चीनले भारतको सीमानजिकै अत्याधुनिक हतियारका साथ सैन्य परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार आइतबार उच्च उचाइमा प्रयोग गर्न सकिने हतियारसहित चिनियाँ सेनाले भारतसँगको सीमाक्षेत्रमा सैन्य परीक्षण गरेको हो।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेको भिडियोमा भारतको लद्दाखको सीमा नजिकै ५२ सय मिटरको उचाइमा युद्धाभ्यास गरिरहेको देखिएको छ। युद्धाभ्यासको क्रममा अत्याधुनिक हतियारको प्रयोग गरिएको छ।
जसमा रिमोटबाट सञ्चालन गर्न सकिने हतियार प्रणाली, बन्दुक, बमवर्षक र मिसाइल सुरक्षा प्रणालीको पनि प्रयोग गरिएको थियो। विश्लेषकहरुले धेरै उचाइको सीमामा हुन सक्ने सैन्य आक्रमणको लागि तयारीस्वरुप चीनले यो युद्धाभ्यास गरेको बताएका छन्। यसले सीमाक्षेत्रमा चीनको सुरक्षा उपस्थिति पनि बलियो हुने जानकारहरुले बताएका छन्।
भारतसँग गत वर्ष सीमा क्षेत्रमा भएको झडपपछिको वार्तामा कुनै निष्कर्ष निस्किन नसकेसँगै चीनले सीमा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। भारतले पनि सीमा क्षेत्रमा सडक तथा अन्य पूर्वाधार विकास गर्ने र सैन्य परिचालन गर्नेजस्ता कार्य गर्दै आएको छ।
बेइजिङस्थित सैन्य विज्ञान तथा प्रविधि इन्स्टिच्युटका झोउ चेन्मिङले चीनको नयाँ हतियार प्रणालीले भारतको सैन्य क्याम्प, हतियार र अन्य लक्ष्यलाई सजिलै उडाइदिन सक्ने बताएका छन्।
अहिलेसम्म चीनले ५ हजारभन्दा उचाइमा खासै ठूलो सैन्य अभ्यास नगरेको पनि जानकारहरुले बताएका छन्। यसले पछिल्लो समय चीनको सैन्य क्षमता पनि बढ्दो क्रममा रहेको देखाएको जानकारहरुको भनाइ छ।
Shares
प्रतिक्रिया