निर्वाचन विशेष


घोराही उपमहानगर: कृष्णबहादुर महरा र शंकर पोखरेलको प्रतिष्ठाको लडाइँ

घोराही उपमहानगर: कृष्णबहादुर महरा र शंकर पोखरेलको प्रतिष्ठाको लडाइँ

सुदीप भण्डारी
बैशाख २३, २०७९ शुक्रबार ८:७, बुटवल

लुम्बिनी प्रदेशका ४ उपमहानगरमध्ये ३ वटामा सत्ता गठबन्धनबाट प्रमुख पदमा नेपाली कांग्रेसकै उम्मेदवार छन्।एउटा घोराहीमा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा डायमण्ड उम्मेदवार बनेका छन्। उपप्रमुख पदको उम्मेदवार कांग्रेसका भुपबहादुर डाँगी छन्। 

प्रमुख प्रतिपक्षी दल एमालेका तर्फबाट निवर्तमान मेयर नरुलाल चौधरी फेरि चुनावी मैदानमा छन्। उपमेयरमा हुमा डीसी उठेकी छन्। यसपटक घोराहीको चुनाव माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेलबीचको प्रतिष्ठाको लडाइँ समेत हो। 

द्वन्द्वकाल र त्यसपछि पनि दाङमा माओवादी केन्द्रको बलियो प्रभाव थियो। २०६४ सालको संविधान सभाको चुनावमा माओवादीले दाङका सबै ५ वटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको थियो। तर २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा ५ वटै क्षेत्र माओवादीबाट कांग्रेसले खोसेको थियो। 

२०७४ सालसम्म आइपुग्दा दाङमा माओवादीको प्रभाव कमजोर बनिसकेको देखिन्छ। ५ वर्षअघि भएको स्थानीय चुनावमा माओवादी केन्द्रले दाङका १० स्थानिय तहमध्ये एउटा पालिकामा मात्र प्रमुख र उपप्रमुख पद जितेको थियो। त्यही वर्ष मंसिरमा भएको संसदीय चुनावमा एमालेसँगको तालमेलमा राम्रै स्थान हासिल गरेको भए पनि समानुपातिकतर्फ उसको मत कम थियो। 

माओवादी केन्द्रलाई दाङमा मात्र होइन, लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव देखाउन यसपटक घोराहीमा जित्नैपर्ने चुनौती छ। त्यसैले घोराहीमा आफ्नो पार्टी विजयी गराउन कृष्णबहादुर महरा निरन्तर लागिरहेका छन्। 

माओवादी केन्द्र दाङका अध्यक्ष सुवास पुनले दाङमा अघिल्लोपटक भन्दा माओवादीको अवस्था सुधार भएकाले गठबन्धनले जित्ने दाबी गरे।

‘हाम्रो पार्टीको अवस्था यहाँ पहिलेभन्दा धेरै सुधार भएको छ। अघिल्लोपटक हाम्रा धेरै साथीहरु मतदाता नामावलीमा छुट्नुभएको रहेछ। अहिले दर्ता गराउनुभएको छ’, उनले भने, ‘यसपटक गठबन्धनहरु एक अर्कालाई जिताउन प्रतिबद्ध छौं। त्यसैले घोराहीमा जित सहज छ।’ 

२०७४ सालको स्थानीय चुनावमा एक्लै लडेर पनि दाङमा एमाले बलियो देखिएको थियो। दुई उपमहानगरसहित जिल्लाका ६ पालिकामा ऊ विजयी भएको थियो। घोराहीमा अघिल्लो चुनावमा कांग्रेसलाई साढे ४ हजार मतान्तरले जितेको हुँदा एमाले यो पटक पनि केही ढुक्क देखिन्छ। 

अर्कातर्फ महासचिव शंकर पोखरेलको गृहजिल्ला भएकाले यहाँको जित उनको प्रतिष्ठाको विषय पनि हो। त्यसैले पोखरेल पनि घोराहीको चुनावी अभियानमा जोडतोडले लागिरहेका छन्। 

एमाले दाङका जिल्ला अध्यक्ष हुकुम बस्नेतले यो कार्यकालमा भएका काम र पार्टी संगठनका कारण घोराहीको जित सुनिश्चित भएको बताए।

‘विकास निर्माणका दृष्टीकोणले घोराहीले फड्को मारेको छ। जलाशय बनेका छन्। अहिले पनि मान्छेलाई घोराही हेर्न जाऊँ भन्ने अवस्था बनेको छ’, उनले भने, ‘मेयरका उम्मेदवार नरुलाल चौधरी आफैँमा पनि लोकप्रिय हुनुहुन्छ। गठबन्धन नै भए पनि हामी सहजै जित्छौं।’

घोराहीमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार हेमराज शर्मा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। २०५३ सालदेखि माओवादीमा पूर्णकालीन कार्यकर्ता भएर लागेका उनी २०५५ मा दाङ जिल्ला सदस्य, त्यसपछि जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज हुँदै केन्द्रीय सदस्यसम्म भएका हुन्। अघिल्लोपटक माओवादी केन्द्रबाट घोराहीको मेयरमा जीवन गौतम उम्मेदवार बनेका हुन्। गौतमले पार्टी छाडेपछि शर्मा उम्मेदवार बन्न सहज भएको हो। 

हाल नेकपा एमालेको पोलिट्ब्युरो सदस्य रहेका नरुलाल चौधरी घोराहीको निवर्तमान मेयर पनि हुन्। राजनीतिमा लाग्नुअघि उनी रेडियो नेपालमा थारु भाषाको समाचार पढ्थे।  जागिर छाडेर चौधरीले २०५४ सालको स्थानीय चुनावबाट तत्कालीन रामपुर गाविसको अध्यक्ष भएर काम गरे। उपमहानगर हुँदा रामपुर घोराहीमा गाभिएको हो। चौधरी एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन्। 

उपमेयरतर्फ गठबन्धनबाट कांग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन्। ५ वर्षअघि उनी घोराहीको मेयरका प्रतिस्पर्धी थिए। डाँगी पञ्चायत कालमा २०४३ सालमा साविक सौडियार गाविस १ को वडाध्यक्ष बनेका थिए। पछि २ कार्यकाल कांग्रेसको क्षेत्रीय सभापति रहेका उनी हाल महासमिति सदस्य हुन्। कांग्रेसको गत अधिवेशनमा जिल्ला सभापति पदका लागि भएको चुनावमा पहिलो चरणमा कसैको बहुमत नआएपछि  भुपबहादुर डाँगी र शंकर डाँगीबीच दोस्रो चरण निर्वाचन हुनुपर्ने थियो। तर भुपबहादुरले शंकरलाई सभापति पद दिए। त्यसबेला भुपबहादुरलाई घोराहीको मेयरको टिकट दिने सहमति भएको भनिन्छ। मेयर पदका प्रमुख दाबेदार उनी गठबन्धन बन्दा घोराहीमा माओवादी केन्द्रले मेयर पाउने भएपछि उपमेयर बस्न राजी भएका हुन्। 

यता एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी हुमा डीसी अखिल नेपाल महिला संघ दाङकी अध्यक्ष हुन्। उनी २०४९ सालमा सोही संगठनबाट राजनीतिक यात्रा थालेकी उनी वडा, क्षेत्र, जिल्ला सचिवालय सदस्य हुँदै अहिले अध्यक्ष बनेकी हुन्। उनी एमालेको प्रदेश कमिटी सदस्य समेत हुन्। 

चुनावी अंकगणित
२०७४ सालको स्थानीय चुनावमा एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गरी घोराही उपमहानगरको मेयरमा निर्वाचित भएका थिए। कांग्रेसका भुपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत ल्याएका थिए। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत पाएका थिए। 

उपमेयरतर्फ एमालेकै सीता न्यौपाने २० हजार ७९२ मत पाएर विजय भएकी थिइन्। कांग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत ल्याएकी थिइन्। 

अरु ठाउँमा गठबन्धन भए पनि घोराहीमा नेकपा एकीकृत समाजवादीले अलग उम्मेदवारी दिएको छ। बाँकी ४ दल भने एकै ठाउँमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .