गत शुक्रबार (वैशाख ४ गते) सार्वजनिक नेपाली फिल्म ‘लालीबजार’को ट्रेलरलाई दर्शकले रुचाएका छन्। षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छोटो समयमै युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको थियो।
साढे तीन लाखभन्दा बढी भ्युज पाइसकेको फिल्मको ट्रेलर हाल ट्रेलर मुभी चार्टतर्फ नम्बर ३ मा छ। युट्युबमा ट्रेलर हेर्नेले यसको विषयवस्तुसँगै कलाकारको अभिनयको तारिफ छन्। बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको प्रशंसा भइरहेको छ।
स्वस्तिमासँगै ट्रेलरमा देखिएका रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटाको अभिनयलाई पनि दर्शकले मन पराएका छन्।
आमाछोरीको कथामा आधारित फिल्मको ट्रेलरमा बादी समुदायमा चलेको नाथिया जस्तो कु-प्रथा देखाइएको छ। छोरी रक्षाका लागि आमाले गर्ने संघर्ष ट्रेलरमा छ। फिल्ममा स्वस्तिमा आमाको भूमिकामा छिन्।
निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरिसकेका छन्। यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन्।
फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाएका छन्। दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शटसमा लोकप्रिय भइसकेका छन्। यो फिल्म वैशाख १८ गतेबाट रिलिज हुँदैछ।
यस फिल्मको सुटिङ बर्दियाको राजापुरमा छायांकन गरिएको हो। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायतको अभिनय छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दै छन्। विशाल थिएटरमा अभिनेता र निर्देशकका रूपमा काम गरिरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिन्यताका रूपमा चर्चित छिन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्।
कार्यकारी निर्माता प्रदीप भट्टराई रहेको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन्।
Shares

प्रतिक्रिया