ad ad

ग्लोबल


केजरीवाललाई थुनेर मोदीले जोखिम निम्त्याएका हुन्?

आम आदमी पार्टीका लगभग सबै शीर्ष नेता जेलमा, जेलबाटै सरकार चलाउँदै केजरीवाल
केजरीवाललाई थुनेर मोदीले जोखिम निम्त्याएका हुन्?

नेपालखबर
चैत ९, २०८० शुक्रबार १६:११, काठमाडौँ

बिहीबार राति दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई वित्तीय अपराध अनुसन्धान गर्ने एजेन्सीले पक्राउ गरेपछि भारतका कमजोर विपक्षी दलहरूले एकमुखले त्यसको विरोध गरे। केही नेताले त प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ‘क्रान्ति’को चेतावनी पनि दिए।

चुनावको मुखैमा विपक्षी नेतालाई गिरफ्तार गरिएको छ। यसअघि पनि विभिन्न विपक्षी नेतालाई पक्राउ गर्ने र खनतलासी लिने काम हुँदै आएको छ। बिहीबार बिहान मात्र सबैभन्दा ठूलो विपक्षी दलले आफ्ना ब्यांक खाता रोक्का गरिएकोले चुनावी अभियान सञ्चालन गर्न नसकिएको बताएको थियो।

केजरीवालको गिरफ्तारीले भारतीय राजधानी दिल्लीमा अभूतपूर्व संवैधानिक संकट पनि ल्याएको छ। पहिलो पटक पदमा बहाल मुख्यमन्त्री गिरफ्तार भएका छन्। आम आदमी पार्टीले मोदीले ‘फोहोरी राजनीतिक खेल’ खेलेको भन्दै केजरीवालले राजीनामा नदिने र ‘जेलबाटै सरकार चलाउने’ बताएका छन्।

वित्तीय अपराध अनुसन्धान गर्ने एजेन्सी ईडीले सन् २०२२ मा केजरीवाल सरकारले लागू गरेको मदिरा नीतिमा भ्रष्टाचारको आरोपमाथि छानबिन गरिरहेको छ। यो नीतिले निजी बिक्रेताहरूलाई अनुचित फाइदा दिएको भन्दै यसअघि मन्त्रीसहितका अधिकारी पक्राउ परिसकेका छन्। 

गिरफ्तारीअघि ईडीले ५५ वर्षीय केजरीवाललाई नौ पटक सोधपुछका लागि बोलाएको थियो। तर, मुख्यमन्त्री केजरीवाल हाजिर भएका थिएनन्। उनको पार्टीको लगभग शीर्ष नेतृत्व अहिले जेलमै छ। पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया, पूर्व मन्त्रीहरू सत्यन्द्र जैन र सञ्जय सिंह पनि जेलमै छन्। 

आम आदमी पार्टीले हाल दिल्ली र पञ्जाब गरी दुई राज्य सरकार चलाइरहेको छ।

सो पार्टीले भ्रष्टाचार आरोपको खण्डन गरेको छ। मोदी सरकारले पनि राजनीतिक बदलाका लागि ती अनुसन्धान नगरिएको दाबी गरेको छ।

‘प्रधानमन्त्रीलाई जे मन लाग्छ, त्यही गर्न सक्छन्। हालसम्म उनीहरूले दुई जना मुख्यमन्त्री समातिसकेका छन्। अरु पनि मुख्यमन्त्री गिरफ्तार गर्ने सम्भावना छ,’ दिल्लीका स्वास्थ्यमन्त्री तथा केजरीवालका सहयोगी सौरभ भारद्वाज भन्छन्।

गत महिना झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो। त्यसको केही घण्टाअघि उनले राजीनामा दिएका थिए। सोरेनको झारखण्ड मुक्ति मोर्चा आम आदमी पार्टी र कंग्रेसजस्तै इन्डिया गठबन्धनको सदस्य हो। जसले भाजपालाई आउँदो चुनावमा चुनौती दिँदैछ।

तर, विपक्षी नेताहरूको गिरफ्तारी मोदी र भाजपाका लागि जोखिमपूर्ण हुन सक्ने कतिपय विश्लेषकको भनाइ छ। निसानामा परेका नेताहरूले सहानुभूतिको मत पाउन सक्ने र साझा खतराविरुद्ध उनीहरूमा एकता पैदा हुने उनीहरूको विश्लेषण छ।

‘आम आदमी’देखि ‘सहिद’सम्म?
बिहीबार केजरीवालसँग उनकै निवासमा सोधपुृछ चलिरहँदा उनका सयौँ कार्यकर्ता विरोध प्रदर्शनका लागि भेला भएका थिए। ‘भारतीय लोकतन्त्रलाई भत्काउने काम भइरहेको छ,’ सो पार्टीका कार्यकर्ता देवेन्द्र सिंहले भने, ‘निर्वाचित मुख्यमन्त्रीलाई सबैको सामुन्ने धम्क्याउने र यातना दिने काम भइरहेको छ। मोदीको बुद्धिलाई के भयो?’

भ्रष्टारविरोधी अभियान चलाएरै केजरीवालले २०११ मा आम आदमी पार्टी गठन गरेका थिए। २०१५ र २०२० मा दिल्लीमा उनले मोदीको बलियो भाजपालाई हराउँदै चुनाव जिते। ७० सिटको विधान सभामा उनले ६७ र ६२ सिट जिते।

तर, २०१९ को लोकसभा चुनावमा दिल्लीका सातै सिट भाजपाले जित्यो। यी दुवै पार्टीका मतदाता एकैखाले रहेको बताइन्छ।

यस्तोमा केजरीवाललाई थुनेर मोदी सरकारले आफूलाई निरंकुश र घमण्डी पुष्टि गर्ने मात्र होइन, भाजापा र आम आदमी पार्टीबीच फैसला गर्न नसकिरहेका मतदातालाई पनि टाढा पार्ने जोखिम रहेको राजनीतिक विश्लेषक असीम अली बताउँछन्। 

‘अब उनीहरू सहानुभूतिका कारण आम आदमी पार्टीतर्फ ढल्किन सक्छन्,’ उनी भन्छन्, ‘भाजपाले केजरीवाललाई सहिद बनाउने जोखिम छ।’

‘यो गिरफ्तारीले के भारतीय अधिकारीहरूको छटपटी र मानव अधिकारप्रतिको बेवास्ता देखाउँछ,’ एमनेस्टी इन्टरनेसनलका आकार पटेल भन्छन्, ‘सरकारले कानुन र केन्द्रीय एजेन्सीहरूलाई हतियार बनाएर शक्ति सुदृढीकरण गरिरहेको छ।’

मोदी २०१४ मा सत्तामा आएयता सीबीआई र ईडीले अनुसन्धान गरेका मुद्दामध्ये ९५ प्रतिशत विपक्षी दलका नेताविरुद्ध छ। यो सीबीआईको हकमा ६० र ईडीको हकमा ५४ अंकको वृद्धि हो। 

इन्डियाले जवाफ दिने
केजरीवालको गिरफ्तारीको सबै विपक्षी दलले भर्त्सना गरेका छन्। इन्डिया गठबन्धनबाट बाहिरएका पार्टीले पनि यसको विरोध गरेका छन्।

गिरफ्तारीलगत्तै कंग्रेस नेता राहुल गान्धीले भनेका छन्, ‘डराएको तानाशाह मरेको लोकतन्त्र बनाउन चाहन्छ।’ उनले गठबन्धनले यसको जवाफ दिने बताएका छन्।

पश्चिम बंगालको सत्तामा रहेको तृणमूल कंग्रेसले पनि चुनाव निष्पक्ष हुन नसक्ने भन्दै विरोध गरेको छ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यो गिरफ्तारीलाई ‘फासीवादी’ भनेका छन्। केरलाका मुख्यमन्त्री पिनरायी विजयनले चुनावअघि विपक्षी आवाज दबाउने षड्यन्त्र भनेका छन्। स्टालिनको डीएमके र विजयनको भाकपा मार्क्सवादी दुवै इन्डिया गठबन्धनका सदस्य हुन्।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादवले केजरीवालको गिरफ्तारीले नयाँ जनक्रान्तिलाई जन्माउने बताएका छन्। 

धेरैजसो सर्वेक्षणहरूमा मोदीको भाजपा चुनावमा सहजै विजय हुने आकलन छ। मोदीले ५४३ सिटमध्ये ४ सय सिट जित्ने बताउँदै आएका छन्। अघिल्लो चुनावमा ३५३ सिट भाजपाको गठबन्धनले जितेको थियो।

आम आदमी पार्टी भने शक्ति एकत्रित गर्ने प्रयासमा छ। ‘उनीहरू केजरीवाललाई पक्राउ गर्न सक्छन्, तर उनको विचारधारालाई सक्दैनन्,’ दिल्लीका स्वास्थ्यमन्त्री भार्दवाजलदे भनेका थिए।

जवाफमा भाजपाका प्रवक्ता संवित पात्रा भन्छन्, ‘केजरीवाल व्यक्ति होइन, विचार हुन्, अझ भन्दा खराब विचार।’ अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .