कला


टिकटक बन्द हुँदा सांगीतिक क्षेत्रलाई फाइदा कि घाटा?

टिकटक बन्द हुँदा सांगीतिक क्षेत्रलाई फाइदा कि घाटा?

लक्ष्मी बलायर
मंसिर ५, २०८० मंगलबार १६:२९, काठमाडौँ

झण्डै २ दशकअघिको 'बादल वर्षा बिजुली' श्रोता–दर्शकको जिब्रोबाट लगभग हराइसकेको थियो। तर, टिकटकले यस गीतलाई यसरी पुनर्जीवन नै दियो कि प्रायः टिकटकरले लिप्सिङ गर्न भ्याए। यसैमा फेसबुकका रिल बने। गीतै भाइरल भइदियो।

यो गीत ‘कर्तव्य’ चलचित्रका लागि प्राश्ना शाक्य र आनन्द कार्कीले गाएका थिए। २०६२ मा चलचित्र सार्वजनिक हुँदा नपाएको चर्चा उनीहरूले यतिखेर पाएका थिए। नेपाल मात्र होइन, भारत र विश्वका अरू कुनामा समेत यसको लय र धुन पुगेको थियो।

यस गीतमा ८ लाख ८० हजारवटा टिकटक बनिसकेका छन्।

यस्तै २३ वर्षअघि स्वरांकन गरिएको शम्भुजित बास्कोटाको 'पापी लर्के जोवन' पनि टिकटकमा यसैगरी पुनः लोकप्रिय भयो र नयाँ पुस्ताको जिब्रोमै झुन्डियो।

यसरी कयौँ पुराना गीत टिकटकबाट ब्युँतिए। धेरै सदावहार गीतले नयाँ क्षितिजमा फैलिने अवसर पाए। नयाँ गीतहरू प्रचारको मुख्य थलो टिकटक नै बनेको थियो।

नेपालमा मात्रै नभई, विश्वभर गीतको प्रचार गर्न टिकटक प्रयोग भएको थियो। प्रतिबन्धको तगारो सोझिएपछि नेपाली संगीतकर्मीहरू बेखुस छन्।

'राम्रा हुँदाहुँदै पनि ओझेलमा परेका पुराना गीतहरू टिकटककै कारण चर्चामा आएका थिए। जुन एकदम राम्रो पाटो थियो,' गीतकार विपिन किरण भन्छन्, 'टिकटक संगीत प्रवर्धनको एकदम राम्रो मञ्च बनेको थियो। टिकटकले रेभिन्यू दिने हुँदा धेरैले टिकटकबाट राम्रो आम्दानी समेत गर्थे। जसकारण संगीतक्षेत्रलाई घाटा चाँहि भएको छ।'

टिकटकमा विकृतिहरू थिए भने सरकारले बन्द गर्नुको साटो नियमन गर्न सक्नुपर्ने उनको सुझाव छ।

प्राविधिज्ञहरूका अनुसार, टिकटक बन्द हुँदा स्रष्टाको आम्दानीमा पनि असर गर्छ। किनभने, डिजिटल प्लेटफर्महरू संगीत क्षेत्रको लागि आम्दानीको राम्रो माध्यम बनिरहेका छन्। स्पोर्टीफाई, एम्युजजस्ता संगीतका प्लेटफर्महरू दर्ता गरेपछि डिजिटल संसारभित्र दर्शकले जता हेरे पनि मूल सर्जकको खातामा पैसा जम्मा हुन्छ। टिकटक र अरू सामाजिक सञ्जालले गीतको प्रसारमा मद्दत गरेका छन्।

‘टिकटक स्वयंले पनि राम्रो रेभिन्यु दिने गरेको थियो,' डिजिटल कन्टेन्ट म्यानेजर राजेन्द्र अर्याल भन्छन्, ‘टिकटकसहित युट्युब, रिल्समा गीत हेर्दा पनि सर्जकले पैसा पाउँछन्। दर्ताचाहिँ गर्नुपर्छ।’

अर्याल थप्छन्, ‘मैले हालसम्म १०० जना जति कलाकारको डिजिटल कन्टेन्ट ह्यान्डिल गरेको छु। १६ महिनामा सबैको गरेर डिटिजल प्लेटफर्मबाट ३ करोड जम्मा भइसकेको छ।’

उनका अनुसार टिकटकभन्दा युट्युबबाट गीत हेर्दा बढी फाइदा हुन्छ। तर, टिकटकमा गीत लोकप्रिय भएपछि दर्शक युट्युबतिर पनि मोडिन्छन् र त्यसको लाभ सर्जकले नै पाउँछन्।

टिकटकमा धेरै छाएकी गायिका हुन्, एलिना चौहान। उनले गाएको 'धोकेबाज हौ तिमी' गीत गत वर्ष निकै चल्यो। मेला/महोत्सवमा एलिनाले यस गीतमा प्रस्तुति दिँदा दर्शकदीर्घाबाट रुँदै र कराउँदै गरेका भिडियोहरू टिकटकमा भाइरल भए। जसले उनको स्टेज मागसमेत बढेको थियो। 

तर, एलिना टिकटकको चर्चा क्षणिक हुने भएकाले बन्द हुँदा आफूलाई खासै असर नपरेको बताउँछिन्।

'तीन महिनाअघि १५ लाख फ्लोअर भएको मेरो टिकटक आइडी बन्द भयो,' उनी भन्छिन्, 'सुरुमा निकै तनाव भएको थियो। तर, आजकाल केही फरक परेजस्तो लाग्दैन। दर्शकले युट्युबमा पनि गीतहरू हेरिदिनुभएको छ। स्टेज कार्यक्रममा पनि व्यस्त नै छु।'

अझ एलिनाको 'मिनिरल वाटर' बोलको गीत त अन्तर्राष्ट्रिय स्तरमै भाइरल भएको थियो। गैरनेपालीभाषी विदेशी टिकटक प्रयोगकर्ताले पनि यस गीतका क्लिपमा भिडियो बनाएका थिए। तर, त्यसले खासै फाइदा नभएको उनको भनाइ छ।

'टिकटकमा भाइरल हुनु मात्र ठूलो कुरा होइन,' एलिनाको बुझाइ छ, 'विदेशीहरूले पनि मेरो गीतमा टिकटक बनाए। तर, त्यसले मलाई के फाइदा? न उहाँहरूले चिन्नुहुन्छ, न उताको स्टेज प्रोगामबाट अफर आउँछ।'

अझ कलाकार एवं गायिकालाई टिकटकर भनेर चन्ने–चिनाउने प्रवृत्तिबाट उनी आजित थिइन्।

उनी भन्छिन्, 'बरु हामीजस्तो संघर्ष गरेर आएको कलाकारलाई टिकटकर भन्न थालिएको थियो। मलाई धेरैले भेट्दा सिंगरभन्दा पनि तपाईँलाई टिकटकमा देखेको भन्नुहुन्थ्यो।'

गायक हेमन्त शर्मा भने गीत–संगीतको लागि टिकटक बन्द हुनु ठिक नभएको सुनाउँछन्। उनी भन्छन्, 'विकृति त हरेक ठाउँमा छ। तर, सांगीतिक पाटोबाट हेर्दा टिकटकले कलाकारहरूलाई निकै सहज बनाएको थियो। टिकटकमा गीतको सानो क्लिप राख्दा धेरैजना गीत खोज्न युट्युबसम्म पुग्नुहुन्थ्यो। त्यो सुविधाबाट वञ्चित भइयो।'

शर्माका अनुसार केही वर्षअघि कुनै नयाँ गीत ल्याउँदा टेलिभिजनमा विज्ञापन गर्नुपर्ने बाध्यता थियो। टेलिभिजनको प्राइम टाइममा ३० सेकेन्ड गीत बजाउँदा मासिक १५ हजार रूपैयाँसम्म तिर्नुपर्थ्यो। त्यो पुरानो प्रचारशैलीलाई टिकटकले विस्थापित गरिदियो।

'अहिलेको जमनामा हरेक कुरालाई प्रचारको आवश्यकता पर्छ,' शर्मा भन्छन्, 'नेपाली गीतसंगीतको प्रचारप्रसारको लागि टिकटक उपयोगी प्लेटफर्म थियो। तीलकसिंह पेला पनि टिकटककै माध्यमबाट चर्चामा आउनुभयो। किनकि उहाँको गीतको एउटा टुक्रा सुनेर धेरैजना युट्युबसम्म पुग्नुभएको थियो।'

गायक शिव परिवार भने टिकटकले कलाकारितालाई नै सस्तो बनाएको धारणा राख्छन्। टिकटकबाट आएका प्रतिभाहरूलाई असर गरे पनि स्थापित कलाकारलाई टिकटक बन्दले खासै असर नगर्ने उनको भनाइ छ।

उनका भनाइमा, नेपालजस्तो मुलुकमा कलाकारिता भन्ने सजिलै हुँदोरहेछ भन्ने भ्रम टिकटकले पैदा गराएको थियो। भाइरल नै सबैथोक हो, कलाको लागि साधना नै गर्नुपर्दैन भन्ने भ्रम पनि फैलिएको थियो।

'तर, टिकटक सर्वसाधारणमा भएको कला प्रस्तुत गर्ने एउटा प्लेटफर्म हो,' परियार भन्छन्, 'टिकटक बन्द गरेर सरकारले सर्वसाधारणलाई मनोरञ्जनको माध्यमबाट कुण्ठित गराएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .