कला


सिद्धार्थले छाडेपछि यशोधराको मनोदशा भन्ने नाटक 'गुलाफ' (भिडिओ)

पहिलोपटक संवादविहीन नाटकमा दिया मास्के र सरिता शाह

लक्ष्मी बलायर
पुस ११ , काठमाडौँ

आठ वर्षअघि कमला वस्तीलाई प्रसव व्यथाले बेस्सरी च्यापेको थियो। नर्वेस्थित अस्पतालको बेडमा उनी छट्पटाइरहेकी थिइन्। उनका श्रीमान् रामहरि ढकाललाई पत्नीको वेदना देख्दा असह्य हुन्थ्यो। श्रीमतीको वेदना हेर्न नसकेर बाहिर निस्कन खोज्थे। तर, नर्सहरुले बाहिर नजानु भनेपछि श्रीमतीको पीडा टुलुटुलु हेर्न बाध्य भए।  

सात/आठ घण्टाको लामो व्यथापछि छोराको जन्म भयो। जब बच्चा जन्मियो, तब उनकी श्रीमतीको मुहारमा एकाएक मुस्कान छायो। सात/आठ घण्टाको पीडा चटक्कै बिर्सिइन् उनले। पहिलो सन्तानलाई काखमा लिँदा रामहरि पनि निकै खुसी भए।

तर, सोहीबेला उनले यशोधरालाई सम्झे। सोचे, 'बच्चा जन्मिँदा यस्तो खुसीको अनुभूति हुँदोरहेछ। आखिर यस्तो खुसीको क्षणमा सिद्धार्थ गौतमले कसरी यशोधरालाई छाड्न सके होलान्?'

किनकि सिद्धार्थ गौतम पत्नी यशोधरा र छोरा राहुललाई छाडेर हिँडेका थिए। त्यो बेला यशोधराको मन के भयो होला? जुन प्रश्नले रामहरिलाई सताइरह्यो।

त्यतिखेर मनमा उब्जेको प्रश्नलाई ढकालले आठ वर्षपछि 'गुलाफ: यशोधराको जागरण यात्रा’ नाटकमार्फत प्रस्तुत गर्न लागेका छन्। डेढ वर्षअघिबाट यशोधराको कथामा काम गरिरहेको उनी बताउँछन्।

'हुन त म पहिलेदेखि बुद्धको विचारबाट प्रभावित थिएँ। तर, यो कथाको आइडिया चाँहि आठ वर्षअघि क्लिक भयो। यशोधराको कुरा सम्झेपछि मैले बुद्धको बारेमा झन् अध्ययन गरेँ। बुद्धको बारेमा धेरै लेखिए पनि यशोधराको बारेमा खासै लेखिएको रहेनछ। सिद्धार्थसँगै यशोधरासँगको सम्बन्धबारे बुझ्न थालेँ। धेरै वर्षको अध्ययनपछि डेढ वर्षदेखि यो नाटकको तयारीमा लागेको हुँ,' ढकालले भने।

सिद्धार्थले दरबार छोडेर गएपछि यशोधराको मानसिक उतारचढाव र मनोविज्ञानलाई नाटकमा समेटेको उनले सुनाए।

'जब सिद्धार्थले यशोधरासहित सन्तान राहुल र दरबारलाई छोडेर गए, तब यशोधराको मनोविज्ञान कस्तो रह्यो? मानसिक रुपमा यशोधरालाई कस्तो पीडा थियो? जबकि यशोधरालाई दोस्रो बिहे गर्न समेत भनिएको थियो। तर, उनले पुन: बिहे गरिनन्। बरु आफ्नै जीवनलाई बुझेर परिवर्तन भइन्। पीडाबाट मुक्त भएर उनी कसरी जागरणको यात्रामा लागिन् भन्ने कुरा यो नाटकभित्र छ।'

संवाद होइन, दृश्यले भन्नेछ नाटकको कथा
नाटकका विभिन्न विधाहरु हुन्छन्। जसमध्येको एक हो: फिजिकल थिएटर। विदेशतिर यो विधा प्रचलित भए पनि नेपालमा कहिलेकाहीँ मात्रै प्रयोगमा आउँछ। रंगकर्मी रामहरि ढकालले पनि 'गुलाफ' मा यसको प्रयोग गरेका छन्। ढकालकै परिकल्पना र निर्देशन रहेको नाटकमा संवाद छैन, दृश्यहरुले नाटकको कथा भन्नेछ। कलाकारले शरीरको हाउभाउ र भागभंगीमार्फत नाटकको भाव भन्नेछन्। तर, सांकेतिक रुपमा भने होइन।

‍शब्दको भन्दा शारिरीक हाउभाउको भाषा बढी शक्तिशाली रहेको निर्देशक ढकालको भनाइ छ।

भन्छन्, 'नेपाली भाषा प्रयोग गर्दा नेपालीभाषीहरुले मात्रै बुझ्छन्। तर, शारीरिक भाषा सबैले बुझ्न सक्छन्। हुन त यस नाटकमा संवाद पनि राख्न सकिन्थ्यो। तर, शब्द राख्दा शब्दको मात्र अर्थ भन्न सकिन्छ। शरीरबाट आउने हाउभाउ व्यक्त गर्दा सबैले आफ्नो क्षमताअनुसार बुझ्छन्। किनकि हामी फरकफरक पृष्ठभूमिका हुन्छौँ। यो नाटक हेरेर दर्शकले हामीले भन्ने खोजेको कथा बुझ्न सक्छन् भन्ने लाग्छ।'

नाटकको शीर्षकलाई पनि बिम्बात्मक तरिकाबाट प्रयोग गरेका छन् ढकालले। गुलाफ शब्दलाई बिम्बको रुपमा प्रयोग गरिएको सुनाए उनले।

'गुलाफ भन्नेबित्तिकै फूललाई सम्झन्छौँ। जीवन भनेको सुख मात्र होइन दु:ख पनि हो। गुलाफलाई नाटकमा बिम्बको रुपमा प्रयोग गरेको छु। गुलाफ सुन्दर हुन्छ। तर, उसँगै काँडा पनि हुन्छन्। पीडाबाट नै सुन्दरताको सृष्टि हुन्छ भन्ने हिसाबले गुलाफ शीर्षक प्रयोग गरेको हुँ,' उनले भने।

संवाद नहुँदा नाटकमा बेजोड तरिकाले ध्वनिको प्रयोग गरिएको समेत उनले दाबी गरे। यस नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि गजब छ। ‘गुलाफ’को मञ्च नाटकघरको बीचमा तयार पारिएको छ। जसमा मञ्चको चारैतिरबाट दर्शकले नाटक हेर्न पाउनेछन्।

लामो समयदेखि रंगमञ्चमा सक्रिय रामहरि संवेदी रंगमञ्चमा रुचि राख्छन्। चक्रसहित 'इन्साइड आउट' को भाग ४ सम्म उनले संवेदी विधामै तयार पारेका नाटक हुन्। 

यशोधराको भूमिकामा दिया र सरिता
रामहरिले यो नाटक कल्पना गर्दा यशोधरालाई दुई तरिकाबाट हेरे। पहिलो शारीरिक वा भौतिक शरीर। अर्को आत्मा वा दिमाग। यशोधराका यी दुई प्रतिरूपको चरित्र चित्रण गर्न उनले दुई जना कलाकार राखेको सुनाए। नाटकमा दिया मास्के र सरिता शाह यशोधराको भूमिकामा छन्।

'यशोधरा र सिद्धार्थको बिहे भएको १४ वर्षपछि राहुल जन्मेको हुन्छ। विवाहित महिलालाई श्रीमानसँगको सम्बन्धको बारेमा थाहा हुन्छ। त्यस्तै, अविवाहित केटी प्रेमको खोजीमा हुन्छिन्। जसले प्रेमलाई देखाउन सक्छिन्। यस हिसाबले दुइटा पात्रलाई लिएका हौँ,' उनले भने।

कलाकार दिया मास्केले यसअघि पनि फिजिकल थिएटर गरिसकेकी छिन्। तर, ती नाटकमा संवाद पनि समावेश थिए। संवादरहित फिजिकल थिएटर पहिलोपटक गर्न पाउँदा खुसी लागेको सुनाउँछिन् उनी।

'फिजिकल नाटक गरिरहेकी हुन्छु। तर, यो मेरो लागि नयाँ छ। किनकि यसमा संवाद छैन। बिनासंवाद एउटा स्टोरी भन्नु निर्देशक र कलाकारका लागि गाह्रो कुरा हो। किनकि कथालाई नै शरीर र अनुहारको भागभंगीले देखाउँदा चुनौती हुन्छ। व्यक्तिमाथि नाटक गर्दा त्यसको भाव मार्नु हुँदैन,' उनले भनिन्, 'डान्सर ब्याकग्राउन्ड भएर रमाइलो नै लाग्यो। यशोधराको पीडा र वेदना शारीरिक रुपले व्यक्त गर्ने प्रयास गरेकी छु। यो नाटक हेर्दा आफूलाई भेट्टाउनुहुनेछ।'  

अर्की कलाकार सरिता शाहले पहिलोपटक संवादविहीन नाटक खेलेको सुनाइन्। 'फिजिकल नाटक त गरेकी थिए। संवादविहीन चाहिँ पहिलोपटक हो। संवादले सजिलो हुन्छ। शरीरको हाउभाउले व्यक्त गर्नु निकै चुनौती हुँदो रहेछ।'

देव न्यौपानको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन रहेको नाटकको मञ्च व्यवस्थापन केदार श्रेष्ठले गरेका छन्। १५ दिनसम्म रिहर्सल चलेको नाटक पुस ११ गतेबाट वर्ल्ड प्रिमियर हुँदैछ। जुन नाटक पुस २२ गतेसम्म चल्नेछ।

ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नर्डिक कल्चर फन्ड, फुक नोले सहयोग गरेको छ। यो नाटक अर्को वर्षको मेमा नर्वेमा समेत मञ्चन गरिनेछ।

भिडिओ/तस्बिर : सरोज नेपाल

 

पुस ११, २०८० बुधबार ८:२१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .