कला


करौडौं लगानीका नेपाली ओटीटी प्लेटफर्म, कस्तो छ दर्शकको साथ?

करौडौं लगानीका नेपाली ओटीटी प्लेटफर्म, कस्तो छ दर्शकको साथ?

फाइल तस्बिर


लक्ष्मी बलायर
कात्तिक २२, २०८० बुधबार २१:५१, काठमाडौँ

गत असोज ३० गतेदेखि नेपालमा नयाँ ओटीटी (ओभर द टप) प्लेटफर्म खुलेको छ। ‘कान्तिपुर सिनेमाज्’ नामको ओटीटी आरम्भ गर्दा निकै तामझाम गरिएको थियो। पाँचतारे होटलमा आयोजित कार्यक्रमबीच प्लेटफर्म लञ्च गर्न पुगेका थिए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली।

ओलीसहित कलाकारहरुको उपस्थितिमा लञ्च गरिएको ओटीटी प्लेटफर्ममा कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो। उक्त एपमा धीरज मगर अभिनित ‘ज्याकी आई एम ट्वान्टी वान’ देखि ‘जुलेबी’, ‘मदर खरानी’, ‘ऋतु’, ‘मिस सेक्रेट’, ‘लभसूत्र’ र ‘ब्रहमाण्ड’सहित एक दर्जन फिल्म आइसकेका छन्।

कान्तिपुर सिनेमाजमा मात्रै होइन, पछिल्लो समय अन्य नेपाली ओटीटी प्लेटफर्ममा पनि फिल्म रिलिज हुने क्रम बढ्दो छ।

चाडपर्वलाई लक्षित गरेर ‘सिनेमाघर एप’ मा यस वर्षको हिट फिल्म ‘जारी’ रिलिज भयो। त्यस्तै, व्यवसायिक रुपमा सफल फिल्महरू ‘छक्का पञ्जा ४’ र ‘झिङ्गे दाउ’ भिडिओ पसलमा आइसकेको छ।

महामारीसँगै फस्टाएको ओटीटी
कोरोना महामारीबीच हलिउड र बलिउडका फिल्महरू रिलिज हुन पाएनन्। केही फिल्महरू हल कुर्दा होल्डमा रहे। तर, धेरै सिनेमाले हल खुल्ने मिति कुरेनन्। हलिउड र बलिउडका धेरै फिल्म ओटीटीमै रिलिज भए। र, महामारीको समयमा धेरै फिल्मले राम्रो कमाई गरे पनि। वेब सिरिजले पनि दर्शकलाई आकर्षित गर्न सफल भए।

सिनेमाघरको विकल्पका रुपमा उदाएको ओटीटीको माग नेपालमा पनि बढ्दो छ। विशेषगरि हलिउड र बलिउडका फिल्म दर्शकको रोजाइमा परिरहेका छन्। नेटफ्लिक्स, अमेजन प्राइम लगायतका प्रयोगकर्ताको संख्या नेपालमा धेरै छन्।

ओटीटीको चर्चा हुँदा नेपालमा पनि ओटीटीलक्षित फिल्महरु निर्माण हुन थाले। त्यहीबीच ओटीटी प्लेटफर्मसमेत खुले। तर, ठूला फिल्मले हल नै कुर्दा नेपाली ओटीटीमा विदेशको जस्तो उछाल आउन सकेन।

बरु पहिले खुलेका ‘आइफ्लिक्स’ र ‘चलचित्र टिभी’ लगायत प्लेटफर्म बन्द भए। ‘सिनेमाघर’, ‘भिडिओ पसल’, ‘नेट टिभी’ र ‘कान्तिपुर सिनेमाज’ भने चलिरहेका छन्।

कति छन् दर्शक?
नेपालको पहिलो ओटीटी प्लेटफर्म हो 'सिनेमाघर एप'। सन् २०१६ देखि सुरु गरिएको एपका सञ्चालक हुन् सागर खरेल र खगेन्द्र लामिछाने। यो एप एन्ड्रोइड/आइओएस मोबाइलसहित स्मार्ट टिभीमा उपलब्ध छ।

खगेन्द्रका अनुसार छ/सात वर्षको अवधिमा सिनेमाघर एपलाई ८ लाख हाराहारीले डाउनलोड गरिसकेका छन्। पछिल्लो समय सिनेमाघर एपले व्यवसायिक रुपमा सफल फिल्महरू ल्याइरहेको छ। जसले अडियन्सको फ्लो बढिरहेको सुनाउँछन् लामिछाने।

'हामीले पछिल्लो समय व्यवसायिक रुपमा सफल फिल्महरू रिलिज गरिरहेका छौँ। 'कबड्डी'देखि 'महापुरुष'सम्मले पनि नयाँ अडियन्स थपिएका छन्,' उनले भने, 'अहिले पनि युट्युबमा सित्तमै हेर्ने बानी छ। तर, ओटीटीमा हिट फिल्म आउँदा पैसा तिरेर हेर्ने बढेका छन्। जुन निकै राम्रो हो।'

लामो सयमसम्म लगानी गर्नुपर्ने भएकाले ओटीटी प्लेटफर्म खर्चिलो हुन्छ। प्लेटफर्म बनाएर मात्रै हुँदैन। त्यसमा नयाँ नयाँ कन्टेन्ट दिइराख्नु पर्छ। एप सञ्चालकहरुले कुनै कन्टेन्टहरू किन्छन् त कुनै निर्माण गर्छन्। तर, खगेन्द्रले भने कन्टेन्टभन्दा पनि प्रयोगकर्ता बढाउने काम बढी भइरहेको सुनाए।

'सुरुमा युजर बनाउनै समय लाग्छ। यसको विकासक्रम लामो हुन्छ। जसकारण ओटीटी सञ्चालन खर्चिलो हुन्छ,' उनी भन्छन्, 'हामीले आफ्नै कन्टेन्ट बनाउन सकेका छैनौँ। ठ्याक्कै सेड्युल पनि छैन। अरुको कन्टेन्ट रिलिज गर्दा निश्चित प्रतिशत दिने सम्झौता गर्छौँ। जसकारण सर्भाइब हुन सकिएको छ।'

हलमा फिल्म हेर्ने दर्शकको संख्या घट्दा पनि ओटीटी प्लेटफर्म फस्टाउन नसकेको उनको धारणा छ। भन्छन्, 'नेपालमा सिनेमा हेर्ने कल्चर कम हुनु पनि समस्या हो। नेपालको कुल जनसंख्याको एक प्रतिशतले पनि हलमा फिल्म हेर्दैनन्। अर्को युट्युबले बिगारेको छ। युट्युबमा फ्री हेर्न पाएपछि किन पैसा तिरौँ भन्ने हुन्छ। हुन त यो विस्तारै सुधार हुँदैछ। भविष्यमा आफ्नै कन्टेन्ट बनाउने योजना छ।'

नेपाली टेलिभिजनमा डिसहोमको दबदबा हुँदा टिभीमा ओटीटीका खासै युजर छैनन्। जसले धेरैको दर्शकको पहुँचसम्म ओटीटी पुग्न सकेको छैन।

संसारभर छरिएका दर्शकको पहुँचमा नेपाली फिल्म पुगोस् भनेर ओटीटी खोलेको सुनाउँछन् कान्तिपुर सिनेमाजका सिइओ प्रकाश पुरी।

‘जसले मन हुँदा पनि नेपाली फिल्म हेर्न पाउनहुन्न। विश्वभरका डायस्पोरामा नेपाली सिनेमाको पहुँच होस् भनेर यो एप खोलेका हौँ। सबै नेपालीसामु नेपालको कथा पुर्‍याउनु हाम्रो लक्ष्य हो', उनल भने,'हामीले फिचर फिल्म, वेब सिरिज, सर्ट र इन्डी फिल्म गरेर एक दर्जन रिलिज गरिसकेका छौँ। अहिले साताको एउटा कन्टेन्ट दिइरहेका छौँ।’

पुरीले ‘कान्तिपुर सिनेमाज’ अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गरेर हेर्न सकिने पनि बताए। हाल एन्ट्रोइड, आईओएस, वेब र स्मार्ट टिभीमा उपलब्ध कान्तिपुर सिनेमाजमा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न पाइन्छ।

सुरुवातमै दर्शकहरुले चासो दिएको अनुभव उनीसँग छ। 'हामीले ओटीटी खोलेको एक महिना भएको छैन। दर्शकहरुको उत्साहजनक साथ छ। अहिले एन्ट्रोइड मोबाइल र ब्राउजरमा गरेर ५ हजार युजर पुगेका छन्। आईओएसमा पनि प्रक्रिया अगाडि बढिरहेको छ', उनले भने।

ओटीटी निर्माणदेखि कन्टेन्ट बनाउँदासम्म १० करोड खर्च भइसकेको उनले बताए।

‘अहिले एप लञ्च गरे पनि तयारी भने २०१६ देखि नै हो। हामीले ब्रहमाण्डलगायत आफ्नै कन्टेन्ट निर्माण गर्‍यौँ। केही बनाउन लाग्दा करोडसम्म खर्च हुन्छ। कन्टेन्टसहित १० करोड खर्च आइसकेको छ', उनले सुनाए।

स्वदेशी तथा विदेशी फिल्मको सम्पूर्ण राइट किन्दा ५० लाखसम्म तिर्नुपर्ने हुन्छ। कन्टेन्ट उत्पादनसहित फिल्म किन्न खर्चिलो हुन्छ। सुरुमै नाफा कमाउन नसके पनि बिस्तारै ओटीटीको बजार फराकिलो हुनेमा उनी आशावादी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .