ad ad

कला


दयाहाङभन्दा ‘टप हिरो’ बन्न चाहन्छन् ‘गाउँ आएको बाटो’का बिन्द्रे

भोजपुरमा यसरी भयो कसैको डर नमान्ने, फ्याट्ट कुरा भनिहाल्ने बिन्द्रेको खोजी
दयाहाङभन्दा ‘टप हिरो’ बन्न चाहन्छन् ‘गाउँ आएको बाटो’का बिन्द्रे

चकचके प्रसन राई काममा निकै गम्भीर छन्


लक्ष्मी बलायर
जेठ २७, २०८१ आइतबार ६:३२, काठमाडौँ

पछिल्लो समय चर्चामा रहेको फिल्म ‘गाउँ आएको बाटो’ शुक्रबारदेखि रिलिज भइसकेको छ। विभिन्न अन्तर्राष्ट्रिय फेस्टिबलमा पुगिसकेको यो फिल्म नवीन सुब्बाको निर्देशनमा तयार भएको हो।

निर्देशक नवीनसहित ‘गाउँ आएको बाटो’का कलाकारद्वय दयाहाङ राई र पशुपति राई चिनिएकै नाम हुन्। तर, यस फिल्ममा अभिनय गरेका एक नयाँ कलाकार अहिले चर्चामा छन् : प्रसन राई। जो फिल्मको हिरो हुन् भन्दा फरक नपर्ला! किनकि ‘गाउँ आएको बाटो’ को कथा प्रसनवरिपरि नै घुमेको छ।

फिल्ममा प्रसन दयाहाङका छोरा बनेका छन्। बिन्द्रेको भूमिकामा देखिएका उनको उपस्थितिले कहिले दर्शकलाई हसाउँछ त कहिले भावुक बनाउँछ। फिल्मभरि प्रसनको अभिनय सशक्त लाग्छ।

पर्दामा जीवन्त अभिनय गरे पनि प्रसन पहिलोपटक क्यामराअघि उभिएका थिए। भोजपुरको बालंखामा जन्मेका उनको यो फिल्मअघि दैनिकी सामान्य थियो। स्थानीय विद्यालमा कक्षा ३ मा पढ्थे।

तीन वर्षअघि एकदिन ‘गाउँ आएको बाटो’ को टोली बाल कलाकार खोज्दै प्रसनको स्कुल पुगेछ। जहाँ फिल्म खेल्न चाहने बालकबारे सोधिखोजी भयो। सुरुमा प्रसनले फिल्म खेल्दिनँ भनेका थिए। तर, आफूसँगैका साथीहरू जान थालेपछि उनलाई पनि रहर लाग्यो। साथीसँगै प्रसन पनि वर्कसपमा जान थाले।

फिल्मको बिन्द्रे चकचके अनि निडर स्वभावको छ। कसैको डर नमान्ने अनि फ्याट्ट कुरा भनिहाल्ने। यथार्थमा पनि ठ्याक्कै त्यस्तै छन् प्रसन। मंगलबार मण्डला थिएटर पशुपतिसँगै पुगेका प्रसन मज्जाले खुले।

‘फिल्म खेल्नको लागि पहिले त अर्कैलाई छानेको थियो। स्कुलतिर छान्न आएको थियो। सुरुमा मैले नाइँ भनेको थिएँ। किनकि मलाई केही त थाहा थिएन। पछि साथीहरूसँग गएपछि राम्रो लाग्दै गयो,’ प्रसनले खुसी हुँदै भने।

फिल्मको चरित्रजस्तै स्वभाव भएकाले प्रसनलाई छनोट गरिएको सुनाउँछिन् पशुपति।

उनले भनिन्, ‘१५/१६ मा दुईजनालाई छानेको थियो। ऊ एकदम सोझो र इनोसेन्ट थियो। तर, प्रसन चाहिँ उटपट्याङ खालको थियो। हामीलाई क्यारेक्टर पनि रमाइलो चाहिएको थियो।’

फिल्म सुटिङ हुँदा प्रसन जम्मा ७/८ वर्षका थिए। मुख्य भूमिका भएकाले उनको फिल्मभित्र धेरै दृश्य थियो। जसले पटकपटक खिच्दा प्रसन झर्को मान्थे। बेला बेला भन्थे ‘छोडिदिनु न हो ब्रेक चाहियो नि।’ घरी सुटिङसेटबाटै भागेर खेलिरहेका साथीकहाँ जान खोज्थे।

‘सुरूमा प्रसनलाई निकै गाह्रो भएको थियो। फिल्ममा धेरै एङ्गलबाट खिच्नुपर्ने हुन्छ। प्राविधिक पार्ट नबुझ्दा कति लिएको, यो लास्ट हो। अब म गर्दिनँ भन्थ्यो। साथी खेलेको देखेर म पनि आउँछु भन्थ्यो। तर, बिस्तारै सुटिङको माहोलमा भिज्दै गयो। सबैले माया गरेको देखेर उसलाई पनि म विशेष रहेछु भन्ने लाग्यो होला!’ पशुपतिले भनिन्।

फिल्मको पात्र बिन्द्रे बालंखाकै राई समुदायकै हुन्छन्। आफ्नै गाउँको कथा, भाषा र परिवेश भएकाले प्रसनलाई खासै गाह्रो भएन। आफू जे छन्, त्यही रुपमा पर्दामा देखिए उनी। त्यसैले प्रसनले पात्रभन्दा वास्तविक जीवन जिउन पाएका छन्।

खेल्न भनेपछि मरिहत्ते गर्थे प्रसन। त्यसलै निर्माण टिमले बस्ने ठाउँमा उनको लागि खेल्ने व्यवस्था गरिदिएको थियो। साथीहरूसँग खेल्न पाउँदा दंग पर्थे।

सुटिङ अनुभव सुनाउँदै प्रसनले भने, ‘फिल्म खेल्दा केही फरक लागेन। त्यही हो सुटिङमा खेल्न पाइन्नथ्यो। बस्ने ठाउँमा खेल्न पाइन्थ्यो। बिल्डिङ (बस्ने ठाउँ) पुगेपछि चाहिँ खेल्थेँ। क्रिकेट, फुटबल ल्याउनुभएको थियो। साथीहरू त्यतै आउँथे। बबाल मजा आयो।’

चकचके भए पनि प्रसन काममा निकै गम्भीर रहेको पशुपति सुनाउँछिन्।

‘प्रसनले राम्रो अभिनय गरेको छ। ऊ काममा निकै सिरियस छ। कुनै सिनबारे भन्दा ऊ क्यारेक्टरमा आइहाल्थ्यो। खासै सम्झाउनै पर्थेन। सुत्नेबेलामा पनि भोलि मेरो सट छ कि नाइँ भनेर सोध्ने। निकै जिम्मेवार भइसकेको थियो।’

प्रसन दयाहाङको ‘कबड्डी’ र पछिल्लो फिल्म ‘डिग्री माइला’ पनि हेरेको सुनाउँछन्। पहिलो फिल्म दयाहाङसँगै खेलेका उनलाई सोधियो, दयाहाङजस्तै बन्न मन छ?  

प्रसनले फ्याट्टै जवाफ फर्काए, ‘उहाँभन्दा टप हिरो बन्छु।’

साथै उनले आफूलाई भ्लगर समेत बन्न मन भएको बताए। विगत ३ वर्षदेखि प्रसन काठमाडौँमा होस्टेलमा बसेर पढ्छन्। सस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुल कक्षा ३ मा पढिरहेका उनको पढाइको जिम्मा ‘गाउँ आएको बाटो’ टिमले लिएको छ।

रिलसँगै रियल आमा बनिरहेकी पशुपति
फिल्ममा पशुपति प्रसनको आमाको भूमिकामा छिन्। रिल मात्रै होइन, उनी रियलमै प्रसनको आमाको जिम्मेवारी निर्वाह गरिरहेकी छिन्। विगत एक सातादेखि प्रसन पशुपतिसँगै छन्। प्रसनलाई होस्टेलबाट ल्याउनेदेखि घुमाउने र हेरचाह गर्ने पशुपतिले गरिरहेकी छिन्।  

दुई/तीनवर्षदेखि प्रसनकी आमा दुबईमा छिन्। बुवालाई गाउँबाट सहर पुग्न गाह्रो हुन्छ। यस्तोमा पशुपति प्रसनको आमा बनेकी छिन्। स्कुलको छुट्टीमा घर ल्याउनेदेखि प्यारेन्टस् डेमा समेत पुगिरहेकी हुन्छिन् उनी। 

चार महिना सुटिङ हुँदा प्रसन पशुपतिसँगै बसे। सेटभित्र होस् वा बाहिर प्रसनको केयर गर्ने जिम्मा उनकै थियो। जसले प्रसनसँग छुट्टै किसिमको अपनत्व भएको पशुपतिको भनाइ छ।

‘चार महिनाको सुटिङमा प्रसन मसँग बसेको थियो। रिलमा धेरैको आमा बनेको छु। तर, उसँग छुट्टै क्लोजनेस भयो। मलाई एकदम माया लाग्छ उसको,’ उनले भनिन्।

जब प्रसनलाई काठमाडौँमा पढाउने निर्णय भयो। तब पशुपति सहमत भएकी थिइनन्। किनकि अभिभावक नहुँदा गाउँमा बच्चा बिग्रेला कि भन्ने उनलाई डर थियो। सुटिङको लागि बाहिर जानुपर्ने हुँदा आफू समय दिन सक्ने थिइनन्।

‘सुरुमा प्रसनलाई धेरैजसो सिकुमाले हेरेकी थिइन्। उनी अमेरिका गएपछि एक वर्षयता मैले नै केयर गरिरहेकी छु। प्यारेन्टस् डेमा पनि जान्छु। मैले कति सक्छु, त्यति गर्छु। प्रसनलाई थिएटर क्लासमा पनि सहयोग गर्छु,’ पशुपतिले सुनाइन्।

जन्मदिने आमा टाढा हुँदा प्रसन पनि पशुपतितिर ढल्किएका छन्। पशुपतिको माया र स्नेहले उनलाई तानिरहेको छ।

अहिले कुन आमाको माया बढी लाग्छ भनेर सोध्दा प्रसनले सटिक जवाफ फर्काए, ‘यता भएको भए मम्मीकै लाग्थ्यो। तर, अहिले उहाँ (पशुपति) को लागिरहेको छ।’

दुवै आमामा रहेको फरक सोध्दा पनि उनको उत्तर थियो, ‘घरको र फिल्मको आमा एउटै लाग्यो। किनकि दुइटैले माया गर्नुहुन्छ नि।’

प्रसनका कुरा सुनेर पशुपति मुसुक्क हाँसिन्।

यसरी गरिएको थियो बिन्द्रेको खोजी
फिल्मको कथाअनुसार एकजना बाल कलाकार चाहिने भयो। जुन जिम्मेवारी पाएका थिए फिल्मका कास्टिङ डाइरेक्टर केदार श्रेष्ठले।

सुरुमा त काठमाडौँबाट कलाकार लैजानेबारे छलफल भएको थियो। तर, केदारले स्थानीय बाल कलाकार खोज्ने प्रस्ताव राखे।

‘काठमाडौँमा वर्कसप लिएका कलाकार नभएका होइनन्। तर, कथा जुन ठाउँको हो, त्यहीँ यो चरित्र भेटिन्छ कि भन्ने लोभ थियो। काठमाडौँबाट लिएर गएको कलाकारले पनि उत्तिकै मेहनत गर्ला, लवजमा पनि काम गर्ला। तर, स्थानीय कलाकारमा त त्यो लवज सहजै भेटिन्छ। त्यसैले म बिन्द्रेको खोजीमा गाउँतिर गएँ,’ श्रेष्ठले भने।

फिल्मको कथाअनुसार केदारको दिमागमा बिन्द्रेबारे एक किसिमको स्केच बनिसकेको थियो। अलि चञ्चले, नयाँ कुराप्रति आकर्षित भइहाल्ने, माग गरिहाल्ने, झनक्क रिसाइहाल्ने, छिटो प्रतिक्रिया दिइहाल्ने स्वभावको थियो बिन्द्रे।

जसको खोजीको लागि केदार भोजपुरको आमचोक गाउँपालिकामा पुगे। जहाँ १५/२० विद्यालय घुमेपछि इच्छुक बालकहरूलाई वर्कसपमा बोलाइएको थियो। जसमध्ये केदारको नजर संगम राईमा परेको थियो। जसलाई उनले आफूसँगै होटलमा समेत राखेका थिए। किनकि संगमको घर टाढा थियो।

काठमाडौँमा फिल्म घोषणा भइरहँदा केदार भोजपुरतिरै थिए। सहायक कलाकार तय भइसकेको थियो, तर फिल्मको मुख्य कलाकार बिन्द्रेको नाम पठाउन केदारलाई गाह्रो परिरहेको थियो।

‘एकजना त मसँगै बसिरहेको बालक थियो, अर्कोतिर प्रसन। दुईमा एकजनाको नाउँ पठाउनु थियो। मसँगै बसेको बालक एकदम ज्ञानी थियो, बिन्द्रे चकचके। तर बिन्द्रेमा नेतृत्व गर्ने क्षमता थियो। पटकथाले पनि उस्तै बिन्द्रे मागेको थियो। त्यसैले मैले अन्तमा प्रसनकै नाम पठाएँ। प्रसनमा त्यो चरित्रको सबै टेक्स्चर थियो, त्यसैले उसलाई रोजेँ।’

आफूले सोचेअनुसार प्रसनले बिन्द्रेको चरित्र मज्जाले निर्वाह गरेको सुनाउँछन् केदार।

भन्छन्, ‘वर्कसपमा बालबालिकालाई मैले फिल्मको दृश्यमाथि अभिनय गर्ने वातावरण बनाइसकेको थिएँ। त्यसलाई म मेरो भाषामा भाँडाकुटी भन्थेँ। कुनै दृश्यमा अभिनय गर्नुपरे, भाँडाकुटी खेलौँ भन्थेँ, उनीहरू तयार हुन्थे। त्यसपछि उनीहरूलाई चरित्र दिन्थेँ, अनि उनीहरू त्यसमा अभिनय गर्थे। वर्कसपमा यसरी खेल्दै उनीहरूले अभिनय सिकिसकेका थिए। सुटिङको केही क्लिप्स हेरिसकेपछि बिन्द्रेको लागि प्रसन रोजेर ठिक गरेछुजस्तो लागेको थियो।’  

अहिले त प्रसनलाई रोजेकोमा दंग छन् केदार। किनकि प्रसनले निर्वाह गरेको बिन्द्रे चरित्रको निकै चर्चा भइरहेको छ। वर्कसपमा बालबालिकालाई स्वतन्त्र तरिकाले सिकाउँदा बालकलाकारले उत्कृष्ट अभिनय गर्न सक्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .