गणेश देव पाण्डेले निर्देशनमा बन्ने फिल्म ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ। चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए।
यसको विस्तृत जानकारी सहितको ‘कास्टिङ कल’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पुरुष र महिला दुवैका लागि फरक फरक उमेर र शारीरिक विशेषता भएका कलाकारको आवश्यकता परेको उल्लेख छ।
२० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरूले आवेदन दिन सक्नेछन्। यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहारका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको माग गरिएको छ।
त्यस्तै, महिला कलाकारतर्फ १७ वर्षकी मंगोलियन युवती, १९ वर्षकी सेमी मंगोलियन युवती, १८/१९ वर्षकी मंगोलियन र आर्यन युवती, ३५-४० वर्षकी आर्यन, सेमी मंगोलियन वा मंगोलियन महिला र ६० वर्षकी आर्यन महिलाको आवश्यकता रहेको उल्लेख गरिएको छ।
कलाकार छनोटका लागि अडिसन कार्यक्रम असार १६ गतेदेखि १८ गतेसम्म (सोमबारदेखि बुधवार) सञ्चालन हुनेछ। अडिसन प्रत्येक दिन दिउँसो १ बजेबाट ६ बजेसम्म नेपाल फिल्म कलेज, पिंगलास्थान, सिनामंगलमा सञ्चालन हुने बताइएको छ।
निर्देशक पाण्डेले आफ्नो चलचित्रका लागि यथार्थपरक अनुहार र अभिनय क्षमता भएको नयाँ पुस्ताका कलाकारहरूलाई प्राथमिकतामा राखिएको छ।
पाथीभरा इन्टरटेनमेन्ट र अक्टोवर स्टुडियोजको प्रस्तुति तथा ल्याक्सी श्रेष्ठ र शुभम भट्ट निर्माता रहेको चलचित्र ‘पारी बुटोल’ले नेपाली समाजका विविध पात्र र परिवेशलाई समेट्ने लक्ष्य लिएको बताइएको छ।
Shares

प्रतिक्रिया