ग्लोबल


दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव भएन पास

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव भएन पास

फाइल तस्बिर: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल


नेपालखबर
मंसिर २३, २०८१ आइतबार ६:५६, सियोल

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ।

नेसनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावको प्रक्रिया रोकिएको हो। 

उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो।

शनिबार महाभियोग प्रस्तावका पक्ष वा विपक्षमा भएको मतदानमा राष्ट्रपति युनको पिपुल्स पावर पार्टी (पीपीपी) का तीन जना संसद् सदस्यबाहेक अन्यले मतदान बहिष्कार गरेपछि प्रस्ताव विफल भएको हो।

प्रस्ताव पारित हुन विपक्षी दलका १९२ सदस्यका साथै अन्य (सत्तारुढ दलका) ८ सदस्यले प्रस्तावका पक्षमा मतदान गर्नुपर्ने थियो तर पक्षमा तीन सांसदले मात्रै मतदान गरेको बताइएको छ। 

‘सैन्य कानुन’ लगाएकामा माफी मागेका राष्ट्रपति योललाई पदबाट हटाउन माग गर्दै दसौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए।

सैन्य शासन घोषणा गरेपछि दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नै दलका नेता समेतलाई पक्रन आदेश दिएको बताइएको छ।

तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगे पनि उनीहरूले युनलाई हटाउने प्रयास जारी राखिने बताएका छन्।

उनीहरूले राष्ट्रपति युनको बहिर्गमनको माग गरेका छन्। त्यसअघि युनले ‘सैन्य कानुन’ लागू गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका थिए। 

मङ्गलबार राति राष्ट्रपतिले घोषणा गरेको सैनिक शासन ६ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि विपक्षी दल (डेमोक्रेयाटिक पार्टी) ले संसद्‌मा उनीविरुद्ध महाभियोगको प्रस्ताव पेस गरेका थिए।

मतदान हुनुभन्दा पहिले राष्ट्रपति युनले टेलिभिजनमार्फत छोटो सम्बोधन गर्दै माफी मागेका थिए। 

“म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु,” युनले भने। 

मतदानमा विफल रहेपछि प्रतिक्रिया दिदैँ डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ।

तर राष्ट्रपति युनको पिपल्स पावर पार्टीले उसले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि ’सुव्यवस्थित र जिम्मेवार’ उपाय खोज्ने प्रतिक्रिया दिएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad