कारोबार


लगानीकर्तालाई लाभांश, राज्यलाई कर : ग्लोबल आईएमईले आफूलाई अब्बल साबित गरेका १७ वर्ष

लगानीकर्तालाई लाभांश, राज्यलाई कर : ग्लोबल आईएमईले आफूलाई अब्बल साबित गरेका १७ वर्ष

नेपालखबर
पुस १७, २०८० मंगलबार १८:०, काठमाडौँ

ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ सेवा सञ्चालनको १७ वर्ष पूरा गरेको छ। 

राम्रो मुनाफा आर्जनसँगै सेवालाई समयानुकूल बनाउनेदेखि शाखा सञ्जाल विस्तार गर्नेसम्मका कामलाई जोड दिएको बैंक पुस १८ देखि १८औँ वर्षमा प्रवेश गरेको हो। 

स्थापनाको १७ वर्ष लामो यात्रामा बैंकले आफूलाई यस क्षेत्रमा अब्बल साबित गर्दै आएको छ। आफ्नो कारोबारमात्र नभई राज्यलाई समेत बैंकले उत्तिकै योगदान दिएको छ।  

सन् २००७ सालमा ग्लोबल बैंक लिमिटेडको नामबाट क वर्गको बैंकका रुपमा ग्लोबल आईएमईको स्थापना भएको थियो। त्यसयता बैंकसँग धेरै वित्तीय संस्था समाहित भएका छन्। 

चुक्ता पुँजीमा सबैभन्दा ठूलो 
नेपाली वाणिज्य बैंकहरुमध्ये चुक्ता पुँजीको आधारमा ग्लोबल नै सबैभन्दा ठूलो बैंक बनेको छ। बैंकसँग ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। 

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय प्रतिवेदनअनुसार बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ। जुन गत आवको सोही अवधिमा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो।

त्यसो त यस वर्ष ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै कर तिरेर सम्मानित समेत भएको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो। उक्त कर अहिलेसम्म बैंकिङ इतिहासकै सबैभन्दा धेरै हो। 

७७ वटै जिल्लामा शाखा, ३ देशमा सम्पर्क कार्यालय 
स्थापनाको लामो समय पार गरिसकेको बैंक अहिले नेपालका ७७ वटै जिल्लामा पुगिसकेको छ। योसँगै हाल देशका सबै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बन्न सफल भएको छ। 

बैंकका कुल ३ सय ५१ शाखा, ३ सय ७६ एटीएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय समेत छन्। 

मर्जरको एउटा सफल उदाहरण 
यो बैंक धेरै ससाना संस्थालाई गाभ्दै र प्राप्त गर्दै हाल ‘ग्लोबल आईएमई बैंक’ बनेको हो। हालसम्म यसमा १८ वटा संस्था–कम्पनी मर्जर तथा प्राप्तिबाट आएका छन्। 

यसकारण पनि ग्लोबल आईएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रुपमा हेर्ने गरिन्छ। बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु हुन्छ। 

त्यस दिन तत्कालीन ग्लोबल बैंक लिमिटेडले आईएमई फाइनान्सलाई मर्ज गरेको थियो। यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो। त्यसै समयमा लर्डबुद्ध फाइनान्सलाई पनि गाभिएको थियो। 

सो समय अर्थात् यी तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो। 

त्यसपछि यसमा गाभिएको संस्था थियो सोसल डेभलपमेन्ट बैंक। मर्जर यतिमै सीमित रहेन। सोही समयमा गुल्मीमा स्थापना भएको गुल्मी विकास बैंक पनि यसमै समाहित भयो। त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई पनि बैंकले आफूमा गाभ्यो। सन् २०१६ मा आइपुग्दा अन्य दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो। 

ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीनवटा विकास बैंक मर्ज भइसकेका थिए। 

त्यसपछि ग्लोबल आईएमई बैंकसँग गाभिएको संस्था हो हाथवे फाइनान्स। योसँगै बैंक १० वटा संस्था एकआपसमा मिलेर बनेको संस्था बन्यो। 
त्यसयता फेरि अर्को वाणिज्य बैंक जनता बैंकसँग नेपालमा अहिलेसम्मकै ठूलो मर्जर भयो। जनता बैंक र ग्लोबल आईएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए। 

यति ठूलो मर्जर सम्झौताको ६ महिनापछि नै एकीकृत कारोबार भएको थियो। जनता बैंक मर्जरमा आउनुअघि ८ वटा वित्तीय संस्था मिलेर बनेको बैंक थियो। त्यसपछि अहिले बैंक अफ काठमाण्डुलाई मर्ज गरेर सबैभन्दा ठूलो बैंकको रुपमा सञ्चालनमा रहेको छ। 

यसरी नेपाली बैंकिङ क्षेत्रमा उदाएको ग्लोबल आईएमईले सेवाग्राही र सेयरधनी दुवैलाई आफ्नो सफलतासँग जोड्न सफल भएको छ। 

लगानीकर्ताको मन जितेको बैंक 
बैंकले दिने सेवा र गुणस्तरमा कुनै कमी नराखेको बैंकले आफ्ना लगानीकर्ताहरुलाई समेत राम्रो प्रतिफल दिइरहेको छ।

गत वर्ष आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ। 

आव २०७५/७६ मा त लगानीकर्तालाई बैंकले २५ दशमलव ५० प्रतिशत लाभांश बाँडेको थियो। उक्त वर्ष बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस सेयर र १२ दशलमव ७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो।

बैंकले आर्थिक वर्ष २०६८/६९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले यस वर्ष ३ प्रतिशत बोनस र कर १० प्रतिशत नगद लाभांश दिएको थियो।

२०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको बैंकले २०७०/७१ मा २५ प्रतिशत लाभांश वितरण गरेको थियो। 
उक्त वर्ष बैंकले २१ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत बोसन सेयर वितरण गरेको थियो भने आव २०७२/७३ मा १६ प्रतिशत बोनस सेयर बाँडेको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्ताले बैंकबाट नगद र बोनस गरी २० प्रतिशत लाभांश पाएका थिए। 

२०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

यसका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ मा बैंकबाट १३ दशमलव ५० प्रतिशत लाभांश पाएका थिए। त्यसैगरी बैैंकले आव २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० दशमलव ६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .