ad ad

ग्लोबल


सनक पूरा गर्न जुनसुकै हद नाघ्ने साउदीका युवराज, जो अमेरिकालाई पनि टेर्दैनन्

सनक पूरा गर्न जुनसुकै हद नाघ्ने साउदीका युवराज, जो अमेरिकालाई पनि टेर्दैनन्

जोनाथन रगम्यान
भदौ ९, २०८१ आइतबार ७:११,

जनवरी २०१५ मा साउदी अरबका ९० वर्षीय राजा अब्दुल्लाह बिन अब्दुल अजिज अस्पतालमा आफ्नो अन्तिम सास गिन्ती गरिरहेका थिए। उनका सौतेनी भाइ सलमान बिन अब्दुल अजिज अल साउद राजा बन्नेवाला थिए।

तर, सत्ताका लागि आफूलाई तयार गरिरहेका थिए सलमानका सबैभन्दा प्रिय पुत्र। छोटकरी नाम एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमान त्यतिबेला मात्र २९ वर्षका थिए। तर, कच्चा उमेरमा पनि उनीसँग देशका विषयमा निकै ठूलो योजना थियो। जसलाई साउदी अरबको इतिहासकै ठूलो योजना भन्न पनि सकिन्छ।

तर, उनी भयभीत थिए– कतै आफूविरुद्ध शाही परिवार भित्रैबाट षड्यन्त्र त रचिने होइन! त्यसैले एक दिन आधारातमा उनले एक वरिष्ठ सुरक्षा अधिकारीलाई आफ्नो महलमा बोलाए।

ती अधिकारी थिए साद अल जाबरी। उनको फोन बैठक कोठाबाहिरै टेबलमा राखियो। एमबीएसले समेत आफ्नो फोन बाहिरै राखे।

एमबीएस यति डराएका थिए कि उनले कोठाभित्रको ल्यान्डलाइन फोनको तार पनि थुतिदिए।

सो छलफलमा एमबीएसले साउदी अरबबारे विस्तृत योजना सुनाएको जाबरी बताउँछन्। उनको योजना थियो, निदाएको देशलाई जगाउने, साउदी अरबलाई विश्वमञ्चमा पुर्‍याउने र आफ्नो स्थान हासिल गर्ने।

एमबीएसले विश्वको सबैभन्दा बढी नाफा कमाउने अरामको तेल कम्पनीको सेयर बेचेर तेलमाथिको निर्भरता घटाउने र उबर सहित सिलिकन भ्यालीका स्टार्टअपहरूमा लगानी बढाउने योजना सुनाए।

त्यस्तै, साउदीका महिलालाई काम गर्ने स्वतन्त्रता दिने र ६० लाखभन्दा बढी नयाँ रोजगार सिर्जना गर्ने योजना पनि अघि सारे। 

एमबीएसको यस्तो योजना सुनेर जाबरी चकित परे। उनले सोधे– तपाईंको महत्वाकांक्षाको सीमा कहाँ हो?

एमबीएसले सिधै जवाफ दिए, ‘तपाईंले सिकन्दरको नाम सुन्नुभएको छ?’

दुईजनाको गुप्त छलफल समाप्त भयो। आधा घण्टाका लागि बसेका उनीहरू तीन घण्टापछि उठे। जाबरीको मोबाइलमा उनका सहकर्मीहरूको मिस्ड कल आएको थियो। उनी बाहिर निस्किए।

जाबरीको पकड साउदी अरबको संस्थापनमा यति भित्रसम्म थियो– उनले सीआईए र एमआई सिक्सका प्रमुखहरूसँग मित्रता गाँस्न भ्याएका थिए।

अहिले साउदी सरकार जाबरीलाई अविश्वसनीय मान्छ। तर, उनले दिएको अन्तर्वार्तामा साउदी युवराजका बारेमा दुर्लभ र सबैभन्दा ज्यादा जानकारी पाउन सकिन्छ।

साउदीका राजा यतिबेला निकै कमजोर छन्। त्यसैले ३८ वर्षीय एमबीएस यो इस्लामको जन्मभूमि र विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुकका वास्तविक शासक बन्न पुगेका छन्। जसले जाबरीले बताएका कयौँ महत्त्वपूर्ण योजनाको सुरुवात पनि गरिसकेका छन्।

सुधारका साथसाथै अभिव्यक्ति स्वतन्त्रता खोसेको, धेरैलाई मृत्युदण्ड दिएको, महिला अधिकारकर्मीहरूलाई जेल हालेको जस्ता मानव अधिकार उल्लंघनको आरोप उनीमाथि छ। 

राजा सलमान बिन अब्दुल अजिज अल साउद

अशुभ सुरुवात
साउदी अरबका प्रथम राजाले ४२ छोरा जन्माएका थिए। जसमध्ये एक थिए एमबीएसका बुवा। राजगद्दी राजाको छोरामा सर्दै जान्छ। तर, २०११ र २०१२ मा राजा अब्दुल्लाहका दुई छोराको अचानक मृत्यु भयो। जसका कारण सलमान उत्तराधिकारीको स्पर्धामा अगाडि आए।

पश्चिमा जासुसी संस्थाहरू साउदी अरबमा राजा को होला भन्ने विषयमा जानकारी बटुल्ने कोसिस गर्छन्। तर, कम उमेर र दुनियाँको नजरबाट टाढा भएकाले ती एजेन्सीको आँखामा एमबीएस परेकै थिएनन्।

२०१४ सम्म बेलायती जासुसी संस्था एमआई सिक्सका प्रमुख रहेको जोन सावर्स भन्छन्, ‘उनी गुमनाम हुर्किए। सत्तामा उनी पुग्लान् भन्ने सोचिएकै थिएन।’

एमबीएस दरबारमा हुर्किए। जहाँ गलत अचरणको सजाय समेत पाइँदैनथ्यो। उनी आफ्नो निर्णयको असरबारे सोच्दैनथे। उनको यस्तो बानी उनी किशोर छँदै खुलासा भएको थियो। उनलाई त्यतिबेला ‘गोलीको बाउ’ उपनाम दिइएको थियो।

किनकि उनले सम्पत्तिसम्बन्धी एक मुद्दामा उनको विरुद्धमा फैसला गर्ने न्यायाधीशलाई गोली उपहार पठाएका थिए।

‘उनमा एक प्रकारको क्रुरता देखिन्छ,’ सावर्स भन्छन्, ‘कसैले विरोध गरेको उनलाई मन पर्दैन। तर, त्यही कारणले उनले साउदीमा यस्ता परिवर्तन ल्याउन सके, जुन अहिलेसम्म कुनै शासकले गर्न सकेको थिएन।’

उनका अनुसार एमबीएसले विदेशी मस्जिदलाई पैसा दिन बन्द गरिदिए। जुन पश्चिमाहरूको टाउको दुखाइको विषय थियो।

एमबीएसकी आमा फहदा बेदोइन समुदायकी हुन्। उनी एमबीएसकी पिताका चार पत्नीमध्ये सबैभन्दा प्यारी थिइन्। राजालाई डिमेन्सियाको रोग छ। उनलाई कयौँ वर्षदेखि एमबीएसले सहयोग गर्दै आएको पश्चिमा कूटनीतिज्ञहरू बताउँछन्। पिताले बोल्ने कुरा बिर्सिने हुनाले एमबीएस आफ्नो नोटप्याडमा लेखेर पिताको आईप्याडमा पठाउँथे। त्यही हेरेर उनका पिता बोल्ने गर्थे।

एमबीएस आफ्नो पितालाई राजा बनाउन यति अधीर थिए, उनले २०१४ मा तत्कालीन राजा तथा उनका बडाबा अब्दुल्लाहलाई मार्नुपर्ने सुझाव समेत दिएका थिए। त्यो पनि रुसबाट प्राप्त विषालु औँठीमार्फत।

‘उनले गफ मात्रै गरेका थिए वा साँच्चै, भन्न सकिन्न,’ जाबरी भन्छन्, ‘तर, हामीले त्यसलाई गम्भीरतापूर्वक लियौँ। उनको गुप्त रूपमा रेकर्ड गरिएको भिडिओ पनि हेर्‍यौँ। जसमा उनी राजालाई मार्ने कुरा बताउँछन्। यही कारण उनलाई दरबारमा प्रतिबन्ध लगाइएको थियो, राजाको साथ हात मिलाउन पनि लामो समयसम्म प्रतिबन्ध नै लगाएको थियो।’

२०१५ मा राजाको मृत्यु भयो। त्यसपछि राजाका सौतेनी भाइ सलमान सिंहासनमा बसे। र, एमबीएस रक्षामन्त्री नियुक्त भए। लगत्तै कुनै समय खेर नफाली उनी युद्धमा हामफाले।

यमन युद्धसिर्जित भोकमरीमा लाखौँ मानिस पिल्सिएका थिए

अमेरिकालाई नटेरी यमन युद्ध
दुई महिनापछि नै एमबीएसले खाडी मुलुकहरूको गठबन्धन गरेर यमनमाथि हमला गरे। जसको अधिकांश हिस्सामाथि हुती विद्रोहीहरूले कब्जा जमाएका थिए। हुतीलाई उनी प्रतिद्वन्द्वी इरानको प्रोक्सी मान्ने गर्थे।

उनको यो लडाइँले लाखौँ मानिसलाई भोकमरीमा धकेलिदियो। 

‘त्यो बुद्धिमानीपूर्ण निर्णय थिएन,’ त्यतिबेलाका बेलायती राजदूत जोन जेन्किन्स भन्छन्, ‘एक वरिष्ठ अमेरिकी सैन्य कमान्डरका अनुसार उनीहरूलाई पनि आक्रमणको १२ घण्टाअघि मात्रै सूचना दिइएको थियो। जुन असामान्य कुरा हो।’

तर, यो लडाइँले उनलाई साउदी अरबको राष्ट्रिय नायकका रूपमा स्थापित गरिदियो। र, पहिलोपटक उनका कयौँ मित्रले ठूलो गल्ती भएको पनि स्वीकारे। 

यो घटनाले साउदी अरबको व्यवहारमा नयाँखाले बदलाव देखायो। परम्परागत रूपमा साउदीमा ढिला तर सहमतिमा निर्णय लिने चलन थियो। त्यसलाई तोडेर एमबीएसले झट्ट, अचम्मित तुल्याउने खालको र सनकका भरमा निर्णय लिन थाले। त्यस्तै, उनले अमेरिकाको अघि झुक्न अस्वीकार गरे। अझ भन्दा पछौटे मुलुकका प्रमुखलाई जसरी गरिने व्यवहार उनले सहन अस्वीकार गरे।

जाबरी त अझ एमबीएसले आफ्ना पिता राजाको हस्ताक्षर किर्ते गरेर पैदल सैनिक यमनमा उतार्ने आदेश गराएको दाबी गर्छन्। उनका अनुसार लडाइँ सुरु हुनुभन्दा अघि यसबारे ह्वाइट हाउसमा छलफल भएको थियो। 

तत्कालीन राष्ट्रपति बाराक ओबामाकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसान राइसले प्रस्ट शब्दमा भनेकी थिइन्, अमेरिकाले केबल हवाई आक्रमणलाई सहयोग गर्नेछ। तर, एमबीएस यति दृढ थिए, उनले अमेरिकालाई टेरेनन्।

‘उनले आफ्नो पिताको नक्कली हस्ताक्षर गरे र शाही फरमान जारी गराए। जसमा पैदल सेनाले आक्रमण गर्ने उल्लेख थियो। राजाको मानसिक स्थिति बिग्रिँदै गएको थियो,’ जाबरी भन्छन्।

यो कुराबाट रियादस्थित सीआईएका स्टेसन प्रमुख क्रुद्ध भएको जाबरीको भनाइ छ। सावर्स पनि आक्रमणको फैसला एमबीएसकै भएको बताउँछन्। तर, पछि राजाले त्यसलाई समर्थन गरेको उनको भनाइ छ।

डोनाल्ड ट्रम्पको पालामा राष्ट्रिय सुरक्षा परिषदमा काम गरेकी क्रिस्टेन फन्टेनरोज सीआईएले बनाएको एमबीएसको प्रोफाइल पढ्दा यस्ता कुरा उल्लेख नभएको बताउँछिन्।

‘त्यस्तो मान्छे कोही थिएन, जसको आधारमा उनको वर्गीकरण गर्न सकियोस्,’ उनी भन्छिन्, ‘उनीसँग असीमित स्रोत थियो। उनलाई कसैले नाइँ भनेको थिएन। उनी नयाँ पुस्ताको पहिलो युवा नेता थिए, जसलाई बुझ्न नसक्नेगरी हामी पाका भइसकेका छौँ।’

साल्भातोर मुन्डी पेन्टिङ

जो आफैँ नियम बनाउँछन्
एमबीएस कसरी सोच्छन्, जोखिम मोल्न कति तयार हुन्छन् भन्नेबारे २०१७ को एउटा घटनाले प्रकाश पार्न सक्छ। त्यसबेला उनले एउटा प्रसिद्ध पेन्टिङ किनेका थिए। यसले देखाउँछ, आफूले शासन गर्ने धार्मिक रूपमा कट्टर समाजमा पनि अघि बढेर कदम चाल्न उनी दृढ छन्। सबभन्दा महत्त्वपूर्ण, उनी सत्ताको खेलमा पश्चिमाहरूलाई पछि पार्न दृढ देखिन्छन्।

२०१७ मा एमबीएसका लागि काम गर्ने एकजना साउदी राजकुमारले साल्भातोर मुन्डी पेन्टिङ किन्न ४५ करोड डलर खर्चिए। जुन हालसम्मकै महँगो पेन्टिङ हो। लियोनार्डो दा भिन्चीले बनाएको यो पेन्टिङ सात वर्षयता कतै देखिएको छैन।

यो पेन्टिङ सम्भवतः जेनेभामा राखिएको हुनसक्ने उनका मित्र तथा प्रिन्स्टन युनिभर्सिटीका प्राध्यापक बर्नार्ड हेकेल बताउँछन्। उनका अनुसार यसलाई उनी रियादको एक संग्रहालयमा राख्न चाहन्छन्। जुन अहिलेसम्म बनेको छैन।

‘म रियादमा एउटा निकै ठूलो संग्रहालय बनाउन चाहन्छु र त्यहाँ एउटा यस्तो चिज राख्न चाहन्छु, जसले मानिसहरूलाई आकर्षित गरोस्। जसरी मोनालिसाको चित्रले गर्दछ,’ उनले एमबीएसको भनाइ उधृत गरे।

यसले उनी बेहद महत्त्वाकांक्षी र निडर व्यक्ति भएको संकेत गर्छ।

साउदीले खेलकुदमा पनि अत्यधिक खर्च गरेको छ। २०३४ को विश्वकप फुटबल आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने एक मात्र मुलुक साउदी नै हो। टेनिस र गल्फ आयोजना गर्न पनि करोडौँ डलर लगानी गरिएको छ। 

एमबीएस यस्ता नेता हुन्, जसलाई पश्चिमको खास वास्ता छैन। उनी साउदीलाई महान् बनाउने बहानामा आफूले चाहेको गर्न चाहन्छन्। 

‘एमबीएस आफूलाई शक्तिशाली बनाउन चाहन्छन् र एक नेताका रूपमा त्यो काम उनी मुलुकको शक्ति बढाएर मात्रै गर्न सक्छन्,’ सावर्स भन्छन्, ‘यसैले उनलाई प्रेरित गरेको छ।’ 

एमबीएसले शक्ति एकत्रित गर्न थालेपछि जाबरीको ४० वर्ष पुरानो करिअर पनि बचेन। पूर्वयुवराज मुहम्मद बिन नायबका चिफ अफ स्टाफ रहिसकेका उनी एमबीएसले सत्ता हातमा लिन थालेपछि देश छाडेर भागे। त्यसअघि उनलाई एक विदेशी गुप्तचर निकायले उनको ज्यान खतरामा रहेको सूचना पनि दिएको थियो। एमबीएसले आफूलाई फोनमा मेसेज पठाएर अचानक पुरानै जिम्मेवारी फिर्ता दिने भन्दै बोलाएको उनको भनाइ छ।

‘यो पासो थियो। म त्यसमा परिनँ,’ जाबरी भन्छन्। 

आफू फर्केको भए यातना दिने, जेल हाल्ने वा मार्ने उनको भनाइ छ। किनकि उनका दुई किशोर उमेरका सन्तान ओमर र सारालाई सम्पत्ति शुद्धीकरण र भाग्न खोजेको आरोपमा पक्राउ गरियो र जेल हालियो। 

‘उनले मेरो हत्या गर्ने योजना बनाएका थिए,’ जाबरी भन्छन्, ‘मेरो मृत्यु नदेखुन्जेल उनी बिसाउने छैनन्। यसमा मलाई कुनै शंका छ्रैन।’

जाबरीलाई क्यानडाबाट सुपुर्दगी गर्न साउदी अधिकारीहरूले इन्टरपोलबाट नोटिस जारी गरेका छन्। उनले गृह मन्त्रालयमा हुँदा अर्बौं डलर भ्रष्टाचार गरेको उनीहरूको आरोप छ। जबकि पदमा हुन्जेल जाबरीलाई मेजर जनरलको पद दिनुका साथै सीआईए लगायतले आतंकवादी हमला रोक्न उनले योगदान गरेको बताएका छन्।

जमाल खसोग्गी

खसोग्गीको हत्या
२०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खसोग्गीको हत्या भयो। जसमा एमबीएसको हात रहेको संकेत पाइन्छ। त्यसबेला एमबीएसका निजी सुरक्षा गार्डका १५ सदस्यीय टोली कूटनीतिक राहदानी बोकेर इस्तानबुल पुगेको थियो। आजसम्म खसोग्गीको शव भेटिएको छैन। उनको शवलाई टुक्राटुक्रा पारेर नष्ट गरिएको अनुमान छ।

प्राध्यापक हेकेलले सो हत्यालगत्तै एमबीएससँग ह्वाट्सएपमा मेसेज गरेका थिए।

‘यस्तो कसरी हुनसक्छ’ भनेर मैले सोधेँ। मलाई लाग्छ, उनी निकै चकित थिए। यति ठूलो प्रतिक्रिया होला भन्ने उनले सोचेकै थिएनन्,’ उनी भन्छन्।

त्यसको केही समयपछि अमेरिकी कूटनीतिज्ञ डेनिस रसले एमबीएसलाई भेटेका थिए।

‘उनले मैले गरेकै होइन भने। ठूलो गल्ती भयो भने,’ रस भन्छन्।

एमबीएसले सो हत्याको षड्यन्त्रमा आफ्नो हात नरहेको बताइरहे। २०२१ मा अमेरिकाले तयार गरेको गुप्त रिपोर्टमा भने षड्यन्त्रमा उनको हात रहेको निष्कर्ष निकालिएको छ। 

एमबीएसका पिता राजा सलमान अहिले ८८ वर्ष पुगे। उनको मृत्युपछि अझै ५० वर्ष शासन गर्ने उमेर एमबीएसको छ। तर, हालै उनले साउदी–इजरायल सम्बन्ध सामान्य बनाउने प्रयास गरेका कारण आफ्नो हत्या हुनसक्ने बताएका छन्।

‘यस्ता धेरै मान्छे छन्, जो उनलाई मार्न चाहन्छन्। यो कुरा उनलाई पनि थाहा छ,’ प्राध्यापक हेकेल भन्छन्।

यद्यपि, आफ्नो मुलुकको आधुनिकीकरणको मिसनमा उनी लागिरहेका छन्। यति हिम्मत सायद उनीअघिका शासकले कहिल्यै गरेका थिएनन्। तर, उनी पहिलो तानाशाह होइनन्, जो यति निर्दयी छन्। जसका कारण उनलाई गल्ती गर्नबाट रोक्ने व्यक्ति उनको आसपास कोही छैन। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .