ग्लोबल


इरानका राष्ट्रपतिले गरे हमास नेतासँग कुराकानी

इरानका राष्ट्रपतिले गरे हमास नेतासँग कुराकानी

नेपालखबर
असोज २१, २०८० आइतबार २१:३७, काठमाडौँ

इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग कुराकानी गरेका छन्।

त्यहाँस्थित सरकारी सञ्चारमाध्यमका अुनसार राष्ट्रपति इब्राहिम रइसीले आइतबार कुराकानी गरेका हुन्।

‘राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ’, थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ।

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए।

इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा  बढीलाई बन्धक बनाएको बताएको छ।

गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार एजेन्सीहरूले बताएका छन्।

इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारवाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ।

‘यो विजयी कारवाहीले यहुदीहरूको शासनको पतनलाई सहजता र गति दिनेछ तथा यहुदीहरूको आसन्न विनाशलाई पूरा गर्ने प्रतिज्ञा गर्दछ’, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली अकबर भेलायतीले भने, ‘म यो विशाल र रणनीतिक विजयलाई शुभकामना दिन्छु जुन यस क्षेत्रका सबै सम्झौता गर्नेहरूका लागि गम्भीर चेतावनी हो।’

इरानले गत जुनमा हमास र इस्लामिक जिहादका नेताहरुको वार्ताको आयोजना गरेको थियो। त्यतिबेला इरानी राष्ट्रपति रइसीले अधिनस्थ क्षेत्रहरू मुक्त गर्न खोज्ने युवा प्यालेस्टिनीहरूलाई निरुत्साहित गर्ने उद्देश्यले इजराइलले धेरै अरब र मुस्लिम देशसँगको सम्बन्धलाई सामान्यीकरण गर्न खोजिरहेको बताएका थिए। (रासस÷एएफपी)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad