कला


न्यूयोर्कमा नेपथ्य, जताततै राष्ट्रिय झण्डा (तस्बिरहरू)

न्यूयोर्कमा नेपथ्य, जताततै राष्ट्रिय झण्डा (तस्बिरहरू)

नेपालखबर
भदौ १६, २०८१ आइतबार १५:२६, म्यानहटन (न्यूयोर्क)

हजारौँ दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्य’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्नपुगे। धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपालीभाषीहरू एक भएर बसौँ है।’

प्रतिउत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हलै थर्कमान हुनेगरी दर्शकले समर्थन जनाए।

अमृतको यो आह्वानसँगै अमेरिकाको शृंखलाबद्ध कन्सर्टमध्ये पाँचौँ आयोजना पनि न्यूयोर्कमा उत्तिकै भव्यतासाथ सम्पन्न भएको छ।

विश्वकै केन्द्र मानिने यो सहर, नेपाली लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा आफूलाई सबैभन्दा धेरैपटक प्रस्तुत गरेको सहर पनि हो।

यसपटक यो सहरमा नेपथ्य प्रवेश गर्दैगर्दा उत्साही नेपालीहरूको टोली परम्परागत पोसाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेका थिए। 

उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्यूयोर्क सहरमा भित्र्याइएको थियो।

निर्धारित समयअनुसारै कन्सर्ट शनिबारको बेलुकी ठीक नौ बजे सुरु भएको थियो।

नेपथ्यमा नयाँ तथा सार्वकालिक हिट गीतहरू प्रस्तुत गरिएको यो कार्यक्रममा, गीतहरूको बीचमा गायक अमृत गुरुङले बोलेका सामाजिक तथा सांस्कृतिक टिप्पणीहरूमा समेत दर्शकले उत्तिकै आनन्द मानेको देखिन्थ्यो।

उनले गीत प्रस्तुति सँगसँगै यसरी दर्शकसँग दोहोरो संवादको क्रम कार्यक्रमको अन्तिमसम्मै जारी राखेका थिए। कतिपय गीतहरू आफूले नेपालका जटिल भूभागहरूमा पदयात्राकै क्रममा तयार पारेको र कतिपय उतै संकलन गरेको जानकारी पनि उनले दिएका थिए।

कन्सर्ट अवधिभर दर्शकहरूले भरिएको सिङ्गै ‘टर्मिनल फाइभ’ हल बत्ती, आवाज र उफ्रिरहेका खचाखच भिडको उत्साहले उचालिएको थियो।

‘नेपाली भाषा रहुन्जेल हामी नेपालीहरू रहिरहने छौं,’ अमेरिका बस्दै आएका दर्शकहरूलाई अमृतले अनुरोध गरे, ‘संसारमा जतासुकै गए पनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषासमेत, नत्र नेपाली भाषामार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है।’ 

कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँ–गाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता प्रस्तुति मार्फत चरमोत्कर्षमा पुर्‍याएको देखिन्थ्यो। 

न्यूयोर्क विश्वविद्यालयको उडहल अस्पतालमा रेसिडेन्ट डाक्टर रहेका समन अर्याल यो ठाउँ आएको दुई वर्ष भयो। उनी पहिलोपटक नेपथ्यको कन्सर्ट अनुभव गरिरहेका थिए।

‘सबैको समयको कदर गर्दै समयमा सुरु भएको यो कार्यक्रमको प्रत्येक क्षण विशेष रूपमा सिँगारिएको महसुस भयो,’ डा. अर्याल भनिरहेका थिए, ‘मञ्चका कलाकारसँगै दर्शकदीर्घाले एकसाथ गाइरहेको देख्दा, यो त जीवनमै एकपटक लिनैपर्ने रमाइलो अनुभव जस्तो लग्यो।’

यो कन्सर्ट हेर्नकै निम्ति नेपाली साथीको साथ लागेर बंगलादेशी मूलकी २२ वर्षिया विद्यार्थी माया कर्माकर पनि आएकी थिइन्।

‘संगीतले भाषाको सीमारेखा नाघ्दो रहेछ भन्ने उदाहरण मेरो निम्ति नेपथ्यको आजको प्रस्तुति रह्यो,’ मायाले थपिन्, ‘मञ्चबाट आइरहेको शक्तिशाली प्रभाव, तल दर्शकहरूको एकत्रित ऊर्जा, जताततै प्रशंसकहरू गाइरहेका नाचिरहेका, मुख्य गायकका बोलीदेखि लिएर हाउभाउसम्म प्रत्येक गतिविधिमा सम्मोहन, पृष्ठभूमिमा बग्दै गरेका नेपालका मनमोहक दृश्यहरूदेखि हलभित्रका चकाचौँध बत्तीहरूको प्रयोगले सिंगो परिवेशै गजबको लाग्यो।’

लोरेन ग्राबीले साउन्ड इन्जिनियरको काम थालेको ३० वर्ष भयो। बितेको १५ वर्षयता भने उनी यसै टर्मिनल फाइभमा कार्यरत छन्।

‘मैले दुनियाँभरका धेरै प्रकारका ब्यान्डहरूको कन्सर्टमा काम गरेको छु। नेपथ्यसँगको अनुभव भने यो रक ब्यान्ड भइकन पनि यसका संगीतमा लुकेका युनिक नोटहरूले गर्दा बेग्लै स्वादको लाग्यो,’ लोरेन भन्दै थिए।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

‘हामीले धेरै कार्यक्रमहरू आयोजना गर्दै आएको भए पनि नेपथ्य चाहिँ विशेष रह्यो,’ आयोजक टोलीका थिले थकालीले भने, ‘कन्सर्ट सकिएपछि पनि मलाई असंख्य दर्शकहरूले फोन र मेसेज गर्दै धन्यवाद दिइरहेका छन्।’

आफूहरूले चाहना र मेहनत गरे बमोजिम नै यसपालाको नेपथ्य कन्सर्ट, न्युयोर्कमा हालसम्म प्रस्तुत नेपाली कार्यक्रममध्ये ऐतिहासिक बन्न पुगेको उनको प्रतिक्रिया थियो।

३५ वर्षदेखि न्यूयोर्क बस्दै आएका अनिल शाहीले आफ्नो फेसबुकमा साथीहरूसँग नाच्दै गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘नेपथ्यमय भएसि बुढेसकालाँ नि बैँस यस्तरी उर्लदो र’च के!’

यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला पाँच कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब छैटौं प्रस्तुतिका लागि नेपथ्य डी।एम।भी क्षेत्रको मेरिल्यान्ड पुगिसकेको छ।

यहाँस्थित ‘दी हल एट लाइभ’मा सेप्टेम्बर १ तारिखका दिन ब्यान्ड प्रस्तुत हुँदै छ। त्यस साँझ ठीक साढे छ बजे ढोकाहरू खुला हुनेछन् भने ठीक आठ बजेबाट कन्सर्ट सुरु हुनेछ।

मेरिल्यान्डको आयोजना सम्पन्न भएपछि अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा सातौं कन्सर्टसँगै यस वर्षको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad