। अपराध गर्नेलाई अवश्य सजाय हुन्छ। यो मेरो शपथ हो।’ 

बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भारत भाग्न बाध्य भएकी थिइन्। अहिले उनी भारतकै शरणमा छिन्। 

उनी भागेको ३ दिनपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad