आजभन्दा ९५ वर्षअघि आजकै दिन, अर्थात् सन् १९२८ जुन १४ मा ल्याटिन अमेरिकी क्रान्तिकारी चे ग्वेभाराको जन्म अर्जेन्टिनामा भयो।
एक मध्यमवर्गीय परिवारमा जन्मिएका उनी पेशाले डाक्टर थिए। ३३ वर्षको उमेरमा उनी क्युबाको उद्योग मन्त्री भए; तर पद छोडेर ल्याटिन अमेरिकामा क्रान्तिको सन्देश फैलाउन जंगल पुगे।
कुनै समय अमेरिकाको सबैभन्दा ठूलो शत्रु बनेका उनी आज धेरैको नजरमा महान् क्रान्तिकारी हुन्।
५० र ६० को दशकमा अमेरिकाको बढ्दो शक्तिलाई चुनौती यिनले दिएका थिए। चाहेको भए अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको कलेजमा डाक्टर बनेर उनी आरामदायी जीवन बिताउन सक्थे। तर आफ्नो वरपरको गरिबी र शोषण देखेर युवा उनको झुकाव मार्क्सवादतर्फ भयो। अनि उनले दक्षिण अमेरिकी महाद्वीपको समस्या समाधान गर्ने एक मात्र उपाय सशस्त्र आन्दोलन भएको निष्कर्ष निकाले।
सन् १९५५ मा २७ वर्षको उमेरमा चेले फिडेल क्यास्ट्रो (१९२६-२०१६) लाई भेटे। उनीहरूको भेट मेक्सिकोमा भएको थियो। दुवैले मिलेर क्युबा क्रान्ति गर्ने योजना बनाए।
क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेपछि चे ३१ वर्षको उमेरमा नेशनल बैंक अफ क्युबाको अध्यक्ष र त्यसपछि क्युबाको उद्योग मन्त्री बने। क्युबा क्रान्तिपछि फिडेलले संसारकै सबैभन्दा लामो समयसम्म, झण्डै आधा शताब्दीसम्म एउटै पार्टीको शासन चलाएका थिए।
सन् १९६४ मा चे संयुक्त राष्ट्र महासभामा क्युबाको तर्फबाट भाग लिन गएका थिए। चेले बोल्दा धेरै वरिष्ठ मन्त्रीहरू ३६ वर्षीय नेताको कुरा सुन्न उत्सुक थिए। आज क्युबाली जनता चेलाई महान् क्रान्तिकारीको रूपमा सम्मान गर्छन्।
पुज्छन् र किन क्युबा नै, चे ग्वेभारा एक नाम हो जसले सारा संसारमा आशा जगाउँछ।
कंगोमा चेले विद्रोहीहरूलाई छापामार युद्धको विधि सिकाएका थिए। त्यसपछि चेले बोलिभियामा विद्रोहीहरूलाई प्रशिक्षण दिन थाले।
अमेरिकी गुप्तचर एजेन्टहरूले चे ग्वेभाराको खोजी गरिरहे र अन्ततः चेलाई बोलिभियन सेनाको सहयोगमा समातेर मारियो।
उनले आफ्नो जीवनकालमा छिमेकी मुलुक भारतको पनि भ्रमण गरेका थिए। आफ्नो भारत भ्रमण पछि सन् १९५९ मा इन्डिया डायरी लेखेका थिए, जुन उनले फिडेल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए।
उक्त डायरीमा उनले लेखेका छन्, 'काहिराबाट हामीले भारतको सिधा उडान भर्यौं। ३९ करोड जनसंख्या र ३० लाख वर्ग किलोमिटर क्षेत्रफल। हाम्रो भ्रमणमा सबै उच्च भारतीय राजनीतिज्ञहरूसँग भेटघाटहरू समावेश थिए। हामीलाई स्वागत गरे। क्युबाली जनताको समर्पण र संघर्षप्रति पूर्ण रुचि पनि देखाए।'
उनले नेहरूले आफूलाई अमूल्य सुझाव पनि दिएको उक्त डायरीमा उल्लेख गरेका छन्। 'हाम्रो उद्देश्य पूर्तिको लागि उहाँ (नेहरू)ले निःशर्त चासो देखाउनुभयो। हामीले भारत भ्रमणबाट धेरै उपयोगी कुराहरू सिकेका छौं। सबैभन्दा महत्त्वपूर्ण हामीले देश आर्थिक विकासमा निर्भर हुन्छ भन्ने सिक्यौं।'
देश आर्थिक विकासमा निर्भर हुने भएकाले यसको प्राविधिक विकास र वैज्ञानिक अनुसन्धान संस्थाहरू सिर्जना गर्न महत्त्वपूर्ण रहेको उल्लेख उनले गरेका थिए। विशेषगरी चिकित्सा, रसायन विज्ञान, भौतिक विज्ञान र कृषि क्षेत्रमा लगानी गर्न नेहरूले सुझाव दिएको उनले बताएका थिए।
डायरीमा उनले आफ्नो बिदाइको सम्झनामा लेखेका थिए, 'जब हामी भारतबाट फर्कदै थियौँ, विद्यालयका बालबालिकाले क्युबा र भारत दाजुभाइ हुन् भन्ने नारा लगाए। वास्तवमै क्युबा र भारत दाजुभाइ हुन्।'
उक्त भेटमा चेले नेहरूलाई आफ्नो प्रिय सिगार पनि गिफ्ट गरेका थिए।
-बीबीसी हिन्दीबाट
Shares

प्रतिक्रिया