निर्वाचन विशेष


लुम्बिनीमा कांग्रेस पहिलो, एमालेकै हाराहारीमा माओवादी

लुम्बिनीमा कांग्रेस पहिलो, एमालेकै हाराहारीमा माओवादी

सुदीप भण्डारी
जेठ १०, २०७९ मंगलबार १०:१४, बुटवल

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १०५ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। ४ वटा पालिकाको नतिजा आउन बाँकी छ। 

अहिलेसम्म सार्वजनिक स्थानीय तहको परिणाम हेर्दा कांग्रेस प्रदेशमा पहिलो दल हुने निश्चित देखिएको छ। माओवादी केन्द्रले भन्दा एमालेले प्रदेशमा एउटा मात्रै बढी स्थानीय तह जितेको छ।
अघिल्लो निर्वाचनमा लुम्बिनीका ३३ पालिका प्रमुख जितेको कांग्रेसले यस पटक ४६ वटा पालिका प्रमुख जितिसकेको छ। उसले १९ नगरपालिकामा मेयर र २७ वटा गाउँपालिका अध्यक्ष जितेको हो।

कांग्रेसले रुपन्देही, बाँके, बर्दिया र दाङमा आधा भन्दा बढि पालिका एक्लै जितेको छ । रुकुमपूर्व र रोल्पा जिल्लामा भने कांग्रेस कम्जोर देखिएको छ। 

पाल्पा र अर्घाखाँचीमा गठबन्धन गरेपनि खासै सफलता हाल लाग्न नसकेको कांग्रेसका स्थानीय नेताहरुले बताउन थालेका छन्। 

प्रदेशभर कांग्रेसले ४३ वटा उपप्रमुख जितेको छ। प्रदेशभर अहिलेसम्म कांग्रेसले ३७० वटा वडामा जित हात पारेको छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रदेशमै सबैभन्दा बलियो अवस्थामा रहेको एमाले यसपटक माओवादी केन्द्रकै हाराहारीमा पुगेको छ।

०७४ को निर्वाचनमा प्रदेशमा ४३ पालिका प्रमुख जितेको एमालेले अहिलेसम्म २६ पालिकामा मात्रै जित हात पारेको छ। उसले ८ नगरपालिकामा प्रमुख जितेको छ  भने १८ वटा गाउँपालिमा अध्यक्ष जितेको छ।

पाल्पा र अर्घाखाँचीमा एमाले अहिले पनि बलियो नै देखिएको छ। बाँकी जिल्लामा भने एमाले अघिल्लो निर्वाचन परिणाम भन्दा कम्जोर देखिएको छ। 

बाँकेमा त एमालेले कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख जित्न सकेको छैन। 

दाङको घोराही उपमहानगरमा भने एमालेले बाजि मारेको छ । मतगणना चलिहरको तुल्सीपुरमा पनि एमाले अघि छ।। अरु ८ पालिकामा भने उसलाई सफलता हात नलाग्ने अवस्था सिर्जना हुँदैछ। 

रुपन्देहीमा पनि एमालेले अघिल्लो पटक जितेका पालिकाहरु गुमाएको छ।

एमालेले पालिका प्रमुखमा पराजित भएका धेरै ठाउँमा उपप्रमुख जितेको छ । प्रदेशभरमा एमालेले ३८ पालिका उपप्रमुख हात पारेको छ । त्यस्तै प्रदेशभरमा हालसम्म एमालेले ३०६ वटा वडा जितेको छ। 

लुम्बिनीमा माओवादी केन्द्र एमालेकै हाराहारीमा पुगेको छ। अहिलेसम्म माके लुम्बिनीका २५ पालिकामा विजयी भएको छ। 

उसले २२ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा पालिका प्रमुख जितेको छ। अघिल्लो चुनावमा उसले लुम्बिनीका १९ वटा पालिका जितेको थियो। 

रोल्पा र रुकुममा माओवादी केन्द्रले आफ्नो प्रभाव कायमै राखेको छ। दाङमा पनि पहिले भन्दा राम्रो गरेको छ। 

गुल्मीमा कतै कांग्रेस र कतै एमालेसँग तालमेल गरेर ४ वटा पालिका प्रमुख जितेको छ। 

तर, अर्घाखाँची, कपिलबस्तु र रुपन्देहीमा माओवादी केन्द्र कम्जोर देखिएको छ। प्रदेशका १५ पालिकामा माओवादी केन्द्रले उप्रमुख पद जितेको छ। 

माओवादीले रुख चिन्हबाट पनि केही उपप्रमुख पद पाएको छ। 

माओवादीले प्रदेशभरबाट १७० वटा वडाध्यक्ष जितेको छ । यो बाहेक केही वडा माओवादी केन्द्रले रुख चिन्हबाट पनि हात पारेको छ। 

अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा एमालेलाई धक्का लागेको छ।

त्यसैगरी एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले लुम्बिनीमा राम्रो नतिजा ल्याउन सकेन। प्रदेशभरमा उसले ४ वटा वडा मात्र जितेको छ। 

जनता समाजवादी पार्टीले रुपन्देही, कपिलबस्तु र बाँकेमा एक एक वटा पालिका प्रमुख जितेको छ । उसले विभिन्न जिल्लाका तीनवटा स्थानीय तहमा उपप्रमुख पनि जितेको छ। जसपाले प्रदेशभरमा हालसम्म ४३ वटा वडा जितेको छ। 

लोकतान्त्रीक समाजवादी पार्टीले प्रदेशमा २ वटा पालिका प्रमुख जितेको छ। उले २ वटा उपप्रमुख पनि जितेको छ । प्रदेशभरमा लोसपा १५ वटा वडामा विजयी भएको छ। 

राष्ट्रिय जनमोर्चाले प्युठान र अर्घाखाँचीमा २ वटा पालिका प्रमुख र २ वटा उपप्रमुख हात पारेको छ । उसले १६ वटा वडा पनि जितेको छ। 

राप्रपाले एउटा पालिका प्रमुख र २ वटा उपप्रमुख जितेको छ । २१ वटा वडाध्यक्ष जितेको छ। 

ह्दयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले पनि एक पालिकामा प्रमुख र उपप्रमख जितेको छ। उसले रुपन्देहीमा २ र नवलपरासीमा एउटा वडा पनि जितेको छ। लुम्बिनीका १२ वटा वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .