ad ad

कला


‘जेरी अन टप’ बाट बिनाजानकारी हटाइएको आनाको गुनासो

‘जेरी अन टप’ बाट बिनाजानकारी हटाइएको आनाको गुनासो

नेपालखबर
असार १४, २०८१ शुक्रबार १६:२६, काठमाडौँ

सन् २०१४ मा रिलिज भएको ‘जेरी’ मा अनमोल केसी र आना शर्मा मुख्य भूमिका थियो। व्यवसायिक रुपले सफल यस फिल्ममा अनमोल र आनाको जोडीलाई निकै रुचाइएको थियो।

जेरी प्रदर्शनको १० वर्षपछि अहिले ‘जेरी’ को दोस्रो श्रृंखला छायाङ्कनको तरखरमा छ। जसको मुख्य भूमिकाको लागि एकवर्षअघिनै अनमोलसहित आना अनुबन्धित भइसकेका थिए। तर, केही दिनअघि मात्रै आना बाहिरिएको र जसिता गुरुङको इन्ट्री भएको खबर बाहिरिएको थियो।

जुन विषयमा आनाले पहिलोपटक मुख खोलेकी छिन्। आनाले फेसबुकमार्फत आफूलाई जानकारी नदिएर हटाएको र आफ्नो ठाउँमा अरुलाई राखेको उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि नै मैले आफ्नो बिसन्चोबारे टोलीलाई जानकारी दिइसकेकी थिएँ। त्यही दिन उनीहरूले मेरो ठाउँमा अरू कसैलाई अनुबन्ध गरिसकेको जानकारी दिए। यसबारे मलाई पहिले कुनै सूचना र जानकारी दिइएको थिएन। फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें। उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ। यसले मलाई ठूलो चोट दियो।’

यस्तै नियत भएर निर्माणटिमले सम्झौता हस्ताक्षर गरौं भन्दा पटकपटक आलटाल गरेको समेत उनको आरोप छ।

‘मैले व्यावासायिक उत्तरदायित्व ननिभएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ? ‘सम्झौतामा हस्ताक्षर गरौं न’ भनिरहँदा उनीहरूले किन पटक पटक आलटाल गरिरहे? सम्झौता नगरिकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे?’

भावनात्मक मूल्य जोडिएको फिल्म भएकाले आफू दुइ वर्षदेखि यस फिल्ममा जोडिएको समेत समेत उनले उल्लेख गरेकी छिन्। बिना जानकारी हटाएर आफूमाथि गलत गरिएको उनको भनाइ छ।

‘लुक टेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनु पर्छ भन्दिनँ। कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो। मलाई यसबारे राम्ररी थाहा छ। र, यो मेरो मुद्दा पनि होइन। तर, जसरी मेरो मानमर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो— त्यो सर्वथा गलत हो। फिल्म टोलीले महिनौंसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे। तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन। यो कहाँको व्यावसायिक धर्म हो?’ उनले प्रश्न सोधेकी छिन्।

यी सम्पूर्ण घटनाक्रम अस्वाभाविक रहेको बताएकी छिन्।

उनी लेख्छिन्, ‘यी सम्पूर्ण घटनाक्रम मेरा लागि अस्वाभाविक हुन्। मेरो मन चिरिएको छ। बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्वसूचनाबिनै हटाइँदा मन दुख्नु स्वाभाविक हो। यदि उनीहरूको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .