ad ad

गण्डकी


पृथ्वीसुब्बाका ‘दाहिनेहात’ भीमले जित्दा गठबन्धन तेस्रो

पृथ्वीसुब्बाका ‘दाहिनेहात’ भीमले जित्दा गठबन्धन तेस्रो

वाशुदेव मिश्र
मंसिर ७, २०७९ बुधबार २१:२८, पाेखरा

२०५४ सालमा एमाले विभाजन हुँदा गण्डकीका अधिकांश नेताहरुले वामदेव गौतम नेतृत्वको एमाले रोजे।

झण्डै छिन्नभिन्न भएको एमाले गण्डकीको संगठन सम्हाल्ने जिम्मेवारी एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य पृथ्वीसुब्बा गुरुङको काँधमा आइलाग्यो। गुरुङ लमजुङबाट पोखरा आए।

न्यूरोडमा रहेको गण्डकी कार्यालयमा टेलिफोनको तार त थियो तर सेट थिएन। पार्टीको माइन्यूट पनि तत्कालीन संस्थापन पक्षले बोेकेर लगेको थियो। जाल्पारोडको भाडाको कोठमा बस्दै उनले संगठन सुदृढीकरणको अभियान थाले।

गुरुङको ‘डेराबास’लाई साथ दिने अर्का व्यक्ति थिए, एमालेका युवा नेता भीम कार्की। स्याङ्जा टक्सारमा जन्मेका उनी विद्यार्थी राजनीतिबाट भर्खरै पार्टी राजनीतिमा छिरेका थिए।

कोठामा सँगै बस्ने साथीलाई जिम्मेवारी दिनैप¥यो। पृथ्वीसुब्बाले उनलाई मनाङको सचिव बनाइदिए। त्यो बेला मनाङमा एमालेको संगठन नै थिएन।

पृथ्वीसुब्बाको दायाँहात बनेर भीमले संगठन बिस्तारमा सघाए। पृथ्वीसुब्बासँगको निकटता झन बढ्यो।

राजनीतिमा अमुक व्यक्तिसँगको निकटताले कहिलेकाहीँ दुःख दिन्छ। भीमलाई पनि त्यस्तै भयो।

गएको स्थानीय चुनावमा उनीमाथि पोखरा महानगरमा एमालेबाट मेयरका प्रत्यासी कृष्ण थापामाथि अन्तरघात गरेको आरोप लाग्यो। खासमा आरोप पृथ्वीसुब्बामाथि नै थियो तर उपमहासचिवमाथि औंला ठ्ड्याउने हिम्मत नभएपछि भीममाथि प्रहार भयो।

उनलाई कास्की इञ्चार्जबाट हटाइयो।

अखिलको राजनीति, केन्द्रीय सदस्यसम्मको यात्रा, एमाले कास्की र गण्डकीको कार्यालय सचिव अनि एमालेको केन्द्रीय सदस्यसम्मको यात्रा तय गर्दा उनले भूमि समस्या समाधानसम्बन्धी केन्द्रीय आयोगको सदस्यबाहेक लाभको पद पाएनन्।

कास्कीको बौमारामा बस्ने उनलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीसहितका नेताहरुले पोखरावासी पनि मानेनन्। तर, यो चुनावमा उनले कास्की क्षेत्र नम्बर २ ‘क’को टिकट पाए।

कास्कीको यो क्षेत्रलाई कांग्रेसीहरु ‘उत्तर कोरिया’को उपमा दिन्छन्। हो पनि त्यस्तै। टिकट पाउनासाथ भीमले जित्ने आकलन गरिएको थियो। तर, प्रतिस्पर्धीको रुपमा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने अगाडि आउँदा भने परिणामप्रति ढुक्क हुने अवस्था बनेन।

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश फेवाताल अतिक्रमणविरुद्धको अभियानको कारण चर्चित व्यक्तित्व हुन्।

अर्कोतिर, यसअघि स्थानीय चुनावको नतिजाले पनि भीमलाई सहज थिएन। तर, भीमले ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश  उनको प्रतिस्पर्धी नै बनेनन्।

बरु, पहिलो पटक चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले उनलाई कडा टक्कर दिए। गणनाको लामो समयसम्म कार्कीले कायम गरेको अग्रता अन्तिमतिर तोडियो।

कार्की १० हजार ५३१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरे। 

विश्वप्रकाशले ५  हजार ५४० मतमात्र पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .