कारोबार


सेयरबजारका दुई निकायबीच ‘द्वन्द्व’

सेयरबजारका दुई निकायबीच ‘द्वन्द्व’

दीपक भट्ट
असार २, २०७८ बुधबार १२:१,

सेयर बजार उच्च विन्दुमा पुगेका बेला यसका दुई निकाय नियामक र व्यवस्थापकबीच ‘द्वन्द्व’ देखिएको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच ‘द्वन्द्व’ देखिएको हो। खासमा बोर्ड सेयरबजारको नियामक हो भने नेप्से व्यवस्थापक।

मंगलबार बोर्डले पछिल्लो समय सेयरबजारमा नाटकीय रुपमा कारोबार बढेको भन्दै केही कम्पनीले चलखेल गरेको सूचना निकाल्यो।

उसले सेयर लगानीकर्तालाई ५१ कम्पनीको नामै किटेर यी कम्पनीमा लगानी गर्नु जोखिमयुक्त भन्दै सचेत गराएपछि दुई निकायबीच विवाद देखिएको हो।

नेप्सेले यसरी बोर्डले कम्पनीको नाम तोक्नु गलत रहेको प्रतिक्रिया दिएको छ।

नेप्सेका सीईओ चन्द्रसिंह साउदले भने, ‘कम्पनीको मूल्य तोक्ने काम धितोपत्र बोर्डको होइन, यसरी कम्पनीको नाम तोक्नुहुँदैन।’

बोर्डले लगानीकर्तालाई बुझेर र कम्पनीबारे अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गर्नुपर्ने उनको भनाइ छ।

उनले थप्दै भने, ‘भने पनि काम हेरेर र बुझेर लगानी गर्नुस् भन्नेसम्म हो। कम्पनी नै तोकेर यी नराम्रा कम्पनी हुन् भन्नु अनुचित नै हो।’

दुई दिनअघि मात्रै सेयरबजारमा कारोबार रकम २० अर्ब पार गरेको थियो भने बजार परिसूचक नेप्से पनि ३ हजार विन्दु माथि पुगेको थियो।

त्यसअघि नै सेयर बजार विश्लेषकहरुले सेयरबजार निकै माथि पुग्ने अड्कलबाजी अनुमान र विश्लेषण गरिरहेका थिए। खासगरी निषेधाज्ञाकै बेला सेयरबजारमा कारोबार बढिरहेको थियो। अहिले पनि बैंक तथा वित्तीय संस्थाका पैसाहरु समेत मनग्य रुपमा सेयरबजारमा लगानी भइरहेका छन्।

यस्तो अवस्थामा बोर्डले पछिल्लो समय ह्वात्तै सेयर मूल्य बढ्ने गरी एकपछि अर्को कीर्तिमान बनेको भन्दै ५१ कम्पनीको सेयरबारे तुलनात्मक अध्ययन गरेको थियो।

सोही अध्ययनमा ती कम्पनीका सेयर अस्वाभाविक रुपमा बढेको ठहर बोर्डको छ। कतिपय कम्पनीको १०० देखि ३०० गुणासम्म धेरैले सेयर मूल्य बढेको छ।

यसमा यी कम्पनीको सेयरमा चलखेल गरी जानाजान मूल्य बढाएको हुनसक्ने भन्दै लगानीकर्तालाई जोखिममा पर्नसक्ने भनेको मंगलबार जारी वक्तव्यमा जनाइएको छ।

बोर्डले गरेको अध्ययनमा कर्पोेरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, विशालबजार कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्टलगायतका लगायत ५१ वटा कम्पनीलाई जोखिमयुक्त कम्पनीको रुपमा देखाइएको छ।

२०७३ साउन, २०७७ वैशाख र २०७८ जेठ ३१ गतेको सेयर मूल्य अवस्थाको तुलनात्मक अध्ययनमा यो वर्ष सेयरमा अत्यधिक मूल्यवृद्धि भएको बोर्डले जनाएको छ। यी कम्पनीको मूल्य आम्दानी अनुपात सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा ५१ कम्पनी हाल जोखिमयुक्त देखिएको बोर्डको अध्ययनले देखाएको छ।

यतिमात्रै होइन, बोर्डले उक्त सूचीकृत संगठित संस्थाको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाएकोे छ।

यसरी कम्पनी नै किटेर सिधै जोखिमयुक्त भनेपछि बोर्डसँग नेपाल स्टक एक्सचेन्ज असन्तुष्ट देखिएको हो।

लगानीकर्ता संघ पनि असन्तुष्ट
त्यस्तै लगानीकर्ता संघले पनि बोर्डको कम्पनीको नामै तोक्ने कार्यको चर्को विरोध गरेको छ।

इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बोर्डले आफ्नो जिम्मेवारी र दायित्वलाई मनन नगरी कार्य गरेको आरोप लगाए।

यस्तो हर्कतले पुँजीबजारको विकास र विस्तार हुन नसक्ने संघका अध्यक्ष रौनियारको भनाइ छ।

उनले भने, ‘संसारमा कुनै पनि नियामक निकायले आफूले सञ्चालन स्वीकृति दिएका कम्पनीहरुमा लगानी गर्न उचित नहुने भनेर धारण दिन सक्दैनन्। कानुनले वर्जित गरेकाबाहेक कामहरु स्वतन्त्र रुपमा गर्ने छुट पाइन्छ।’

सेयरबजारमा प्रभाव
मंगलबारको बोर्डको सेयरबजारमा चलखेलबारेको खुलासापछि बुधबारको सेयरबजारमा त्यसको प्रभाव समेत देखिएको छ। झण्डै साढे १५ अर्बको कारोबार भए पनि नेप्से परिसूचक ५२.४१ ले ओरालो लागेको छ।

त्यतिमात्र होइन, ३ हजार विन्दुबाट परिसूचक पनि झरेको छ। डेढ दर्जनको हाराहारीमा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

याे पनि - सेयरबजारका यी ५१ कम्पनीमा लगानीकर्तालाई जोखिम (सूची) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .