कला


सर्वनाम थिएटरमा फागुन १७ गतेबाट ‘इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल’ हुँदै

सर्वनाम थिएटरमा फागुन  १७ गतेबाट ‘इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल’ हुँदै

नेपालखबर
फागुन १५, २०८१ बिहिबार २०:३, काठमाडौँ

काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल हुने भएको छ। फागुन १७ गतेबाट सुरु हुने फेस्टिभल ५ दिनसम्म चल्नेछ।

इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुनेछ। महोत्सवमा जापान, भारत, चीन, थाइल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ।

‘शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जनबढी नाटकहरु प्रदर्शन हुनेछन्। 

नाटक तथा कला प्रदर्शनीसँगै जम्मा १३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशालाहरु पनि सञ्चालन हुनेछन्। प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरुले गराउनेछन्।

पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहद्वारा कार्यशालाहरु सञ्चालन हुनेछन्।

तेस्रो दिन फ्रान्सेली नाट्य निर्देशक मेक्सिम सिसड, दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताईवानी थिएटरहरु असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहनेछ।

अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समुह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन्। सबै कार्यशालाको समयावधि ३ घण्टाको रहनेछ र कार्यशालामा सहभागी हुनको लागि ५०० टिकटदर तोकिएको छ।

हङकङका मोक च्यू अगष्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानवअधिकार, समानताका लागि समर्पित रंगकर्मीहरुको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो। विश्वमा प्रजातन्त्र र लोकतन्त्रका लागि आवाज उठाउदैँ आएको रंगकर्मीको समूह र नेपाल जस्तो पवित्र भूमिमा महोत्सव आयोजना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको महोत्सवका सहअध्यक्ष मोक च्यूले बताए। 

सयौँ रंगकर्मीको जमघटले रंगकर्मीको सिर्जनाशिलतामा अझै निखार ल्याउने साथै महोत्सवमा हुने वर्कसप तथा छलफल तथा संवादले बैचारिक दृष्टिकोणमा समेत निखार ल्याउन सक्ने उनले बताए।

यो महोत्सवले कुनै पनि देशको प्रतिनिधित्व गर्ने नभई, देशभित्र रहेका मानिसहरुको कला, संस्कृति, रहनसहन, रितिरिवाज, परम्परा, पहिचान आदिको प्रतिनिधित्व गर्ने सर्वनामका निर्देशक तथा महोत्सवका सहअध्यक्ष अशेष मल्ल बताउँछन्। 

आफूपनि लामो समयसम्म प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि संर्घष गरिरहेको विगत सुनाउदैँ यो महोत्सवमा सबैसँग नाटक तथा संस्कृतिको आदानप्रदान गर्न पाउँदा आफूले अहोभाग्यको रुपमा ठानेको बताए।

यो महोत्सवलाइ जनमानसमा पुर्याउने हेतुले मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्समा र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमण समेत हुनेछ। 

महोत्सवमा फ्रान्सका म्याक्सिम सिसडको अ लिटल बर्ड इन द केज, बेलायतको इन्डी लिको नाटक इट वन्ट बि लङ नाउ, जापानी निर्देशक नात्सुको किरितानीको द ट्रान्स बोर्डर, नेपालबाट नाटककार अशेष मल्लको फेरि अर्को कुरु क्षेत्र, राज शाहको मनोक्रान्ति लगायतका नाटकहरु मञ्चन हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad