ad ad

ग्लोबल


समस्या सिर्जना गरेर आफ्नो दुनो सोझ्याउने अमेरिकी तरिका चीनसामु काम लाग्दैन : वाङ यी

समस्या सिर्जना गरेर आफ्नो दुनो सोझ्याउने अमेरिकी तरिका चीनसामु काम लाग्दैन : वाङ यी

नेपालखबर
साउन २१, २०७९ शनिबार १५:५६, काठमाडौँ

चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानमा ठूलो संकट सिर्जना नगर्न अमेरिकालाई चेतावनी दिएका छन्। अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले तनाव सिर्जना गरेको उनको आरोप थियो।

कम्बोडियामा आसियानका विदेशमन्त्रीहरुबीचको बैठकको साइडलाइनमा बोल्दै वाङले समस्या खडा गरेर उदेश्य प्राप्त गर्ने अमेरिकी तरिका चीनसामु सफल नहुने बताए।

‘अमेरिकाको रणनीति के हो भने उनीहरु पहिले समस्या सिर्जना गर्छन् र त्यो समस्यालाई प्रयोग गरेर आफ्नो उदेश्य पुरा गर्छन्। तर, यो तरिका चीनसामु काम लाग्दैन,’ वाङले भने।

‘हामी अमेरिकालाई चेतावनी दिन्छौँ, हडबडीमा उसले ठूलो संकट सिर्जना नगरोस्,’ उनले थपे।

२५ वर्षपछि अमेरिकी सभामुखले मंगलबार ताइवान भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव चुलिएको छ।

भ्रमणको जवाफमा चीनले ताइवान घेरेर विशाल युद्ध अभ्यास गरिरहेको छ। त्यस्तै, चीनले अमेरिकासँग अनेकौँ फोरमका संवाद रोकेको छ।

ताइवानले भने चिनियाँ सेनाले आक्रमणको पूर्वाभ्यास गरेको आरोप लगाएको छ।

कम्बोडियामा बोल्दै वाङले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको सार्वभौमसत्तालाई चुनौती दिएकाले बेइजिङले सो प्रतिक्रिया दिन जरुरी भएको बताए।

‘हाम्रो सैन्य अभ्यास खुला र पारदर्शी छ। यो घरेलु कानुन, अन्तर्राष्ट्रिय कानुन र अभ्यासअनुसार छ। यसको उदेश्य अपराधीहरुलाई चेतावनी दिनु र ताइवानको स्वतन्त्रता चाहने शक्तिलाई सजाय दिनु हो,’ वाङले भने, ‘यदि आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई बेवास्ता गरियो भने अमेरिकाले अझ सनकी तरिकाले अन्य मुलुक, खासगरी साना र मध्यम आकारका मुलुकलाई धम्क्याउनेछ।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .