ad ad

कारोबार


सफल व्यवसायीबाट प्रत्यक्ष राजनीतिमा विनोद चौधरीको छलाङ, नवलपरासीमा जित कति सहज?

सफल व्यवसायीबाट प्रत्यक्ष राजनीतिमा विनोद चौधरीको छलाङ, नवलपरासीमा जित कति सहज?

कांग्रेसको १४औँ महाधिवेशनका बेला भोट माग्दै चौधरी।


वसन्त अर्याल
असोज २६, २०७९ बुधबार ९:६, काठमाडौँ

दुई पटक सांसद भइसकेका विनोद चौधरी नेपालका नामुद धनाढ्यका रुपमा चिनिन्छन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट एक मात्र डलर अर्बपतिको छवि बनाएका उनी सफल व्यवसायीसँगै अब राजनीतिमा स्थापित हुँदैछन्।

यसैको एउटा कदम हो, आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उनले दिएको उम्मेदवारी। अर्बपति चौधरीको यो तेस्रो पटक संसद् छिर्ने प्रयास हो। 

यसपटक गठबन्धनको साझा उम्मेदवारको रुपमा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट उनले चुनाव लड्नलागेका हुन्। 

दुई पटक समानुपातिकबाट सांसद 
नेपाली राजनीतिमा चौधरीको आगमन देखिने गरी २०६४ सालबाट भएको हो। त्यसअघिदेखि नै चौधरी सत्ता सञ्चालकहरूको निकटवर्ती भने रहँदै आएका थिए। २०६४ मा उनले पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बन्ने अवसर पाए। 

तर पहिलो संविधानसभा संविधान बनाउन असफल रह्यो। ०७० मा अर्को संविधानसभाको निर्वाचन भयो। त्यसमा चौधरीलाई एमालेबाट प्रत्यक्षतर्फ नै निर्वाचन लड्न सिफारिस भयो। तर उनी सांसद बन्न भने पाएनन्।

त्यसपछि २०७४ सालको निर्वाचनमा चौधरी एमाले छाडेर कांग्रेसबाट उम्मेदवार बने। मधेशी कोटाबाट नेपाली कांग्रेसको बन्दसूचीमा रहेका चौधरी फेरि समानुपातिकबाटै सांसद बन्न सफल भए। 

त्यसयता उनी नेपाली कांग्रेसमै सक्रिय छन्। २०७४ सालको निर्वाचनमा उनी गाउँ–गाउँमा पुगे। चुनावी भाषण गरे। ‘गरिखाने अभियान’ चलाए।  यो अभियान अहिले पनि उनले सञ्चालन गर्दै आएका छन्। 

अभियानमार्फत उनले लगानी, पूर्वाधार र रोजगारी सृजनालाई जोड दिँदै आएका छन्। अभियानले बैंकिङ फाइनान्सको पहुँच र तालिम दिने गरेको छ।   

प्रत्यक्षमा रहर पनि बाध्यता पनि
आगामी चुनावमा प्रत्यक्ष लड्नु चौधरीको रहर र बाध्यता दुवै हो।  

उनको दल नेपाली कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई नदोहोर्याउने मापदण्ड बनाएको छ। त्यसकारण पहिले नै समानुपातिक सांसद रहिसकेका उनलाई अबको संसद यात्रा प्रत्यक्षमै चुनाव नलडी पूरा नहुने थियो। त्यसकारण अहिले उनको उम्मेदवारीलाई बाध्यताको रुपमा पनि बुझ्न सकिन्छ। 

तर चौधरीले पहिलेदेखि नै प्रत्यक्ष चुनावको लागि तयारी नगरेका होइनन्। नवलपरासीमा उनी पहिलेदेखि नै यसका लागि तयार रहेको बताउँदै आएका थिए। 

नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने चौधरीको तयारी थियो। तर कांग्रेसले उनलाई नवलपरासी १ बाट टिकट दिएको छ।  

नवलपरासी क्षेत्र नं १ मा विनोद चौधरीसहित ५ जनाको नाम सिफारिस भएको थियो। जसमा चौधरीले टिकट पाएका हुन्। 

नवलपुरको निर्वाचन क्षेत्र नं १ मा पनि उनीसहित ५ जनाको नाम सिफारिस भएकोमा कांग्रेस नेता शशांक कोइरालाले टिकट पाएका छन्।

‘जनताको विश्वास खेर जान दिन्नँ’  
प्रत्यक्ष चुनाव लड्ने भएपछि उनले जनताले आफूमाथि गर्ने भरोसा र विश्वास खेर जान नदिने बताएका छन्।

‘हिजो पनि जनतामाझ थिएँ। तर आजदेखि फरक भूमिका लिएर प्रत्यक्ष रुपमा यहाँहरुका समस्यालाई सम्बोधन गर्न नवलपरासी १ बाट सांसद पदमा उम्मेदवारी दिएको छु’, चौधरीले उम्मेदवारी दर्ता गरेपछि भनेका छन्, ‘यहाँहरूको विश्वास खेर जान नदिने प्रण गर्दछु।’

अघिल्लो मंसिरमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजयी भएका थिए।

कांग्रेसको १४औँ महाधिवेशनका लागि नवलपुरबाट सर्वसम्मत प्रतिनिधि चुनिएका थिए। केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए। 

यस्तो छ अंक गणित, चौधरीलाई कति सहज?
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पाएको वडागत मतको आधार मान्ने हो भने नवलपरासी १ मा नेपाली कांग्रेसको मत बढी छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार उक्त निर्वाचन परिणामअनुसार कांग्रेस ३० हजार ३४२, एमाले २६ हजार ७७९, राप्रपा ६ हजार ६८७, माओवादी ५३४७, जसपा ३५५९, एस ११४१, लोसपा १०० मत ल्याएका छन्। 

उक्त निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी, नेकपा एस, लोसपाको गठबन्धन रहेको छ। वडागत मतको आधारमा चौधरीलाई निर्वाचन जित्न सहज देखिन्छ। 

चौधरीका प्रतिस्पर्धी हृदयश त्रिपाठी २०४८ सालदेखि नै नवलपरासीबाट निर्वाचित हुँदै आएका छन्। ६ वटा निर्वाचनमा भाग लिएका त्रिपाठी ५ वटा निर्वाचनमा विजयी भए गरे। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए। 

विभिन्न पार्टी परिवर्तन गर्दै निर्वाचन लडेका त्रिपाठी २०७४ को निर्वाचनमा एमालेको सूर्य चिह्नबाट विजयी भई संसद छिरेका थिए। २०७४ मा त्रिपाठीले ३८ हजार ५९२ मत पाउँदा नेपाली कांग्रेसका देवकरण प्रसाद कलवारले ३३ हजार ५९१ मत पाएका थिए। 

तर यसपाली त्रिपाठीलाई चुनाव सहज छैन। यसअघि एमालेको सूर्य चिन्ह लिएर एमालेको समेत मतमा जितेका त्रिपाठी यसपाली एक्लिएका छन्। नवलपरासीमा एमालेको तर्फबाट गायिका सिन्धु जलेसा प्रतिस्पर्धा गर्दै छन्। जलेसा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट संसद बनेकी थिइन्। 

त्रिपक्षीय भिडन्त हुनेजस्तो देखिएको यो क्षेत्रमा गठबन्धनको भोट जोड्दा भने चौधरी निकै अगाडि छन्।

‘अब पूर्णरुपमा राजनीतिमा लाग्छु’
४० को दशकमा संस्थागत राजनीतिमा प्रवेश गरेका चौधरी ७० को दशकमा आइपुग्दा संसदीय राजनीतिका ‘खेलाडी’ बन्दै छन्। 

उनी २०४६ सालमा उद्योग वाणिज्य महासंघमा छिरेका थिए। त्योसँगै २०५० सालमा महासंघको अध्यक्ष नै भए। पछि नेपाल उद्योग परिसंघ स्थापना गरी त्यसको नेतृत्व गरे। 

०६४ मा सांसद बनेसँगै संसदीय राजनीतिमा उनको प्रवेश भएको हो। 

हजुरबुबाको व्यवसायलाई परिमार्जन गर्दै अन्तर्राष्ट्रिय रुपमा पुर्याएका चौधरी अब भने पूर्ण रुपमा राजनीतिमा लाग्ने बताउँछन्। 

चौधरी सीजी कर्प ग्लोबलका अध्यक्ष छन्। उनले चौधरी फाउन्डेसन खोली सामाजिक उत्तरदायित्वका काम गर्दै आएका छन्। नवलपरासीमा थुप्रै सामाजिक काम गरेका छन्। 

गत असार १० गते उद्योगपति विनोद चौधरीले पत्रकार सम्मेलन गर्दै पूर्णकालीन राजनीतिमा लाग्ने घोषणा नै गरेका थिए। प्रत्यक्ष निर्वाचन लड्न नवलपुर जाने उनले सोही दिन बताएका थिए। 

‘पूर्णकालीन राजनीतिमा लाग्छु। उद्योग धन्दा छोडेर भने होइन। मेरो रगतको कणकणमा अर्थतन्त्र छ’, चौधरीले भनेका थिए, ‘तर प्राथमिकता भनेको राजनीति नै हो। राजनीति पनि नेपाली कांग्रेसभन्दा बाहिर हुन्न, मेरो बाँकी राजनीतिक जीवन नेपाली कांग्रेसमै बित्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .