ग्लोबल


काबुलबाट ११ किलोमिटर नजिक पुगे तालिबान, थप दुई प्रान्तीय सहर कब्जा

विदेशी दूतावासका कर्मचारी भाग्न थाले
काबुलबाट ११ किलोमिटर नजिक पुगे तालिबान, थप दुई प्रान्तीय सहर कब्जा

नेपालखबर
साउन ३०, २०७८ शनिबार २३:०, काठमाडौँ

तालिबान लडाकुहरुले अफगानिस्तानका आधाभन्दा धेरै प्रान्तीय राजधानी कब्जा गरेका छन्। 

समाचार एजेन्सी एपीका अनुसार तालिबानी लडाकु अब राजधानी सहर काबुलबाट केबल ११ किलोमिटर दुरीमा रहेका छन्। 

पछिल्लो विवरणमा अमेरिका र बेलायतको सेनापछि अब अस्ट्रेलियन सेनाको एक टुकडी पनि काबुलमा पुग्दैछ।

यो टुकडी आफ्नो देशका नागरिक र दूतावास कर्मचारीलाई फिर्ता लैजान त्यहाँ पुगेको हो। 

शनिवार काबुल अन्तरराष्ट्रिय विमानस्थलमा तनावपूर्ण र भागदौडको दृश्य देखिएको थियो। 

जहाँ अफगानिस्तानमा काम गरिरहेका विदेशी नागरिक, दूतावास कर्मचारी र अफगानी नागरिक कुनै न कुनै तरिकाबाट अन्य देश जान आतुर थिए। 

अर्कातिर हजारौँ अफगानीहरु काबुलको सडकको किनारमा अस्थायी क्याम्पमा बसेका छन्। उनीहरु तालिबानी गुटको कब्जामा गएका क्षेत्रबाट भागेर त्यहाँ आएका हुन्। 

जसरी समय बित्दै गएको छ, त्यसरी नै तालिबानी लडाकुको समूह राजधानी काबुल नजिक आइरहेका छन्। 

अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई बताए अनुसार तालिबानी लडाकुको समूह अब केबल ११ किलोमिटरको दूरीमा आइपुगेको छ।

एपीका अनुसार तालिबान अब काबुलबाट दक्षिणमा केही दूरीमा अवस्थित असयाब चार इलाकासम्म आइपुगेका छन्। 

यदि  अफगान सरकारले यसको पुष्टि गरेमा यो काबुलबाट सबैभन्दा कम दूरीमा तालिबानको उपस्थिति हुनेछ।

यदि काबुलमाथि तालिबानको कब्जा भएमा यो अफगान सरकार र सेनाका लागि धेरै ठूलो झट्का हुनेछ।

यसका अतिरिक्त मजार -ए-शरिफमा पनि सेना र तालिबानी लडाकुबीच भयानक गोलीबारी चलिरहेको छ। 

तालिबान लडाकुले शनिवार पक्तिका र कुनार प्रान्तको राजधानीमा कब्जा जमाएका छन्।

पक्तिकाका परिषद अध्यक्षका अनुसार शनिवार बिहान शरनमा तालिबानले कब्जा जमाएका हुन्। 

उनका अनुसारु जासुसी विभाग, राज्यपालको कार्यालय, पुलिस हेड क्वार्टर र स्थानीय जेल तालिबानी नियन्त्रणमा गएको छ। शरन काबुलको दक्षिणमा २ सय किलोमिटर दूरीमा अवस्थित छ।

त्यस्तै एक स्थानीय सांसदले बीबीसीलाई बताए अनुसार कुनार प्रान्तको राजधानी असदाबादमा पनि तालिबानले कब्जा गरेको छ।

ट्विटरमा देखिएको एक भिडियोमा तालिबानी झण्डासहित सहरमा हिँडिरहेको देखिएको छ।

असदाबाद काबुलको पूर्वमा २३५ किलोमिटरको दूरीमा अवस्थित छ। अहिलेसम्म तालिबानी लडाकुहरुले उत्तरी अफगानिस्तानका धेरै भागमा कब्जा जमाएको छ। 

चरमपन्थी समूहले अफगानिस्तानका आधाभन्दा धेरै प्रान्तीय राजधानीमा पनि कब्जा जमाइसकेको छ। 

तालिबानी नेतृत्व र सामाजिक सञ्जालमा सक्रिय समर्थकहरुले तालिबानी नियन्त्रणमा गएका इलाकाहरूमा विस्तारै अवस्था सामान्य हुन थालेको बताएका छन्। 

तालिबानी गुटको तर्फबाट लगातार सन्देश सार्वजनिक भइरहेका छन्।

उनीहरुले यदि अफगान सुरक्षाकर्मीले आफूसँग आत्मसमर्पण गरेमा उनीहरुविरुद्ध कुनै कदम नउठाउने धम्कीयुक्त सन्देश उनीहरुले दिइरहेका छन्। 

यसका साथै तालिबानले सबै धर्म, जाति र समुदायका लागि काम गर्ने सन्देश पनि प्रवाह गरिरहेका छन्।

यस सन्देशको उद्धेश्य हमला अघि नै अफगान सैनिकहरुलाई आत्मसमर्पणका लागि तयार बनाउनु हो। 

तालिबानले बन्दी बनाइएका मानिसहरुलाई मारिरहेको भन्ने खबरको पनि यो समूहले खण्डन गर्न खोजिरहेको छ।

उनीहरुले युवतीहरूलाई तालिबानी युवाहरूसँग बिहे गर्न बाध्य पारिरहेको खबरको पनि खण्डन गरिरहेको छ।

तालिबानले शहरहरु कब्जा गरिरहेका बेला अहिलेसम्म महिलाको शिक्षा, काम र कडा पोशाक नियमको कुरा नगरेको भन्दै सर्वसाधारणलाई फकाउने प्रयास गरिरहेको छ।

तालिबानले देश आफ्नो कब्जामा आएपछि भविष्यमा चुनाव गर्ने सन्देश पनि दिन खोजेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad