अमेरिकाका नवनियुक्त रक्षामन्त्री पिट हेगसेथले युरोपको सुरक्षा अब अमेरिकाको प्राथमिक चासो नभएको बताएका छन्। युक्रेनको रक्षाका लागि अब युरोपले नै नेतृत्व लिनुपर्ने उनको भनाइ छ।
ब्रसेल्समा नेटोका रक्षामन्त्रीहरूसँगको बैठकमा उनले भने, ‘म यहाँ सिधै र स्पष्ट तरिकाले अभिव्यक्त गर्न चाहन्छु– कठिन रणनीतिक यथार्थले अमेरिकालाई प्रमुख रूपमा युरोपको सुरक्षामा केन्द्रित हुनबाट रोक्छ।’
‘अमेरिकाले आफ्नै मातृभूमिमा खतरा सामना गर्नुपरिरहेको छ। हामीले आफ्नो सीमा सुरक्षित राख्नमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ र गरिरहेका छौँ,’ उनले भने, ‘अमेरिकाले कम्युनिस्ट चीनका रूपमा यस्तो प्रतिद्वन्द्वीको सामना गर्नुपरिरहेको छ, जोसँग इन्डो–प्यासिफिक क्षेत्रमा हाम्रो मातृभूमि र हाम्रा प्रमुख राष्ट्रिय हितहरूमा खतरा ल्याउने क्षमता र मनसाय दुवै छ। अमेरिकाले प्यासिफिक क्षेत्रमा चीनसँगको युद्ध रोक्नुलाई प्राथमिकता दिइरहेको छ। अमेरिकाले अभावको यथार्थलाई पहिचान गरिरहेको छ र निरोध असफल नहोस् भनेर स्रोतसाधन त्यहाँ लगाउँदै छ।’
हेगसेथले युक्रेनको सीमा २०१४ मा रुसले क्रिमिया कब्जा गर्नुअघिको स्थितिमा फर्किने अपेक्षा गर्नु अवास्तविक हुने पनि बताए।
लडाइँको मैदानको यथार्थ मूल्यांकन गरेर मात्रै दिगो शान्ति स्थापना गर्न सकिने उनको भनाइ छ।
उनले युक्रेन नेटोमा सहभागी हुने र सुरक्षाका लागि अमेरिकी सेना भविष्यमा युक्रेनमा खट्ने सम्भावनालाई पनि नकारे।
‘रक्तपात रोकिनै पर्छ, यो युद्ध अन्त्य हुनै पर्छ,’ उनले भने, ‘हामी सार्वभौम र समृद्ध युक्रेन चाहन्छौँ। तर, त्यसको सुरुवात हामीले २०१४ अघिको युक्रेनी सीमामा फर्किने लक्ष्य अवास्तविक छ भन्ने पहिचान गरेर गर्नुपर्छ। यस्तो भ्रामक लक्ष्य पछ्याउँदा युद्ध मात्रै लम्बिन्छ र थप कष्ट हुन्छ।’
‘वार्ताको माध्यमबाट हुने समाधानको स्वाभाविक नतिजा युक्रेनको नेटो सदस्यता हो भन्ने अमेरिकालाई लाग्दैन,’ उनले थपे। एजेन्सी
Shares

प्रतिक्रिया