कारोबार


चार वाणिज्य बैंकको व्यवसाय खुम्चियो, एनआईसी अग्रस्थानमा, पछ्याउँदै नबिल

चार वाणिज्य बैंकको व्यवसाय खुम्चियो, एनआईसी अग्रस्थानमा, पछ्याउँदै नबिल

नेपालखबर
पुस १९, २०८० बिहिबार १२:२८, काठमाडौँ

पछिल्लो चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय बढेको छ। 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चार महिना अर्थात् कात्तिकसम्ममा ९१ अर्ब १३ करोड ९६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन्। 

आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ८ अर्बको व्यवसाय विस्तार गरेका थिए। जुन २०८० कात्तिक मसान्तसम्म आइपुग्दा ९१ अर्ब १३ करोडले बढेर ४४ खर्ब पुगेको हो। 

असार मसान्तको तुलनामा कात्तिकसम्म आइपुग्दा चार वाणिज्य बैंकहरुको व्यवसाय भने खुम्चिएको छ। २०८० असार मसान्तको तुलनामा कात्तिकसम्म आइपुग्दा प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुको व्यवसाय खुम्चिएको छ। 

सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको कर्जा प्रवाह ६ अर्ब १४ करोडले खुम्चिएको छ। यता स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ अर्ब ७१ करोड, लक्ष्मी सनराइजको ५७ करोड ६० लाख र प्रभु बैंकको २ अर्ब ७६ करोडले कर्जा प्रवाह खुम्चिएको छ। 

एनआईसीको ३० अर्ब, नबिलको २२ अर्बले बढ्यो व्यवसाय
सोही अवधिमा एनआईसी एसिया बैंकको व्यवसाय ३० अर्ब २७ करोडले बढाउन सफल भएको छ। त्यसैगरी दोस्रोमा नबिल बैंक छ। नबिल बैंकले चार महिनामा २२ अर्ब २२ करोडले व्यवसाय विस्तार गरेको छ। 

व्यवसाय विस्तारको आधारमा तेस्रो स्थानमा प्राइम कमर्सियल बैंक छ। यस बैंकले कात्तिक मसान्तसम्म १३ अर्ब ६९ करोडले बढाएर १ खर्ब ७६ अर्ब पुगेको छ। 

अन्य कुन बैंकको कति? 
सानिमा बैंकले पछिल्लो चार महिनामा ३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह बढाएको छ। २०८० असार मसान्तसम्म बैंकले १ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेकोमा कात्तिकसम्म आइपुग्दा ३ अर्ब ५४ करोडले कर्जा बढाएर १ खर्ब ५३ अर्ब पुर्याएको छ। 

त्यसैगरी, प्रभु बैंकको कर्जा २ अर्बले घटेर २ खर्ब ३९ अर्बमा सीमित देखिएको छ। एनएमबी बैंकले भने २ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह बढाएको छ। 

सिटिजन्स बैंकले २ अर्ब ४५ करोड, कृषि विकास बैंकले ५ अर्ब ९० करोड, सिद्धार्थ बैंकले २ अर्ब ९० करोड, कुमारी बैंकले ४ अर्ब ३३ करोड, माछापुच्छ्रे बैंकले ३ अर्ब १ करोड, एभरेष्ट बैंकले ६ अर्ब २० करोड नेपाल एसबीआई बैंकले ५७ करोड र हिमालयन बैंकले ३ अर्ब ६१ करोड कर्जा बढाएको छ। 

साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ६७ करोड र नेपाल बैंकले १ अर्ब १९ करोडले कर्जा बढाएका छन्। 

१४५ अर्बले निक्षेप बढ्दा ९६ अर्ब कर्जा थपियो
पछिल्लो ४ महिनामा बैंकिङ प्रणालीमा झण्डै १४५ अर्ब निक्षेप थपिएको छ। २०८० असार मसान्तमा बैंकिङ प्रणालीमा ५७ खर्ब ६७ अर्ब रहेको निक्षेप कात्तिक मसान्तसम्म १४५ अर्बले थपिएर ५९ खर्ब १२ अर्ब पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० पुस १६ गतेसम्म आइपुग्दा प्रणालीमा ६० खर्ब ६५ अर्ब निक्षेप पुगेको छ। 

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएको थियो। जुन कात्तिक मसान्तसम्म आइपुग्दा ९६ अर्बले कर्जा प्रवाह बढेर ४९ खर्ब ७५ अर्ब पुगेको छ। पुस १६ गतेसम्म आइपुग्दा ५० खर्ब २४ अर्ब पुगेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .