ad ad

ग्लोबल


डकैतीबाट उदाएका प्रिगोजिन, जसले पुटिनको संरक्षण पाए, उनीविरुद्धै धावा बोले

डकैतीबाट उदाएका प्रिगोजिन, जसले पुटिनको संरक्षण पाए, उनीविरुद्धै धावा बोले

वाग्नर प्रमुख प्रिगोजिन (बायाँ), रुसी राष्ट्रपति भ्लादिमिर पुटिन (दायाँ)


नेपालखबर
असार १०, २०८० आइतबार ९:४६, काठमाडौँ

दोस्रो विश्वयुद्ध सकिएको ७ वर्षपछि सन् १९५२ अक्टोबर ७ मा लेनिनग्रादमा रुसका वर्तमान राष्ट्रपति भ्लादिमर पुटिनको जन्म भयो।

पुटिन जन्मिएको करिब नौ वर्षपछि, सन् १९६१ मा लेनिनग्रादमै येभगेनी प्रिगोजिनको जन्मिए। यो शहर अहिले सेन्ट पिटर्सबर्ग नामले चिनिन्छ। सानै छँदा बुबाको मृत्यु भयो। आमाले अस्पतालमा काम गरेर प्रिगोजिनलाई हुर्काइन्।

प्राथमिक शिक्षापछि उनी खेलकुद एकेडेमीमा संलग्न भए। त्यो बेला उनी हरेक दिन घण्टौंसम्म क्रस कन्ट्री स्किइङ गर्थे। यसका बाबजुद पनि उनले व्यावसायिक खेलाडीको रुपमा स्थान बनाउन सकेनन्। पढाइ सकेपछि प्रिगोजिन साना अपराधीहरूको भीडमा सामेल भए।

सन् १९८० मा शोभियत संघमा लियोनिद ब्रेज्नेभको शासनकालमा, १८ वर्षीय प्रिगोजिन एक मध्यरातमा सेन्ट पिटर्सबर्गको क्याफेबाट बाहिर निस्किएका थिए। त्यहाँ उनले एक महिलालाई अँध्यारो सडकमा एक्लै हिंडिरहेको देखे। प्रिगोजिनले एक साथीलाई चुरोट मागेर महिलाको ध्यान विचलित गर्न भने। जब ती महिलाले पर्स खोल्न लागिन्, तब प्रिगोजिनले पछाडिबाट महिलाको घाँटी अठ्याएर हत्या गरे।

त्यहाँबाट डकैती सुरु गरेका उनी पछि ठूलो डाँकुको रूपमा स्थापित भए। पहिलो हत्याको एक वर्षपछि, अर्थात् सन् १९८१ मा उनलाई कयौँ डकैतीको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको थियो।

करिब १० वर्ष कैद सजाय काटेपछि सन् १९९० मा शोभियत संघको विघटन हुँदा उनी पनि रिहा भएका थिए। त्यसपछि उनी आफ्नी आमासँग मिलेर सामान्य क्याटेरिङ व्यवसाय गर्न थाले। उनी पाँचै वर्षमै शक्तिशाली व्यवसायीका रूपमा उदाए। भनिन्छ, यो बीचमा उनी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न थिए।

उनले सन् १९९५ मा रेस्टुरेन्ट खोले। उक्त रेस्टुरेन्टमा ठूला व्यापारीहरू आउँथे। त्यसै क्रममा उनको भेट भ्लादिमर पुटिनसँग भयो।

यसरी विस्तारै व्यापारिक क्षेत्रमा आफ्नो प्रभूत्व स्थापित गर्दै गएका उनी पुटिन राष्ट्रपति भएपछि उनकै साथले थप शक्तिशाली बन्दै गए।

आफ्नो शासनको प्रारम्भिक वर्षहरूमा, पुटिनले प्रायः आफ्नो गृहनगर सेन्ट पिटर्सबर्गमा विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई भेट्थे। यस अवधिमा, पुटिन र प्रिगोजिन बीचको मित्रता बढ्दै गयो।

पुटिनले रुसमा सरकारी कार्यक्रमका लागि जारी गरिएको सम्झौता प्रिगोजिनलाई हस्तान्तरण गरेका थिए।

रुसले सन् २०१४ मा क्रिमियालाई गाभ्यो। उक्त युद्धमा प्रिगोजिनको वाग्नर समूह पनि सहभागी थियो। त्यसपछि प्रिगोजिनले पुटिनलाई निजी सैन्य कम्पनीका रुपमा वाग्नरलाई स्थापना गर्न सल्लाह दिए। यसरी रुसमा पुटिनकै सहयोगमा प्रिगोजिन नेतृत्वको अर्धसैनिक समूह वाग्नर जन्मियो।

उनी पुटिनका विश्वास पात्र थिए। 'पुटिनका सेफ' समेत भनिने उनको समूहले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई समेत प्रभावित पारेको आरोप लागेको थियो। तद्पश्चात् उनलाई अमेरिकाले प्रतिबन्ध पनि लगाएको छ।

अमेरिकाले प्रतिबन्ध लगाएपछि उनले आफूले चुनावमा हस्तक्षेप गरेको स्वीकार गर्दै आगामी दिनमा पनि हस्तक्षेप गर्ने बताएका थिए।

रुसमा २४ घण्टामा भएको नाटकीय बदलाव

रुसको शक्तिशाली निजी अर्धसैनिक समूह वाग्नरले शनिबार राष्ट्रपति भ्लादिमर पुटिनलाई सत्ताच्युत गर्ने चेतावनी दियो। सामान्यतया रुसमा पुटिनलाई चुनौती दिने कोही नभएको बताइन्छ। तर वाग्नर प्रमुख प्रिगोजिनको उक्त चुनौती दिएपछि त्यस घटनालाई गम्भीरताका साथ हेरिएको थियो।

राष्ट्रपति पुटिनले राष्ट्रको नाममा सम्बोधन गरे। दक्षिण सहर रोस्तोभ कब्जा गरी २५ हजार तालिमप्राप्त सेनाका साथ प्रिगोजिन मस्को कब्जा गर्न अघि बढे। जसले रुसमा 'कू'को सम्भावना बढ्यो। अन्तर्राष्ट्रि सञ्चार माध्यमले दावी गरेअनुसार पुटिन इतिहासमै सबैभन्दा डराएका र विचलित देखिएका थिए। 

वाग्नर समूहलाई रोक्न ठाउँ ठाउँमा सेना खटाइयो, सडक खनेर खाल्डाहरू पारियो। वाग्नर प्रमुख प्रिगोजिनले आफ्ना सेनालाई युक्रेन फर्किन आदेश दिएका छन्। वास्तवमा बेलारुसका रास्ट्रपति अलेकजेन्डर लुकासेन्कोले वागनर प्रमुख प्रिगोजिनसँग लामो वार्ता गरेपछि उनी मस्कोतर्फको मार्च रोक्ने निर्णयमा पुगेको बताइएको छ।

रूसी मिडिया रिपोर्ट अनुसार, प्रिगोजिन अब बेलारुस जाने तयारीमा छन्। यससँगै रुसमा उत्पन्न नाटकीय अशान्तिको अन्त्य भएको विश्वास गरिएको छ।

वाग्नर समूह पैसाको लागि लड्ने भाडाको निजी सेना हो। हाल युक्रेन युद्धमा यी वाग्नर समूहका लडाकुहरू रुसी नियमित सेनासँगै युक्रेनविरुद्ध लडिरहेका छन्।

युक्रेनमा युद्ध कसरी लड्ने भन्ने विषयमा वाग्नर समूह र रुसी सेनाबीच केही दिनयता तनाव बढिरहेको थियो। केही दिनयता प्रिगोजिनले  रुसको सैन्य नेतृत्वको खुलेर आलोचना गरिरहेका थिए। शनिबार उक्त टकराव सामुन्ने आयो।

शनिबार युक्रेनमा रहेको आफ्नो शिविरमा रुसी सेनाले आक्रमण गरेको आरोप लगाउँदै प्रिगोजिन रुसविरुद्धै युद्धको घोषणा गरी मस्कोतर्फ अ३ि बढे। रोस्तोभ-अन-डोनमा रुसी सेनाको दक्षिणी कमाण्डको मुख्यालय कब्जा गरे। घटनाहरूको द्रुत मोडमा, वाग्नर लडाकुहरूले मस्को जाने बाटोमा भोरोनेज शहरको उत्तरमा क्षेत्रीय सैन्य कमाण्ड र सैन्य स्थानहरू पनि नियन्त्रणमा लिए।

वाग्नरका लडाकुहरू रुसको राजधानीतर्फ अघि बढ्न थाले।

मस्कोको सडकमा ट्यांकहरूसहित सुरक्षा बल तैनाथ गरिएका भिडिओ‌ बाहिर आएका छन्। मस्कोका मेयरले नागरिकहरूलाई घरबाहिर ननिस्कन अपिल गर्नुपरेको थियो। यसैबीच, चेचन्याका कुलीन सैन्य बल मस्कोतर्फ सरेको रिपोर्ट पनि सार्वजनिक भएको थियो। जसले रुसभभित्रै गृहयुद्ध हुने स्पष्ट संकेत देखिएको थियो। चेचन्यका सेना र वाग्नर समूहबीच द्वन्द्व भएमा त्यसको प्रत्यक्ष फाइदा युक्रेनलाई पुग्ने देखिन्थ्यो।

वाग्नर समूहको यो दुस्साहसको जवाफमा राष्ट्रपति पुटिनले रुसलाई धोका दिएमा ठूलो हिसाब चुकाउनुपर्ने चेतावनी प्रिगोजिनलाई दिएका थिए।

तनाव उत्कर्षमा थियो, तर भिडन्त रोक्ने प्रयास भइरहेको थियो। गृहयुद्धको प्रवल सम्भावना शनिबार साँझ एकाएक टर्‍यो, प्रिगोजिन फिर्ता हुन तयार भए। उक्त युद्ध रोक्न बेलारुसका राष्ट्रपति मध्यस्थकर्ता बनेको रुसी मिडिया रोसिया-२४ ले जनाएको छ। 

अलेक्जेन्डर लुकाशेन्को र प्रिगोजिनबीच लामो कुराकानी पश्चात् प्रिगोजिनले एक विज्ञप्ति जारी गर्दै आफ्ना सेनालाई पछि हट्न निर्देशन दिए।

उक्त घटनापछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि टिप्पणी गरेका थिए। उनले ज्यान बचाउन पुटिन भागेको दाबी गरेका थिए।

उक्त घटनाप्रति प्रतिक्रिया दिँदै उनले भनेका थिए, 'क्रेमलिनको त्यो व्यक्ति डराएको छ र कतै लुकेको छ, म ढुक्क छु ऊ मस्कोमा छैन।' जेलेन्स्कीले पुटिनको नाम नलिई सांकेतिक रूपमा भनेका थिए।

उक्त घटनापछि पुटिन सुरक्षित स्थानमा लुकेको दाबी मिडियाहरूले पनि गरेका थिए। तर राष्ट्रपति पुटिनका प्रेस सल्लाहकार दिमित्री पेस्कोभले पुटिन क्रेमलिनमा नै भएको प्रतिक्रिया दिएका थिए।

यो नाटकीय बदलाव सँगै प्रिगोजिनको गिरफ्तारी वारेन्ट रद्द भएको छ। शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले वाग्नर समूहका लडाकुविरुद्ध अपराधिक मुद्दा लागेको बताएका थिए। अब ती मुद्दा पनि खारेज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .