कला


धमाधम बन्दैछन् टेलिसिरियल, किन बढ्दैछ आकर्षण?

धमाधम बन्दैछन् टेलिसिरियल, किन बढ्दैछ आकर्षण?

लक्ष्मी बलायर
माघ १४, २०८० आइतबार ७:२४, काठमाडौँ

हालै सञ्चारकर्मी शिशिर भण्डारीले 'फोटो फिरिममा' टेलिशृंखला सुरु गरे। आफैले लेखेको चर्चित गीत 'फोटो फिरिम' शीर्षकमा उनले बनाएको सिरियलको दुई वटा एपिसोड युट्युबमा सार्वजनिक भइसकेका छन्।

यसअघि असोजमा पनि दुईवटा सिरियल प्रसारणमा आए। सुनिशा बजगाईंको मुख्य भूमिकामा 'सीता' बन्यो। र, राजु पौडेल (राजु मास्टर) ले पनि सिरियल 'सकस' ल्याए। यी दुवै सिरियलहरु अहिले युट्युबमा हिट छन्। झण्डै दुइ महिनाअघि आएको 'सहरिया बुहारी' पनि युट्युबमा छ।

टेलिसिरियल जगतमा प्रज्ञा जोशी पुरानो नाम हो। हाल प्रज्ञा 'माया', 'सहारा', 'पार्वती' र 'भाग्यरेखा' जस्ता सिरियल निर्माण गरिरहेकी छिन्। फेरि नयाँ सिरियल बनाउने घोषणा गरेकी छिन्। पुरानै सुपरहिट सिरियल 'सिन्दुर' नामबाट उनले सिरियल बनाउन लागेकी हुन्। केही भाग सुटिङ भइसकेको यो सिरियल चाँडै प्रसारण हुँदैछ।

त्यस्तै, माघ १५ गतेबाट सोमबार ८ बजेबाट हिमालय टेलिभिजनबाट नयाँ सिरियल 'डिङ्नो : जीवनको सहारा' प्रसारण हुँदैछ। दाङको कथामा बनेको यस सिरियललाई विष्णु बुढाथोकीले निर्देशन गरेका हुन्।

एक जमाना थियो नेपालमा टेलिशृंखला हेर्ने एउटै माध्यम थियो नेपाल टेजिभिजन। त्योबेला टेलिभिजनमा आउने सिरियलहरु दर्शकहरुले नछुटाई हेर्थे। सिन्दुरसहित हिजोआजका कुरा, तीतो सत्य, जिरे खुर्सानी, जीवन चक्र, मेरी बास्सै लगायतका टेलिसिरियलहरु लोकप्रिय थिए।

तर, टेलिभिजनको घट्दो क्रेजसँगै सिरियलको निर्माणमा पनि कमी आउन थाल्यो। बीचमा सुस्ताएको नेपाली सिरियलको निर्माण अहिले पुन: फस्टाएको छ।

किन बढिरहेको छ सिरियल निर्माण?
अर्जुन घिमिरे (पाँडे) विगत १० वर्षदेखि कमेडी सिरियलको निर्माणमा सक्रिय छन्। घिमिरे हाल कुमार कट्टेल (जिग्री) सँग मिलेर 'सक्किगो नि' को लेखन र निर्देशन गरिरहेका छन्। कमेडी जनराको यो सिरियल दर्शकमाझ लोकप्रिय छ। डिजिटल माध्यमको सहज पहुँचका कारण सिरियल निर्माणमा आकर्षण बढिरहेको घिमिरे सुनाउँछन्।

'पहिले सिरियल प्रसारण गर्न टेजिभिजन चाहिन्थ्यो। प्रतिभा हुँदा पनि टेलिभिजनसम्म धेरैको पहुँच हुँदैनथ्यो। अहिले डिजिटल प्लाटफर्मको पहुँच राम्रो छ। युट्युबजस्तो प्लाटफर्म जसले पनि सहजै प्रयोग गर्न सक्छन्। जसकारण पनि अहिले सिरियल बन्ने क्रम बढिरहेको हो,' उनले भने।

त्यसैगरी, युट्युबमा सिरियललाई दर्शकहरुको राम्रो साथ हुनु पनि अर्को कारण मान्छन् उनी। भन्छन्, 'अहिले टेलिभिजनका दर्शकहरु सबै युट्युबमा सिफ्ट हुनुभएको छ। राम्रो कन्टेन्टका सिरियललाई उहाँहरुले निकै रुचाउनु पनि भएको छ। युट्युबको ट्रेन्डिङमा अहिले धेरैजसो सिरियलको कब्जा हुन्छ। जसकारण निर्माताहरुले पनि टेलिभिजनभन्दा युट्युबकेन्द्रित सिरियल बढी बनाइराख्नुभएको छ।'

निमात्री प्रज्ञा जोशी पनि टेलिसिरियलमा दर्शकहरुको चासो हुँदा सिरियल निर्माणमा वृद्धि भइरहेको सुनाउँछिन्। लामो समयदेखि यसै क्षेत्रमा भएकाले दर्शकलाई नयाँ कन्टेन्ट दिन आफूले नयाँ सिरियल ल्याउन लागेको उनले सुनाइन्।

'सिन्दुरलाई दर्शकहरुले निकै मन पराउनु भएको थियो। अहिले मैलै निर्माण गरेका सिरियललाई दर्शकहरुले माया गरिरहनुभएको छ। आफू पहिल्यैदेखि यसै क्षेत्रको भएकाले नयाँ सिरियल बनाउन मन लाग्दोरहेछ। दर्शकलाई पनि नयाँ कन्टेन्टको केही दिउँ लाग्दो रहेछ,' उनले भनिन्।

प्रज्ञा पनि घिमिरेकै कुरामा सहमत छिन्। युट्युबको सहजताले पनि सिरियल निर्माण बढिरहेको सुनाउँछिन् उनी।

'अहिले प्रायजसोले युट्युब च्यानल खोल्नुभएको हुन्छ। अनि धेरैले आफूले जानेको काम गरौँ न त भनेर सिरियल बनाउने पनि हुनुहुन्छ। फेरि सिरियलहरु पनि चलिरहेका छन्। जसले पनि निर्माण बढ्दो छ,' उनले भनिन्।

राजु मास्टरले 'सकस' का अलावा 'जुठे' बनाउँदै आएका छन्। युट्युब लगायतका डिजिटल माध्यमबाट राम्रो आम्दानी हुँदा सिरियल निर्माणमा रुचि बढेको उनको भनाइ छ। भन्छन्, 'अहिले टेलिभिजनमा कार्यक्रम हेर्न छोडेर युट्युबमा आए। युट्युबमा भ्युजको आधारमा पैसा पनि मिल्छ। यसरी राम्रो कमाइ हुँदा पनि सिरियलहरु धमाधम बनिरहेको छ।'

पहिलेको दाँजोमा सिरियल मेकिङ पनि राम्रो भइरहेको उनको धारणा छ। दर्शकको स्वादअनुसार कन्टेन्ट पनि परिमार्जित हुँदा सिरियललाई दर्शकहरुले रुचाइरहेको तर्क छ उनको।

सिरियलको निर्माण बढ्दा कलाकारसहित प्राविधिकलाई पनि सहज भएको उनको भनाइ छ।

'धमाधम सिरियल बन्दा कलाकारदेखि प्राविधिकले पनि काम पाउनुभएको छ। अहिले म्युजिक भिडिओ र फिल्मका मान्छे पनि सिरियलमा आइसके। जुन राम्रो कुरा हो। सिरियल सदाबहार हुन्छ। जसले सिरियलका कलाकार घरमा खाली बस्नु परेको छैन। करौडौँ खर्च गरेर बनाएका सयवटा फिल्ममध्ये चार/पाँच चल्छन्। सिरियलहरु चाहिँ ७० प्रतिशत चलिरहेका छन्।'

डिजिटल प्लाटफर्मको बढ्दो प्रयोगसँगै सिरियलमा लगानी बढेको डिङ्नोका निर्देशक विष्णु बुढाथोकी सुनाउँछन्। 'पहिले पो टेलिभिजन मात्रै हुन्थ्यो। युट्युब आएपछि सिरियलबाट आम्दानी पनि राम्रो हुन्छ। धेरै दर्शकमाझ पनि जाँदा सिरियलप्रति निर्माताको आकर्षण बढिरहेको छ।'

मनोरञ्जनका साथै समसामयिक विषयवस्तुका सिरियल निर्माण हुँदा दर्शकहरुको चासो बढिरहेको उनले बताए।

एउटै एपिसोड बनाउन पाँच लाखसम्म खर्च!
सक्किगोनिको सुटिङ काभ्रेको पाँचखालमा हुन्छ। कलाकार र प्राविधिकको ४०/५० जनाको टिम काठमाडौँबाट गएर काभ्रेमा जानुपर्ने हुन्छ। जसकारण सिरियल निर्माण खर्चिलो रहेको अर्जुन घिमिरे बताउँछन्।

'हामी कन्टेन्ट र क्वालिटीमा काम गरिरहेका हुन्छौँ। ४०/५० जनाको टिम गएर काभ्रेमा सुटिङ गर्छौँ। यो हिसाबले सिरियल मेकिङ पनि गाह्रो छ। कस्ट्युमदेखि प्रप्पको प्रयोग बढी खर्च लागिरहेको हुन्छ। कुनै एपिसोड एक/दुई लाखमा पनि बन्छ। कुनैमा भने ४/५ लाखसम्म पनि खर्च आउँछ,' उनले भने।  

कन्टेन्टमा ध्यान दिनुका साथै सिरियल निर्माणमा निरन्तरता दिँदा टिक्न सकिने उनी सुनाउँछन्। डिजिटल प्लाटफर्मले आम्दानीको बाटोहरु खुलेको समेत उनको भनाइ छ। 

'हामीले एकमुष्ठ रुपमा टेलिभिजनसहित युट्युबको जिम्मा एजेन्सीलाई दिएका छौँ। उहाँहरुले प्रत्येक एपिसोडको एउटा निश्चित रकम दिनुहुन्छ। यसै सिरियलबाट कलाकार र प्राविधिकको टिम नै सर्भाइव भएको छ। राम्रो कन्टेन्ट र दर्शकहरुलाई पच्ने सिरियल हुँदा चल्छ। अहिले आम्दानीको पाटोहरु धेरै हुँदा सजिलो भएको छ।'

फिल्मभन्दा पनि सिरियलको क्रेज राम्रो भएको उनले बताए। 'नेपालमा तीन/चार करोडको फिल्म बनाउँछन्। एउटा सिरियलको जत्तिको पनि कन्टेन्ट हुँदैन। सिरियललाई होच्याउने र सहयोग नगर्ने प्रवृत्ति रहेछ। सिरियलकै हिसाबले हाम्रो हप्तैपिच्छे आउने कन्टेन्टको भ्युज बढी आइरहेको हुन्छ।'

राजु पौडेल एउटा एपिसोडमा १ लाखसम्म खर्च आउने बताउँछन्। 'आफैँ निर्देशन र लेखन गरेर पनि एउटा एपिसोडमा १ लाख खर्च आउँछ। महिनामा चारवटा एपिसोड बनाउनुपर्छ। त्यो लगानी उठाउनलाई युट्युबमा १० लाख भ्युज आउनुपर्छ। हाम्रो फेसबुक पेज पनि छ। टिभीलाई दिन्छौँ। सामान्य डिजिटल एडहरु छन्। दर्शकको मायाले सर्भाइव हुन सकिएको छ,' उनले भने।

निर्देशक विष्णु पनि सिरियल बनाउन राम्रै खर्च लाग्ने बताउँछन्। गाउँले परिवेशको 'डिङ्नो' सिरियललाई दाङ पुगेर छायाङ्कन गरिएको हो।

'सिरियललाई मौलिक बनाउन हामी सुटिङ गर्न काठमाडौँबाट दाङसम्म गएका थियौँ। १२ एपिसोडसम्म छायाङ्कन भइसकेको छ। दर्शकले अभिनयसहित क्वालिटी पनि रुचाउनु हुन्छ। क्वालिटी मेन्टेन गर्दा सामान्य मुभी बनाउने जति खर्च हुन्छ। एउटा एपिसोड बनाउँदा २ देखि ३ लाख जान्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .