कारोबार


हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग गर्‍यो ‘सीईओ नछोड्ने र अध्यक्ष दिने’ प्रस्ताव

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग गर्‍यो ‘सीईओ नछोड्ने र अध्यक्ष दिने’ प्रस्ताव

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १२:५,

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर चर्चा भइरहँदा पछिल्लो समय यी दुई बैंकहरुबीच छलफल अघि बढेको छ।

प्रारम्भिक रूपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन अध्ययन भएपछि अहिले कुन ढंगबाट मर्जको प्रक्रिया सुरु गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको हो।

अध्ययनले यी दुवै बैंकको सेयर मूल्य फरक देखाउन स्वाप रेसियो अनुपात १ बराबर १ को रूपमा रहने सम्भावना देखाएको छ।

यहीअनुसार अहिले दुवै बैंकहरुबीचको निरन्तर छलफल भइरहेको छ।

अब यसमा अझै पूर्ण अध्ययन गर्ने र त्यसपछि मर्जर सम्झौता हुने हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए।

उनका अनुसार अहिले कर्मचारी व्यवस्थापन कसरी गर्ने र बैंकको नेतृत्व कसरी गर्ने भन्नेबारेमा दैनिक रुपमा छलफल भइरहेको छ।

यही रुपमा बैंकको नेतृत्व इन्भेष्टमेन्ट बैंकलाई दिने र व्यवस्थापनतर्फको नेतृत्व हिमालयन बैंकको तर्फबाट हुने गरी अहिले हिमालयन बैंकले प्रस्ताव गरेको छ।

यसअनुसार मर्जरपछि हिमालयन बैंकका सीईओ अशोक राणा सीईओमा नै कायम रहने र बैंकको अध्यक्ष भने इन्भेष्टमेन्टका पृथ्वी बहादुर पाण्डेले गर्ने प्रस्ताव भएको हो। यो विषयलाई अहिले सकारात्मक रुपमा अघि बढ्ने बताइएको छ।

तर अहिलेसम्म पनि बैंकको नामको विषयमा भने छलफल नै हुनसकिरहेको छैन।

यद्यपि अहिलेको अवस्थामा नै छलफल अघि बढेको खण्डमा भने चैतको मध्यतिर मर्जरसम्बन्धी सुखद समाचार बाहिर आउने ती सञ्चालक बताउँछन्।

मर्जरमा गयो भने नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक नै यही हुनेछ। सँगसँगै २५ अर्बको चुक्ता पुँजी भएको ठूलो बैंक हुनेछ।

त्यस्तै कर्जा प्रवाह साढे दुई खर्ब हुनेछ भने निक्षेप संकलन तीन खर्बबराबरको हुन्छ। जगेडा कोषको आकार १६ अर्ब २६ करोड पुग्नेछ। यसो हुँदा ठूलो परियोजनामा बैंकले लगानी गर्न धेरै सहज हुने देखिएको छ।

गत वर्ष जनता र ग्लोबल आईमएई बैंक मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ पुगेको थियो। तर हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सफल भए यो नै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ।

यसैबीच, अहिले इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच भएको छलफलमा त्रिपक्षीय मर्जरको विषय पनि उठान भएको छ। सिभिल बैंकलाई पनि मर्जरमा लगेर अघि बढ्ने विषयमा छलफल भएको हो।

सिभिल बैंकले विगतदेखि नै हिमालयन बैंकसँग मर्जर गर्न चाहिरहेको थियो। यसै सिलसिलामा हिमालयन बैंकलाई पत्र समेत लेखेको थियो।

अहिले यसै विषयलाई लिएर त्रिपक्षीय मर्जरको सम्भावनाबारे छलफल भएको हो। यदि यी तीनवटै बैंक मर्ज भए भने बैंकको चुक्ता पुँजी ३५ अर्ब रुपैयाँ पुग्नेछ। यसो हुँदा मर्जपछि यो बैंक झनै ठूलो बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .